स्थानीय सरकारसंगै समुदायले टोल पढाई समुहलाई निरन्तरता दिने प्रतिवद्धता

१३ जेष्ठ २०७५, आईतवार २३:०७
 

सदरलाइनडटकम
१३ जेठ, नेपालगन्ज : बाँकेको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उद्देश्यले सञ्चालनमा रहेका प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत गठन गरिएका ७ सय ६२ टोल पढाई समुहलाई निरन्तरता दिन समुदाय र स्थानीय सरकार सहमत भएका छन् ।
बालबालिकालाई विदाको दिन पठनपाठन गर्न अभिभावकद्धारा गठन गरिएका टोल पढाई समुहले कक्षा १ देखि ३ सम्मका विद्यार्थिको पठन र लेखन सिपमा सुधार आउनुका साथै बिद्यालय भर्ना अभियानदेखि शिक्षाको चेतनासम्म बढेको ठहर गर्दै समुदाय र स्थानीय सरकार दुबैले ती समुहलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका हुन् ।
नेपालगन्जमा आयोजना गरिएको प्रारम्भिक कक्षा पढाई शिप प्रवर्धनका लागि जिल्लास्तरीय नेतृत्व विकास कार्यक्रममा सहभागि विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र टोल पढाई समुहका संयोजकहरुले जुनसुकै अवस्थामा पनि टोल पढाई समुहलाई निरन्तरता दिने प्रतिवद्धता गरे ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले टोल पढाई समुह र प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गर्दा बाँकेको मधेशी र मुस्लिम समुदायमा शिक्षाप्रति ठुलो परिवर्तन आएकोले यो कार्यक्रमलाई अझै जारी राख्नु पर्ने बताए ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले कक्षा १ देखि ३ सम्मका बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि समुदायस्तरमा गठन गरिएका टोल पढाई समुहलाई निरन्तरता दिइने जनाउँदै त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गर्ने बताए ।
उनले टोल पढाई समुहका कारण अभिभावक र बालबालिका दुबैमा ठुलो परिवर्तन आइरहेको हुँदा त्यसलाई निरन्तरता दिइनु पर्नेमा जोड दिए ।
यस्तै सोही कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले टोल टोलमा गठन गरिएका टोल पढाई समुहले बालबालिकाको पढाई शिप बढाउनुका साथै अभिभावकलाइ पनि सचेत पारेकोले आफ्नो गाउँपालिकामा यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे ।
सोही अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगरले बालबालिका र अभिभावक दुबैलाई सचेत र जिम्मेवार बनाउने टोल पढाई समुहलाई निरन्तरता दिनु पर्नेमा जोड दिइन् ।
यस्तै सो कार्यक्रममा सहभागि विभिन्न टोल पढाई समुहका संयोजक र सदस्यहरुले टोल पढाई समुहलाई निरन्तरता दिइने जनाउँदै स्थानीय तहले त्यसका लागि बजेट विनियोजन गर्नु पर्ने माग गरेका थिए ।
जिल्लाका अधिकांश वडा र गाउँपालिकाले टोल पढाई समुहका लागि गत आवमै बजेट समेत विनियोजन गरेका थिए ।
राप्ती सोनारी–३ टोल पढाई समुहका संयोजक जंग बहादुर थारुले कसैले सहयोग नगरेपनि आफुहरुले आफै आफ्नै श्रोतबाट पनि टोल पढाई समुहलाई निरन्तरता दिने बताए ।
सोही प्रकारले गनापुर टोल पढाई समुहका संयोजक जहीर अहमद शेष, खजुरा ए गाउँ टोल पढाई समुहका संयोजक अमृता खड्का, राप्ती सोनारी–५ टोल पढाई समुहका संयोजक रागनी ओली लगायतका दर्जन बढी संयोजकहरुले आफ्ना टोल पढाई समुहलाई निरन्तरता दिने बताएका थिए ।
सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय बाँकेका प्रमुख गोर्ख बहादुर थापा, प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय प्रबन्धक राम अचल यादव, फिल्ड प्रमुख बखत भण्डारी, उपेन्द्र भण्डारी र बाँके युनेस्को क्लबका शान्त चौधरी लगायतले पनि बाँकेको शिक्षामा प्रारम्भिक कक्षा पढाई कार्यक्रमले पुरयाएको योगदान बारे चर्चा गरेका थिए ।
यसअघि कार्यक्रम प्रवर्धनका लागि विभिन्न प्लेकार्ड बोकेर नेपालगन्जमा एक बृहत्त ¥याली समेत निकालिएको थियो ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रम बाँकेका सबै ३ सय ८१ बिद्यालय, मदरसा र गुरुकुलमा संचालन गरिएको छ । सो कार्यक्रम अन्तर्गत समुदाय परिचालनको कार्य बाँके युनेस्को क्लबले गर्दै आएको थियो । एक महिनापछि समुदाय परिचालनको कार्य सम्पन्न हुने क्लबले जनाएको छ ।     

Next Post

नेकपा र फोरम नेपालबीच सहमति, फोरम सरकारमा सहभागी हुने

१३ जेष्ठ २०७५, आईतवार २३:०७
सदरलाइनडटकम  १४ जेठ, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच सरकारमा सामेल हुने गरी दुई बुंदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करिब दुई घण्टा […]

सम्बन्धित