आँखा पाक्ने रोगका बिरामी बढे

१७ श्रावण २०७५, बिहीबार १५:०७
 

तुलसीपुर, राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।

केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिए ।

मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउनेलगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन् ।

गौतमले भने “केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ, जसमा दुई प्रकारको संक्रमण देखिएको छ ।” ब्याक्ट्रेरियल संक्रमणमा आँखा रातो हुने, चिप्रा लाग्ने र चिलाउने लक्षण देखिन्छ । यो छिटो निको हुन्छ ।


भाइरल संक्रमणमा आँखा रातो हुने बिझाउने, घाममा हेर्न अफ्ठ्यारो हुने लक्षण देखिने र यो सञ्चो हुन केही दिन लाग्ने उनले बताए । विशेष गरी ब्याट्रेरियल संक्रमणले आँखामा त्यति धेरै असर गर्दैन । तर, भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देख्नासाथ तुरुन्तै नजिकको आँखा उपचार केन्द्र पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् ।

आँखाजस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्वाही नगर्न अस्पतालले सबैसँग आग्रह गरेको छ । “आँखाको समस्या देखिनासाथ अस्पतालमा आउने आँखाका बिरामीलाई आग्रह गर्दछौँ,” नेत्र विशेषज्ञ डा सुरेश रसाइलीले भने ।

उनले आँखा पाक्ने रोगबाट बच्न रोगीले प्रयोग गरेको औषधि, रुमाल, टेबल प्रयोग नगर्ने, दैनिक चार/पाँच पटक चिसोपानीले आँखा सफा गर्ने, फोहर पानीले आँखा तथा मुख नधुने हो भने आँखा पाक्ने रोगबाट केही हदसम्म बच्न सकिने बताए ।

हाल आएर केही बिरामीले आफूखुशी औषधि प्रयोग गर्ने र देवी देउता लागेको भन्दै घरमा झारफुक गर्ने चलन भएकाले त्यस्तो विधि नअपनाउन चिकित्सकले सुझाव दिएका छन् । समस्या देखिने बित्तिकै अस्पताल तथा उपचार केन्द्रमा आउन बिरामीलाई अस्पतालले आग्रह गरेको छ ।
–––

Next Post

छाडा चौपाया धनीमाथि कारबाही हुने

१७ श्रावण २०७५, बिहीबार १५:०७
सदरलाइनडटकम  बाँसगढी (बर्दिया) : छाडा पशुचौपायाका कारण दुर्घटना बढ्न थालेपछि बर्दियाको बासगढीमा कडाई गरिने भएको छ । बासगढी नगरपालिकाले आफ्नो चौपाया छाडा छाड्ने पशुधनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने भएको हो । घरपालुवा जनावर छाडा छाडेमा कानुनी कारवाही गरिने नगरपालिकाद्वारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ । नगरपालिका क्षेत्रभित्रको सडकमा छाडा […]