सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमा प्रतिवन्ध लगाउन निर्देशन दिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदानप्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इन्टरनेमार्फत यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँचका कारण नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको दावी गरिएको छ । यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर सरकारको छ ।
यस्ता अश्लिल सामग्रीको इन्टरनेटका माध्यमबाट आदानप्रदान, प्रकाशन, प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्तामा मन्त्रालयले अपीलसमेत गरेको छ ।