पूर्व सांसद मोतीदेवीले गरिन अस्पतालको बेडबाटै उपचारमा सहयोगको याचना

३१ असार २०७५, आईतवार २०:२३
 

सदरलाइनडडटकम  
नेपालगन्ज  : नेपालगन्जको भेरी अञ्चल अस्पताल महिला वार्डको बेड नं. १७ मा एक अधबैशे महिला उपचारको लागि सहयोगी मनको खोजिमा छटपटाई रहेकी छन् । उनी सरकार र तत्कालिन माओवादीबीच विस्तृत शान्ति सम्झौतापछि २०६३ सालमा पुनस्र्थापना भएको प्रतिनिधि सभाका विधायीका मोतीदेवी चौधरी हुन ।
पाठेघरमा क्यान्सरले ग्रशित भएकी पूर्व सांसद चौधरी यतिबेला जीवन रक्षाका लागि सरकार र सहयोगी मनको खोजी गर्दै अस्पतालको बेडबाट सहयोगको याचना गरेकी छन् । चौधरीले समयमा उपचार पाए आफूले पुनर्जिवन पाउन सक्ने बताउँदै आर्थिक सहयोगको याचना गरेकी हुन् ।
रकम अभावमा भेरी अंचल अस्पतालमा उपचार गराउन बाध्य भएको बताउँदै उनले सहयोगको याचना गरेपनि कतैबाट सहयोग नपाएको गुनासो गरिन् । ‘म सँगै उपचारका लागि सरकार समक्ष फायल बुझाएकी नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला ‘पावर’ को आधारमा उपचारका लागि एक करोड रुपैयाँ पाउनुभयो, ‘पावर’ नपुगे कै कारण तत्कालिन सरकारले मेरो फायल नै बेपत्ता पारिदियोे,’ पूर्व सासद चौधरीले गुनासो गर्दै भनिन–‘जसले पनि हुनेखाने र पावर पुग्नेलाई हेर्ने त हो नी । मेरोे न त राजनीतिमा पावर छ न त आर्थिक रुपमा नै बलियो छु ।’
तत्कालिन माओवादीले मुक्त कमैयाँको प्रतिनिधित्व हुने गरि उनलाई पुनस्र्थापित प्रतिनिधि सभा सदस्य बनाए पनि विरामी परेपछि पार्टीले कुनै वास्ता नगरेको उनले बताइन् । उपचारका लागि सहयोग पाए आफूले पुनर्जिवन पाउने बताउँदै उनले जीवन रक्षाका लागि सहयोगी हातको आवश्यकता औँल्याइन् । ‘उपचारका लागि आर्थिक सहयोग पाएँ भने म बाच्न सक्छु, नत्र मेरो जीवन यत्तिकै हो,’ भेरी अंचल अस्पतालको बेडबाट उनले भनिन् ।
उनी २०७३ सालदेखि उपचाररत छन् । भेरी अंचल अस्पताल हुँदै भरतपुर क्यान्सर अस्पताल र वीर अस्पतालमा उपचार गराइसकेकी उनले अहिलेसम्म १०–१२ लाख सकिएको बताइन् । ऋण काढेर उपचार गराएको बताउँदै उनले भएको ४ कट्ठा जमिन पनि बैंकमा राखेर ऋण लिएको बताइन् । ‘उपचारका लागि रकमको जोहो गर्ने हामी सँग अव कुनै उपाय छैन । सहयोग पाएँ भने उपचार गराउँछु, पाएन भने भेरी अंचल अस्पतालमा मर्ने त होला,’ मलिन अनुहार बनाउदै पूर्व सांसद चौधरीले भनिन् ।
वीर अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले उपचारका लागि भारतको दिल्ली लैजान सल्लाह दिएका छन् । तर, रकम नभएकोले दिल्ली लैजान नसकेको छोरा प्रदेशु थारुले बताए । उनले आर्थिक अवस्था कमजोर भएकोले आमालाई थप उपचारका लागि बाहिर लैजान सक्ने अवस्था नभएको बताए । ‘उपचारका लागि बाहिर लैजाने कुनै उपाय छैन, जहाँसम्म सक्छौँ यहि उपचार गराउँर्छौँ,’ प्रदेशुले भने, ‘छिट्टै उपचार पाए चिकित्सकले आमालाई निको हुन्छ भनेका छन् ।’
मोतीदेवीको पाठेघर फाल्नु पर्ने भएको छ । पाठेघरमा क्यान्सरले छोईसकेकोले फाल्नै पर्ने भएको हो । पाठेघर फाले पनि पिसावका लागि थैली झुन्ड्याउनुपर्ने चिकित्सकले बताएको उनले बताइन् । उनले थैली झुन्ड्याउन आफू तयार रहेको स्पष्ट पारिन् । ‘बेडमा सुतिरहन परे पनि थैली झुन्ड्याएर हिड्न परे पनि म बाच्न चाहन्छ, बाँचे भने आफूसँग भएका कुरा सुतेर भए पनि साट्न र बाड्न सक्छु,’ उनले भनिन, ‘जसरी भए पनि मलाई बचाउनुस् ।’
मुक्त कमैयाको पक्षमा वकालत गरेकै कारण तत्कालिन माओबादीले उनलाई मुक्त कमैयाको तर्फबाट विधायक बनायो । विधायक हुँदा पनि उनले मुक्त कमैयाको अधिकारका लागि लडिन् । संसद भवनमा मुक्त कमैयाको अधिकार स्थापित गर्न टेवल ठटाइन् ।
तर, उनै विधायक चौधरी रकम अभावमा अस्पतालको वेडमा छटपटाई रहँदा भेट्नसम्म कोही आएका छैनन् । ‘मुक्त कमैया समाज, कमैया महिला जागरण समाज, कमासु दिगो विकास समाजका कोही पनि भेट्न आएका छैनन,’ मुक्त कमैया समेत रहेकी चौधरीले गुनासो गरिन् । फोटो/ समाचार स्रोत : रेडियो हातेमालोको वेभ पेजबाट

Next Post

२० वर्षपछि फ्रान्स फेरि विश्‍वविजेता

३१ असार २०७५, आईतवार २०:२३
काठमाडौं, फ्रान्स रसियामा भएको विश्वकपको उपाधि हात पार्न सफल भएको छ। आइतबार राति मस्कोस्थित लुजिन्की रंगशालामा भएको फाइनलमा क्रोएसियालार्इ ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको हो। यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो। फ्रान्सका लागि केइलिएन एमबाप्पेले ६५औँ, पउल पोग्बाले ५९, एन्टोनियो ग्रिजम्यानले ३९औँ मिनेटमा गोल […]