ड्राईभिङ्ग लाईसेन्सकाे आवदेन आइतबारबाट खुल्दै, देशभरीबाटआवेदन दिन सकिने

१२ श्रावण २०७५, शनिबार १२:०६
 

कमला अर्याल 
काठमाडौं  : आइतबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को आवेदन खुला हुने भएको छ । करिब ढेड महिनादेखि बन्द भएको सावारी लाइसेन्स १३ साउनदेखि देशैभरि खुला हुने भएको हो । सवारी लाइसेन्स खुलेलगत्तै लाइसेन्स लिने पर्खाइमा रहेका सर्वसाधारणले राहत पाउने भएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले देशैभरि लागू हुने गरी सवारी लाइसेन्स खुलेको बताए ।
विभागले गत जेठ अन्तिम सातादेखि राजस्व संकलन, मिलानलगायतका विभिन्न काम बाँकी रहेको भन्दै सवारी लाइसेन्सको आवेदन बन्द गरेको थियो । अब भने सर्वसाधारणले लाइसेन्सका लागि दुःख नपाउने विभागले जनाएको छ । ए, के र बी वर्गमा पर्ने सवारीसाधनका लागि मात्रै लाइसेन्स आवेदन दिन सकिने विभागले जनाएको छ । विभागका अनुसार ‘ए’ वर्गमा बाइक, ‘के’ वर्गमा स्कुटर र ‘बी’ वर्गमा जिप र कारका लागि लाइसेन्स आवेदन दिन सकिनेछ । विभागले अहिले अनलाइन आवेदन अनिवार्य गरे पनि पूर्ण रूपमा लागू हुन सकेको छैन ।
सरकारले देशैभरबाट परम्परागत लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स कार्यान्वयनमा ल्याउने घोषणा गरे पनि अनलाइन आवेदन प्रभावकारी हुन सकिरहेको छैन । स्मार्ट लइसेन्सका लागि झन्डै एक वर्ष कुर्नुपर्ने बाध्यता छ । विभागले त्यस्तो समस्या हटाउने प्रयास गरे पनि अझै हट्न सकेको छैन । विभागका अनुसार करिब साढे ३ लाख कार्ड नेपाल ल्याइएको छ । तर, त्यससँगै ल्याइएका मेसिनमा समस्या आएका कारण मागअनुसार लाइसेन्स छाप्न सकिएको छैन । अहिले बजारमा दैनिक ५ हजार लाइसेन्सको माग छ । तर, विभागले भने २ हजारको हाराहारीमा मात्रै छाप्न सकिने जनाएको छ ।


विभागका अनुसार करिब ४ लाखले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा पास गरका छन् तर लाइसेन्स पाउन सकिरहेका छैनन् । स्मार्ट कार्डका लागि सरकारले पूर्वतयारी राम्रोसँग नगर्दा बारम्बार समस्या निम्तिने गर्छ । सरकारले यही साउनभरि नै गृह मन्त्रालयको समेत मेसिन प्रयोग गरी स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ । भारतीय कम्पनी मद्रास प्रिन्टर्सका कारण समस्या भएको विभागले जनाएको छ । विभागले स्मार्ट कार्ड र प्रिन्टर ल्याउने जिम्मा सोही कम्पनीलाई दिएको थियो । कम्पनीले भारतमै मेसिन चेक नगरेका कारण समस्या निम्तिएको विभागले जनाएको छ ।
विभागका अनुसार स्मार्ट लाइसेन्स छपाइ मेसिनमा भएको समस्या समाधानका लागि कम्पनीबाट दुई तीनपटक प्राविधिक टोली पनि नेपाल आएका थिए । समस्या भने ज्युँको त्युँ छ । नयाँ मेसिनमा समस्या आएपछि विभागले पुराना मेसिनबाटै लाइसेन्स छपाइ गर्दै आएको छ । विभागसँग चारवटा पुराना मेसिन रहेका छन् । नयाँ मेसिन दुई महिनादेखि थन्किएर बसेका छन् ।
एकातर्फ लाइसेन्स छपाइमै समस्या परेको छ भने अर्कोतर्फ नक्कली स्मार्ट लाइसेन्स बजारमा देखिन थालेका छन् । प्रहरीले केही समयअघि मात्रै नक्कली लाइसेन्सको काम गर्ने गिरोहलाई पक्राउ गरेको थियो । तर, बजारमा त्यस्ता नक्कली लाइसेन्सको संख्या कति छ भन्ने तथ्यांक भने प्रहरी र विभाग दुवैसँग छैन । राजधानी दैनिकबाट साभार

Next Post

भुपु लोग्नेले दिएको गुजारा भत्ता, दिनभर गन्दा पनि सकिएन

१२ श्रावण २०७५, शनिबार १२:०६
काठमाडौं । डिभोर्स गरेकी आफ्नी पूर्व पत्नीलाई पुरुषले दिने गुजारा अर्थात् मानाचामल बापतको रकम कति होला ? नाम नै गुजारा भत्ता भनेपछि त्यो सानो रकम नै होला भन्ने अनुमान हुन्छ । तर भारतमा एउटा यस्तो घटना भएको छ, जहाँ एकजना महिलालाई उनका पूर्व पतिले दिएको गुजारा भत्ताको रकम अदालतको इजलासमा […]

सम्बन्धित