सदरलाइनडटकम,
काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ ।
पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय २०७५ साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो ।
फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुनुहुने भएको फोनिजका संगठन सचिव मिलन लिम्बूले जानकारी दिए ।
जनही ४०,००० (चालिस हजार रुपैयाँ) राशीको पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान सचिव लिम्बूले जानकारी दिए ।
पुरस्कृत पत्रकारको संक्षित विवरण
उजिर मगर
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरेका छन् । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन ।
भैरव आङ्ला
२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता सुरु गर्नु भएका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका भएका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उनको योगदान पुर्याएका छन ।
छेटु शेर्पा
२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता सुरु गरेका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन ।
बिमला चौधरी
२०६२ सालदेखि पत्रकारीता सुरु गरेकी बिमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छन् । हाल बाँकेको नेपालन्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पुर्याउँदै आएकी उनी थारु पत्रकार संघ बाँकेकी अध्यक्ष समेत हुन ।