रामकुमार श्रेष्ठ / नवलपरासी 

नवलपरासीमा बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । समाजमा अन्धविश्वास हटाउनुपर्ने विद्यालयका प्रिन्सिपलले स्थानीय एक महिलालाई बलि दिने प्रयास गरेको घटना बाहिर आएको हो ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु गोल्डेन लाइफ इंग्लिस स्कुलका सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानीय फूलमति मुसहरलाई बलि दिने प्रयास गरेका थिए । संयोगवश महिलाका आफन्तले थाहा पाएपछि बलि दिनबाट रोकिएको थियो ।

विद्यालय परिसरभित्रै चार फिट गहिरो, डेढ–डेढ फिट लम्बाइ तथा चौडाइको खाल्डो खनेर बलि दिए सो स्थानमा सुन पाइने भन्दै बलि दिन खोजिएको स्थानीयको भनाइ रहेको छ ।

प्रिन्सिपल शर्माले भने फूलमति बिरामी भएकाले उनलाई सञ्चो गराउने उद्देश्यले पूजा गर्न थालिएको दाबी गरेका छन् । स्रोतका अनुसार फूलमतिसँग लामो समयसम्म बोलचाल बन्द भएका प्रिन्सिपल हरेन्द्रले फूलमतिका देवर र नन्दको सहारामा ती महिलालाई उक्त स्थलमा राति १२ बजे लगेका थिए ।

शर्माले १८ जेठको शुक्रबार राति धामी बोलाएर स्कुलको प्राङ्गणअघि रहेको टहरोमा करिब चार फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेको र राति करिब १२ बजे विद्यालयसँगै जोडिएको घरमा रहेकी फूलमतिलाई उनकै देवर–देउरानी पञ्चराम मुसहर र चन्दा मुसहरलाई प्रयोग गरेर घरबाट लिएर आएको स्थानीयले बताएका छन् ।


विशेष पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार तथा पूजाआजा चलिरहेको देखेपछि फूलमति भागेर एक स्थानीयको घरमा पुगेपछि घटना बाहिरिएको हो ।

स्थानीयले घटनाका बारेमा प्रहरीलाई खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय समेमरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले बताए ।

स्थानीयका अनुसार हरेन्द्रले धामी कृष्ण प्याकुरेलको भनाइमा विश्वास गर्दै खाडल खनेको ठाउँमा मानव बलि दिए सोही ठाउँमा सुन पाइने आसमा विशेष पूजा लगाएर बलि दिन आँटेको बताइएको छ ।स्वयं हरेन्द्रले भने आफ्नी श्रीमति लामो समयदेखि बिरामी भएको र अस्पतालमा उपचार गराउँदा सञ्चो नभएपछि आफू धामीको शरणमा परेको र धामीकै सल्लाहअनुसार विशेष पूजा गरेको तर बलि दिने आफ्नो नियत नभएको बताएका छन् ।
उनले धामीको संगतमा पुगेपछि श्रीमतीलाई पनि बिसेक हुँदै गएकाले विश्वास गर्न बाध्य भएको बताएका छन् । घटना हुनुपूर्व फूलमतिको परिवारसँग हरेन्द्रलगायत देवर पञ्चराम र देउरानी चन्दाको बोलचालसमेत नरहेको र सोही दिन एक्कासि देवर–देउरानीले फूलमतिलाई जबर्जस्ती रातको १२ बजे पूजा स्थलमा लगेको पारिवारिक स्रोतले बताएको छ ।
१९ गते राति स्थानीय भद्र भलाद्मी बसेर दुवै पक्षलाई छलफल गराएको र सहमति जुटाउने प्रयास गरिएकोमा सामान्य मौखिक सहमति भएको स्थानीयको भनाइ छ ।
घटनाका बारेमा गाउँमा सबैतिर हल्ला फैलिएपछि हरेन्द्रले फूलमतिलाई यसको कारण विद्यालयमा असर पुगे ठीक नहुने भन्दै धम्याएपछि २१ गते बिहान फूलमतिले इलाका प्रहरी कार्यालय सेमरीमा निवेदन दिएपछि तथ्य बाहिर आएको हो ।
इलाका प्रहरी कार्यालय सेमरीले निवेदक र विपक्षीलाई बोलाएर स्थानीय भद्र भलाद्मीको रोहबरमा सहमति गराएको छ । आपसी झैझगडा नगर्ने र अब उपरान्त कुनै पनि विषयमा कुनै पनि निकायमा उजुरबाजुर गर्न नपाउने भनी सहमति जुटाइएको इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।  फाेटाे गुगलबाट राजधानी दैनिकबाट