बेरोजगार युवायुवतीको लागि सीप बन्दैछ रोजगारीको आधार

११ जेष्ठ २०७५, शुक्रबार १०:१५
 

सदरलाइन / सुनिता बर्मा  
११ जेठ, नेपालगन्ज  : दैलेख सल्लेरी–४ की २७ वर्षिया दिपा बस्नेतले कक्षा १२ सम्मको अध्ययन पुरा गरि पढाई अनुसारको रोजगारीका लागि निक्कै प्रयत्न गरिन तर, भनेको जस्तो काम नपाएपछि हातमा सीप भए आफै स्वरोजगार बन्न सकिन्छ भन्ने सोचले सिलाईकटाई सिक्न थालिन ।
दिपा यतिबेला व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्ज बाँकेमा, एडवान्स सिलाई कटाई तालिम लिदै छन् । उनले भनिन–‘पढाइ गरेपछि जागिर गर्ने योजना बनाए जागिर खोज्दै हिडे वर्ष बित्यो जागिर पाएन, दुर्गमक्षेत्र र सेवा सुविधाका अभावका कारणले पनि आफुले जागिर नपाएपछि तालिममा सहभागी भएकी हुँ ।’
विबाहित दिपाको एक छोरा छन । उनका पति नेपाली सेनामा कार्यरत छन् । छोराको उज्जवल भविष्य र आफु आत्मनिर्भर बन्नुपर्छ भन्ने इच्छा बोकेकी दिपा, १ वर्ष अगाडि दैलेखबाट नेपालगन्ज आएकी हुन ।
पढाईको माध्यमले जागिर नपाएपछि उनले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्ज बाँकेमा, बेसिक सिलाई कटाईको तालिम लिईन त्यतिले आफ्नो व्यवसाय नचल्ने भएपछि केन्द्र मै एडवान्स सिलाई कटाई सिकी रहेकी उनी नेपालगन्ज उप–महानगरपालिका–१९ आलानगरमा बस्दै आएकी छन् ।
‘अहिले मसंग सिलाई सीप छ, यसैले गर्दा घरका छेउछाउमा बसेकाहरु आफ्ना कपडा सिलाउन ल्याउन्छन् आफुले जानेको सिलाई दिन्छु त्यसबाट केही आम्दानी पनि हुने गरेको छ’– प्रफुल्ल हुँदै उनले भनिन्–‘ आँफुले सिकेको सीपले अहिले थोरै भए पनि आम्दानी भएको छ । यसैलाई निरन्तरता दिद,ै पछि पसल गर्ने योजनामा छु ।’



राप्तीसोनारी गाँउपलिका बाँके–६ की २२ वर्षिया अमृता थारु व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्ज बाँकेमा, केश श्रृगार (व्युटीपार्लर) तालिममा सहभागी छन् । कक्षा १२ को अध्ययन गर्दै गरेकी उनी अन्तिम परीक्षामा विषय लागेपछि खाली समयमा व्युटीपार्लर सिक्न आएकी हुन । उनले भनिन–‘म शारिरीक रुपमा अशक्त छु । तर, मैले आफुलाई कमजोर ठान्दिन् । पढाई सँगसँगै व्यवसायिक सीपलाई पनि प्रथमिकता दिएकी छु । जागिर पाए गर्छु नपाए सीप सिकेर कस्मेटिक पसलसँगै पार्लर गर्छु ।’
उनले हाँस्दै थपिनन्–‘छिटो जागिर नपाइने, पाएपनि आफ्नो अनुकुल नपाइने जस्ता समस्याले गर्दा व्युटीपार्लर सिक्न आएकी हु, पढाई पुरा गरेर जागिर गर्ने मेरो पहिलो सपना हो भने सीप सिकेर व्यवसाय गर्नु दोस्रो सपना हो, दुबै गर्न पाए झनै राम्रो अफिस समयमा अफिसको काम गर्छु, र साँझ बिहान घरमै ब्युटीपार्लरको काम गर्छु ।’
बाह्रबर्दिया नगरपालिका–३ की २५ वर्षिया राजकुमारी थारु आफ्नै व्यवसाय गर्ने उद्देश्यले ब्युटीपार्लर सीप सिकी रहेको बताउछिन् । स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनले भनिन्–‘ १२ पास गरेपछि मैले एउटा सानो जागिर पाए तर धेरै टाढा—टाढा काम गर्नको लागि संस्थाले पठाउथ्यो दिन भरि काम गराउँदा पनि मिहेनत अनुसारको पैसा संस्थाले समयमा नदिने समस्याले गर्दा बरु आफ्नै व्यवसाय गर्छु भन्ने सोचआयो त्यसैले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्ज बाँकेमा, ब्युटीपार्लर सिक्न आएकी हुँ । पढाई र सीप दुबैको ज्ञानभयो भने भोकै बस्ने दिन कहिले आउँदैन ।’
दिपा, अमृता र राजकुमारी प्रतिनिधि पात्रमात्र हुन उनीहरु जस्ता धेरै युवतीहरु अहिले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्ज बाँकेमा, विद्युत जडान, केश श्रृंगार, कटाई सिलाई, इलेक्ट्रोनिक्स, मोटर साइकल मर्मत, कमप्युटर, वेल्डिंग, सुरक्षा गार्ड, तरकारी खेती, ब्राखा पालन, मेसन लगायतका तालिम लिएर स्वरोजगार र आत्म निर्भर भई रहेका छन् ।

Next Post

ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा थाईराईड सप्ताह, जाँचमा पचास प्रतिशत छुट

११ जेष्ठ २०७५, शुक्रबार १०:१५
सदरलाइनडटकम ११ जेठ, काठमाण्डौ  : ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौमा शुक्रबार (आज) देखि अन्तराष्ट्रिय थाईराइर्ड सचेतना सप्ताहको अवसरमा विशेष प्याकेजका कार्यक्रम सञ्चालनमा ल्याएको छ । २५ मे देखि ३० मे सम्म ६ दिन मनाइने सो सचेतना कार्यक्रमका लागि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले थाईराईड सम्बन्धी कन्सल्टेशन तथा टिएसएच जाँचमा ५० प्रतिशत छुटको […]