काठमाडौंको संकटा नेपालगन्ज गोल्डकपको फाइनलमा

२४ जेष्ठ २०७५, बिहीबार २०:३६
 

सदरलाइनडटकम 
२४ जेठ, नेपालगन्ज : बाँकेको खजुरा गाउपालिकाको डि गाउमा जारी तेस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको संकटा क्लव प्रवेश गरेको छ । संकटाले सुदूरपश्चिम–११ लाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । संकटा गतवर्ष पनि फाइनलमा पुगेको थियो ।
खेलको शुरुवाती ६ मिनेटमै विजय सिंहको गोलले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको तीन मिनेटमै एलोन म्याक्सवेलले गोल गरेर बराबरी गरेका थिए । ७० मिनेटमा पुनः म्याक्सवेलले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
त्यो अग्रता भने तीन मिनेटमै सुदूरपश्चिमले बराबरी गरेको थियो । सुदूरपश्चिमका चेतन कठायतले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुई÷दुई गोल भएपछि खेलको निर्णय ट्राइबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा संकटाका सरोज ढकाल, रोमन लिम्बु र भुवन सुब्बाले गोल गरेका थिए । सुदूरपश्चिमका चेतन थारुले मात्रै गोल गरेका थिए । शुरुवातमै नरेन्द्र चौधरीले बाहिर हानेका थिए । विजय सिंह र योगेन्द्र चौधरीको प्रहार संकटाका किपर दिनेश थापाले रोकेका थिए ।
सुदूरपश्चिमका व्यवस्थापक सुरेश हमालले आफ्ना रक्षापंक्तिका खेलाडी घाइते हुँदा निर्धारित समयमा बराबरीमा टुंगिएको बताए । उनले प्रशिक्षक बिना नै आफ्ना खेलाडीले राम्रो खेलेको बताए ।
संकटाका प्रशिक्षक जुजुकाजी डंंगोलले गर्मीका बावजुद टीमले राम्रो खेलेको बताए ।
कप्तान सरोज दाहालले स्वभाविक खेल खेल्न नसकेको बताए । टीम पनि सेट नभई ल्याएको बताए । उनले फाइनलमा राम्रो गर्ने बताए । शुरुमा गर्मी र रक्षापंक्तिको तालमेल नहुँदा गोल खाएको बताए ।
संकटाले फेरि एक पटक सुदूरपश्चिमलाई घर फर्काएको छ । दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकपमा पनि संकटाले सुदूरपश्चिमलाई सेमिफाइनलमा पराजित गरेको थियो ।
खेलको म्यान अफ म्याच शान्त गुरुंग भएका छन् । उनले नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको हातबाट मोबाइल पाएका छन् ।
संकटाले अब उपाधिका लागि लाली रुपन्देही–११ संग शनिबार प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । दोस्रो संस्करणमा यी दुई टोली फाइनलमा पुगेका थिए भने रुपन्देहीले बाजी मारेको थियो ।
पाँच लाख पुरस्कारको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।
यसैबीच, टिकट काटेर फुटबल हेर्ने एकजनाले मोबाइल पाएका छन् । आयोजकले लक्की ड्रबाट टिकट ८६ का सम्राटलाई मोबाइल दिएको हो ।  

Next Post

क्यान्सर रोग बारे प्रशिक्षण

२४ जेष्ठ २०७५, बिहीबार २०:३६
सदरलाइनडटकम २५ जेठ, नेपालगन्ज :  बा“केको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले ग्रामिणक्षेत्रमा कयान्सर रोगका बिषयमा सचेतना फैलाउन सुरु गरेको छ । रोगको पहिचान नभएर उपचार नै नपाई अकालमा ज्यान गुमाइरहेको अवस्थामा क्यान्सर अस्पतालले सुरु गरेको अभियान प्रभावकारी हुने देखिएको छ । क्यान्सर अस्पतालका निर्देशक डा. बिश्वराम पौडेलका अनुसार ग्रामिणक्षेत्रसम्म […]