सदरलाइनडटकम,
नेपालगन्ज : आर्थिक वर्षको अन्तिम महिनामा नेपालगन्ज उप–महानगरको सहयोगमा सञ्चालनमा रहेका विभिन्न कार्यक्रमहरुको अनुगमन तीब्र पारिएको छ । सोही अन्तरगत नेत्रहिन लक्षित सञ्चालित कार्यक्रमको बुधबार स्थलगत अनुगमन गरिएको हो । नेपालगन्ज उप–महानगरपालिका मार्फत बाँके नेत्रहिन संघले नेत्रहिनका लागि सञ्चालन गरेको दुई महिने कम्प्यूटर तालिम, ३ दिने बंगुर पालन र सात दिने मोवीलिटी तालिमको उप–महानगरपालिकाकी उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले अनुगमन गरेको जनाईएको छ ।
कम्प्युटर तालिम अन्तरगत २४ जनालाई ६– ६ जनाको समूह बनाएर आवाजका माध्यमबाट टाईप गर्न सीकाउने प्रशिक्षण भइरहेको प्रशिक्षक रामसिंह ठकुरीले जानकारी दिए ।
जिल्लाका ६ जनालाई दिइएको ३ दिने बंगुर तालिम र नेत्रहीनलाई सहज रुपमा हिडडुल गर्न सीकाउने तालिमको पनि बुधबार नै अनुगमन गरिएको छ । यसैगरी त्रिभुवन मावि कोहलपुरमा १३, मंगल माविमा ३९ र बाहिरका १७ जनालाई मोवीलिटी तालिम दिइएको प्रशिक्षक राधीका थापाले जानकारी दिईन ।
नेत्रहीन संघका भावुक जंग थापाले संस्थाको गतिविधि बारे अवगत गराएपछि उपप्रमुख थापामगरले नेत्रहिन केन्द्रीत तालिमले आत्मबलसँगै जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गरिन ।