प्रशासकीय कार्यविधिसहित ३ वटा विधेयक स्वीकृत गर्दै नेपालगन्ज उपमहानगरको दोस्रो नगरसभा सम्पन्न

४ जेष्ठ २०७५, शुक्रबार २२:५२
 

सदरलाइनडटकम
४ जेठ, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको शुक्रबार दोस्रो नगरसभा सम्पन्न भएको छ । सो साधारण सभाले ३ वटा महत्वपूर्ण विधेयकहरु स्वीकृत गर्दै बजेट, योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन गरेको हो ।
सो साधारण सभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र कृषि व्यवसाय प्रवद्धन विधेयक, २०७५ पारित गरेको छ ।
यसैगरी नगरको समग्र विकासको लागि आवश्यक बजेट व्यवस्था गरी कार्यान्वयनका लागि नेपाल सरकार एवं प्रदेश सरकार समक्ष माग गर्ने निर्णय गरिएको छ । राझा विमानस्थललाई अन्तराष्टिय विमानस्थल बनाउने, ५ बर्षभित्र नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गरी कार्यान्वयनमा ल्याउने, रुपईडिहादेखि नेपालगन्ज क्षेत्रमा रेल्वे लाईन निर्माण गर्ने कार्यलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउने, नेपालगन्जमा विश्वविद्यालय, पोलिटेक्निकल विश्वविद्यालय स्थापना गर्ने, भेरी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गर्ने रहेको छ ।
उपमहानगरपालिकामा औद्योगिक करिडोर स्थापना गरी यथाशिघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने र नेपालगन्ज क्षेत्रमा निर्माण हुने चक्रपथ निर्माण कार्यको लागि आवश्यक बजेट विनियोजन गरी यथाशिघ्र कार्यान्वयनमा ल्याउने पहल र प्रतिवद्धता व्यक्त गरिएको छ ।
प्रथम मनगरसभाबाट आर्थिक ऐन २०७४ मा बैशाख मसान्तसम्म बक्यौता करसहित चालु आ.व.को व्यवसाय कर बुझाउनेलाई ५० प्रतिशत छुट दिईएकोमा फेरी पनि एक हप्ता समय थप गर्ने, गाउँ नगर साझेदारी विकास कार्यक्रम अन्तर्गत यस उप–महानगरपालिकाद्धारा सर्वसाधारणमा लगानी भएको सावाँ रकम र सो को तोकिएको व्याज लामो समय सम्म असुल उपर गर्न नसकिएकाले श्रावण मसान्त भित्र सावाँ रकम बुझाउन आएमा नियम अनुसार लिनु पर्ने सबै व्याज मिनाहा गर्ने नगर सभाले निर्णय गरेको छ ।
नगर सभाबाट स्वीकृत विधेयक र निर्णयले उपमहानगरपालिकाको समग्र विकास र काममा सहजता ल्याउने नगर प्रमुख डा धवल शम्मश्ेर राणाले विश्वास व्यक्त गरे । नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि पयाकुरेल, वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको सभामा वडा अध्यक्ष तथा सदस्यले आवश्यक सल्लाह सुझाव दिएका थिए । यसैबीच प्रतिनिधि सभा सचिवमा नियुक्त अधिकारकर्मी अधिवक्ता गोपालनाथ योगीलाई दोसल्ला सहित सम्मान समेत गरिएको थियो ।  


 

Next Post

वडा सदस्यहरुले सेवा सुविधाको लागि नगरसभा चार घण्टा अबरुद्ध गरेपछि...

४ जेष्ठ २०७५, शुक्रबार २२:५२
सदरलाइनडटकम ४ जेठ, नेपालगन्ज : नेपालगन्ज उपमहनगरपालिकाको दोस्रो नगरसभामा वडासदस्यहरुले आफ्नो सेवा सुविधाको तय गर्न माग गर्दै झण्डै चार घण्टा अबरुद्ध भएर सम्पन्न भएको छ । शुक्रबार विहान ९ बजे सुरु भएको सो नगरसभामा वडा सदस्यहरुले आफ्नो सेवा सुविधाको विषयमा टुंगो नलाग्दासम्म बैठकमा सहभागि हुने तर, उपस्थिति नजनाउने भन्दै अडान […]