राष्ट्रिय विदाको माग गर्दै ईद–उल–अजाह (बकरईद) को सामुहिक नमाज

६ भाद्र २०७५, बुधबार १३:४५
 

सदरलाइनडटकम
नेपालगन्ज :  ईस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकरईद)को अवसरमा सरकारले राष्ट्रिय विदा नदिएको भन्दै यहाको मुस्लिम समुदायले आक्रोश ब्यक्त गरेका छन् ।
बकर ईदको अवसरमा प्रदेश नं. १, २ र ५ मा प्रदेश सरकारले बुधबार (आज) बिदा घोषणा गरेको भएपनि केन्द्रीय सरकारले मुस्लिम समुदायको मुख्य पर्वहरुको विदा कटौती गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन ।
नेपाली काँग्रेसका नेता तथा संविधान सभाका सदस्य हाजी अब्दुल हमिद सिद्दिकीले मुस्लिम समुदायको पर्वमा राष्ट्रिय बिदा नदिए सरकारले मुस्लिम बिरोधी कार्य गरेको आरोप लगाए । उनले भने–‘ हामीले जारी गरेको संविधानमा धर्म निरपेक्षता राष्ट्र उल्लेख भएको कम्यूनिष्ट सरकारले मुस्लिमका सबै पर्बमा पाउदै आएको राष्ट्रिय बिदा कटौती गरेर मुस्लिम विरोधी रुप देखाएको छ ।’
उनले सबै  मुलुकको संबृद्धिको लागि सबै बिदा कटौती गरेर सरकार अगाडि बढ्न चाहाने हो भने मुस्लिम समुदाय पनि सरकारको त्यो कदमको स्वागत गर्ने बताए । उनले मुस्लिम समुदायको महत्वपूर्ण पर्वको अवसरमा राष्ट्रिय बिदा घोषणा गर्न समेत माग गरेका छन् ।
यसैबीच सरकारका शहरी विकास मन्त्री मो. ईश्तियाक राईले नेपालगन्जको ईदगाह मस्जिदमा सामुहिक नमाज पढेरे सबै नेपाली मुसलमान समुदायका साथै देशबासीलाई शुभकामना दिदै समुदायको पर्वमा राष्ट्रिय बिदाको लागि आफुले पहल गरेको बताउदै उनले मुलुकमा अमनचैन, शान्ति, सम्बृद्धीको कामना गर्दै पर्व मनाउन आग्रह गरेका छन ।
यसैबीच नेपालगन्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा बुधबार बिहान ८ बजे बकराईद ईद–उल–अजाह को सामुहिक नमाज पढेर बकरा ईद मनाउन सुरु गरिएको छ । ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरुले कुर्वानी (पशुबली) को लागि नजिकको सामुहिक स्थानमा पुगेका थिए ।
बकरईदमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगन्जका मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँँगा जस्ता जानवरको जोहो गरि सकेका छन् । भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।
अन्तर धार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका सह–संयोजक समेत रहेका मुस्लिम धर्मगुरु मञ्जरीले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिए ।
नेपालगन्ज–१५ का मौलाना जियाउल मुस्तफा नूरानीले पनि कुर्वानीको लागि खसीको खोजि गरी सकेको बताए । उनले भने–‘गत वर्ष १७ हजारमा खसी किनेको थिए । यो वर्ष १४ हजार प¥यो ।’
उनले ईस्लाम धार्मिक मान्यता अनुसार बकरईदमा हजरते ईब्राहिम र हजरते स्माईलको सम्झनामा कुर्वानी गराउने मान्यता र परम्परा अनुसार आफुहरुले त्यसको अनुसरण गर्दै आएको बताए ।
नेपालगन्ज बीपिचोकमा चाँद सिरकका मो.ऐश ठकुराईले यो वर्षको बकरईदमा कुर्वानीको लागि १४ हजारको खसि खरिद गरेको बताए । उनले भने–‘यो वर्षको बकरईदमा कुर्वानीको लागि खसीको जोहो गरी सकेको छु । गतवर्षको भन्दा अलि महंगो छ ।’
सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु जो संग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराउनु पर्ने धार्मिक चलन रहेको छ ।      

Next Post

दाता चौधराईनको स्मृती दिवसमा विविध कार्यक्रम

६ भाद्र २०७५, बुधबार १३:४५
सदरलाइनडटकम नेपालगन्ज  : नेपालगन्जमा शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पत्ती दान गरेर उदाहरणीय बन्न सफल स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विविध कार्यक्रम सम्पन्न भएका छन् । विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गते दिन निधन भएको थियो । स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी […]