सदरलाइनडटकम
४ असार, नेपालगन्ज : हेफर ईन्टरनेशनल नेपालले हरेक वर्ष ग्रामिण महिला किसानलाई दिदै आएको ‘स्वर्णिम प्रतिभा पुरस्कार–२०१८’ बाँके राप्तीसोनारी गाउँपालिका–९ की बुद्धि खत्रीले पाएकी छन् ।
हेफरबाट न्यूनतम सहयोग लिएर आफ्नो परिवारको आर्थिक उन्नती गर्नमा उत्कृष्ठ योगदान दिने महिला किसानहरु मध्यबाट छनौट गरी प्रत्यक वर्ष एक महिला किसानलाई दिने सो पुरस्कारको राशी ७० हजारको रहेको छ ।
सगरमाथा महिला समूह आवद्ध महिला किसान खत्रीलाई सोमबार एक कार्यक्रमका बीचमा ५ नंम्बर प्रदेशका कृषि सहकारी तथा भूमिव्यवस्था मन्त्री आरती पौडेलले पुरस्कारको चेक तथा प्रमाणपत्र हस्तान्त्रण गरीन ।
मन्त्री पौडेलले हेफरको स्वर्णिम पुरस्कार विजेता खत्रीले किसान महिलाले पनि केही गर्न सक्छन भन्ने सन्देस दिएको बताईन । उनले सानो सहयोगलाई सदुपयोग गर्न सके त्यसले जीवनमा ठूलो परिवर्तन ल्याईदिने भएकोले जीवन जिउने सिपसंगै व्यावसाय गर्न सिकाउने हेफर ईन्टरनशनलका कारण महिलाहरुमा ठूलो परिवर्तन आएको समेत बताईन ।
सो अवसरमा पुरस्कृत महिला किसान खत्रीले आफु हेफरको समूहमा ६ वर्ष अघि मात्र जोडिएर महिला समुहमा आवद्ध भएको र अहिले सबैको सहयोग तथा सल्लाहको कारण बाख्रापालनलाई व्यावसायीक बनाउदै ७ वटा बाख्राबाट थालनी गरेको व्यावसायीक बाख्रापालन अहिले आएर ४९ वटा पुगेको बताईन ।
उनले भनिन–‘अहिलेसम्म ४१ वटा खसीबोका बिक्रि गसिकेकी छु । पहिला श्रीमान भारत जानुहुन्थ्यो कमाउन तर अहिले घरमै बसेर बाख्रा पालन तथा अन्य काममा सघाउनु भएको छ । वर्षमा राम्रै आम्दानी भएको छ । मेरो यो कामले नै गर्दा पुरस्कृत हुनपुगे, सबैलाई धन्यवाद दिन चाहन्छु ।’
हेफरले कामगर्ने क्षेत्रका सबै जिल्लाहरु मध्यबाट न्यूनतम सहयोग लिएर अधिकतम प्रगती गर्ने महिला किसानलाई प्रत्येक वर्ष यो पुरस्कार दिदै आएको छ । बाँकेको बेतहनीकी कौशिला खटिक, टिटिहिरिया की दिलकुमारी पौडेल, फत्तेपुरकी बास्मती बुढालेसमेत यो पुरस्कार जिति सकेको हेफरका प्रदिप शर्माले जानकारी दिए ।
सो कार्यक्रममा ५ नं. प्रदेशका सभासद, कृष्णा केसी नमूना, मो, याकुव अन्सारी नेकपा बाँकेका संयोजक अशोक कोईराला, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, हेफर ईन्टरनेशनलका निर्देशक डा. तिर्थराज रेग्मी, साझेदार संस्था महिला उपकार मञ्चका अध्यक्ष विजुला अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।