सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेस्थित खजुरा गाउँपालिकाले सम्पत्ती करबारे प्रशिक्षण दिन शुरु गरेको छ । गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र नागरिक अगुवाले सम्पत्ती करबारे प्रशिक्षण लिइरहेका छन् ।
उनीहरुले गाउँपालिकाको ८ वटै वडामा पुगेर सम्पत्ती करबारे जनतालाई बुझाउने छन् । त्यसपछि मात्र सम्पत्ती कर लागु गरिने खजुरा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आयोजनामा शनिवारदेखि नेपालगञ्जमा राखिएको सम्पत्ती करसम्बन्धी २ दिने अभिमुखीकरणमा बोल्दै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनताले आफ्नो सम्पत्तीको आफै कर तिर्ने वातावरण मिलाइने बताए । उनले कुनै जवरजस्ती, जथाभावी कर नउठाइने बताउँदै सम्पत्ती करबारे बुझ्ने बुझाउने कार्यमा लागेको बताए । गाउँपालिकालाई आन्तरिक स्रोतका रुपमा बलियो बनाउने एउटा माध्यम
कर पनि हो भन्दै उनले भने, कर किन तिर्ने, के का लागि तिर्ने र कर तिर्दा गाउँपालिका वा स्थानीय सरकार कस्तो बनाउन सकिन्छ यी महत्वपूर्ण विषय भएको बताए । सम्पत्ति कर वैज्ञानिक पद्दती भएको उल्लेख गर्दै प्रमुख कक्षपतिले समय सुहाउँदो र जनता सन्तुष्ट भएर मात्र कर तिर्ने अवस्थाको सृजना गर्नका लागि सबै संयन्त्र लागि परेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले अभिमुखीकरण फलदायी रहेको उल्लेख गर्दै करबारे जानकार कोपिला पोख्रेल र मन्त्रालयका केशव पार्धेले सहभागीलाई प्रशिक्षण दिइरहेको जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष एकमाया विकलगायतको सहभागिता छ ।