असारे योजना रोक्ने निर्णय

२६ श्रावण २०७५, शनिबार १६:३०
 

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ ।

अधिकांश बजेटको कार्यान्वयन असारमा हुने र आर्थिक वर्षको अन्तमा विकास र निर्माणका कार्यमा तदारुकता देखाउने गरेकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । “पैसा फ्रिज हुन नदिनका लागि मात्रै योजना सम्पन्न गर्ने प्रवृत्तिको हामीले अन्त गर्न खोजेका हौँ ।”, उपमहानगरप्रमुख घनश्याम पाण्डेले भने ।

उनले छिटो गरिएका विकास तथा निर्माणका काम दिगो र प्रभावकारी नहुने भन्दै समयमै योजना सम्पन्न गर्नका लागि उपमहानगरपालिकाको ४० औँ कार्यपालिका बैठकबाट प्राथमिकताका आधारमा योजनाको वर्गीकरण गरेर काम गर्ने योजना अगाडि सारेको बताए ।


कार्यपालिका बैठकले गरेको निर्णयअनुसार योजनालाई तीन चरणमा विभाजन गरिने भएको छ । पहिलो चरणमा जनताका लागि अत्यावश्यक योजना राखिने र दोस्रो तथा तेस्रो चरणमा कम आवश्यकताका योजनालाई प्राथमिकतामा राखेर काम गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले बताए । उनले कार्यपालिकाले पारित गरेका सबै बजेटको कार्यान्वयन सुनिश्चित नहुने भएकाले अत्यावश्यक योजना नछुटुन भनेर यस्तो गरिएको पनि जानकारी दिए ।

उपमहानगर प्रमुख पाण्डेले योजनाको व्यवस्थापनका साथै विकासलाई प्रभावकारी बनाउन प्राथमिकताको आधारका योजना वर्गीकरण गरिएका हुन् भने ।
योजनाको प्राथमिकीकरण अन्तर्गत पहिलो चरणमा हुने योजनाको सम्झौता पुस मसान्तसम्म, दोस्रो चरणको सम्झौता फागुन मसान्त र तेस्रो चरणको सम्झौता वैशाख १५ सम्म हुने भएको छ । सबै योजनाको सम्झौता भदौबाट शुरु हुने छन् ।

नयाँ बजेट प्रणालीअन्तर्गत पुस महिनाभित्र बजेटको विश्लेषण गरेर दोस्रो र तेस्रो प्राथमिकतामा परेका योजनामा कति रकम छुट्याउने भन्ने कुराको निक्र्यौल गरिने बताइएको छ ।
रासस

Next Post

ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघद्वारा रक्तदान

२६ श्रावण २०७५, शनिबार १६:३०
सदरलाइनडटकम कोहलपुरः ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघले शनिवार कोहलपुरमा रक्तदान कार्यक्रम गरेको छ । संघको कोहलपुर शाखाको आयोजना एवं त्यहाँस्थित रेडक्रसको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० पिन्ट भन्दा बढी रगत संकलन भएको संघका शाखा अध्यक्ष रमणीप्रसाद शर्माले बताए । रक्तदान कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, महासचिव तेजप्रसाद […]

सम्बन्धित