सदरलाइनडटकम,
काठमाण्डौ : यस वर्षको दशैँका लागि विभिन्न साइत सार्वजनिक गरिएको छ । असोज २४ गतेदेखि नवरात्र प्रारम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज २५ गते बिहीवार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने र पश्चिम फर्केर फेर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिए ।
असोज २८ गते आइतवार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मंगलवार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ । असोज ३१ गते बुधवार महाअष्टमी, कात्तिक १ गते बिहीवार महानवमी, कात्तिक २ गते शुक्रवार विजयादशमी अर्थात दशैँको टीका परेको छ ।
विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष प्राध्यापक डा. गौतमले बताए ।
विजयादशमीकै दिन बिहान ८ बजेर ३५ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मंगलवार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधवार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन भएको मानिन्छ ।