नरैनापुरमा झण्डै १ हजार २ सयले लिए निशुल्क स्वास्थ्य सेवा

१२ बैशाख २०७५, बुधबार १८:४८
 

सदरलाइनडटकम  
१२ बैशाख नेपालगन्ज  : बाँकेको पिछडिएको क्षेत्रको रुपमा परिचित नरैनापुर गाउँपालिकामा तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । विकट क्षेत्र भएको र स्वास्थ्यकर्मी नियमित सम्बन्धित स्वास्थ्य केन्द्रमा बस्न नमान्ने गरेको कारण हरेक वर्ष गाउपालिकाले यसरी नै स्वास्थ्य शिविरको आयोजना गरि स्थानीयलाई स्वास्थ्य सेवा दिने गरेको हो ।
गर्मीयाम लाग्दै गर्दा आयोजना गरेको ३ दिने निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय ९६ स्थानीय लाभान्वित भएको नरैनापुर गाउपालिकाका अध्यक्ष मो.ईस्तियाक अहमद शाहले जनाकारी दिए । नरैनापुर गाउँपालिकाको समन्वयमा आइएनएफ नेपालले नरैनापुर गाउँपालिका वडा नम्बर–२ लक्ष्मणपुरस्थित स्थानीय आदर्श माध्यमिक विद्यालयमा बैशाख १० गतेदेखि १२ गतेसम्म ३ दिन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७ जना पुरुष र ४ सय ८९ जना महिलाको स्वास्थ्य जाँच गरिएको हो ।
शिविरमा छाला, दाँत र सामान्य चिकित्सा सेवा दिइएको र स्वास्थ्य जाँच गरिएका मध्ये धेरैमा छालाको समस्या देखिएको बताइएको छ ।
नरैनापुरका अति गरिब र समयमै स्वास्थ्य उपचार गराउन नसक्ने नागरिकका लागि शिविरले राहत पुर्याएको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।
सो स्वास्थ्य शिविरमा उपचारको लागि आएका १ जना नयाँ कुष्ठरोगी पनि भेटिएको आईएनएफ नेपालका स्वास्थ्य विभाग प्रबन्धक राजेन्द्र बहादुर सुनारले जानकारी दिए ।


शिविरमा भेरी अञ्चल अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा.बद्रि चापागाईं, फिजिसियन डा.पारस श्रेष्ठ, नेपालगन्ज मेडिकल कलेजका छालारोग विशेषज्ञ डा.कुमार पोखरेल सहित ४ जना मेडिकल अधिकृतहरुको टोली शिविरमा उपचारका लागि खटिएको थियो ।


Next Post

१० कार्यालय प्रमुख १० बालबालिकाको अभिभावक बने

१२ बैशाख २०७५, बुधबार १८:४८
सदरलाइनडटकम १२ बैशाख, नेपालगन्ज : बाँकेका कार्यालय प्रमुखहरुले खजुरा गाउँपालिकाका १० जना बालबालिकाकाको बुधवार अभिभावकत्व ग्रहण गरेका छन् । जिल्लामा रहेका १० वटा कार्यालयका प्रमखहरुले एक कार्यक्रमकाबीच खजुरा गाउँपालिका वडा नम्वर ६ पुरैनामा रहेको जनसेवा माविका १–१ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन । बाँकेका प्रमख जिल्ला अधिकारी रमेश कुमार […]