बाँके र बर्दियाबाट ‘सेटिङ्ग’मा गोरु तस्करी हुँदै

३ बैशाख २०७५, सोमबार ०९:०३
 

सदरलाइन / रद्र सुवेदी
३ बैशाख, नेपालगन्ज  : बाँके र बर्दियाबाट ‘सेटिङ्ग’ मिलाएर गोरु तस्करी हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएर गएको विषेश टोलीले गत शनिबार राति डुडुवा गाउँपालिका–४ खालेमशाहबाट ४३ वटा गोरु नियन्त्रणमा लिएपछि सो कुरा खुलेको हो ।
भारतको विभिन्न सीमावर्ती गाउँ तथा बजारबाट संकलन गरेर अवैध तरिकाबाट नेपाल ल्याईएका गोरु पूर्विनाका हुँदै बंगलादेश पठाईने गरिएको स्रोतले जनाएको छ ।  सदरलाइनडटकमलाई प्राप्त जनाकारी अनुसार भारतका सिमावर्ती गाउँबाट चरिचरणको लागि दशगजामा ल्याउने र सजिलै नेपाल प्रवेश गराउने गरिएको छ ।
‘भारतबाट भन्सार र क्वारेन्टाईन समेत नगरी आवत जावत नहुने नाकाबाट सजिलै चरीचरणमा ल्याएको जस्तो गरी नेपाल प्रवेश गराउने र दिनभरी विभिन्न गाउँमा बाँधेर राख्दै रातीराती मात्र हिडाउने गरिन्छ ’–स्रोतले नाम उल्लेख नगर्ने सर्तमा सदरलाइनडटकमलार्ई भन्यो ।
बाँके र बर्दियाका विभिन्न नाकाबाट भित्र्याईएका गोरु संकलन गरी पूर्वश्चिम राजमार्गबाट नजिकै शम्शेरगन्जको जंगलबाट रातीमात्र ट्रकमा लोड हुने गरेको स्रोतले दाबी गर्दै भन्यो–‘राकेश नाम गरेको व्यक्तिले प्रहरी प्रशासनसंग लाईन मिलाएकोले अबैध तरिकाले गोरु लोड गरिएका ट्रक सजिलै राजमार्गमा दौडिने गरेका छन् ।’
स्रोतले दिएको जानकारी अनुसार राकेशले नै सीमा क्षेत्र तथा राजमार्गमा रहेका प्रहरीका विभिन्न युनिटलाई ‘लाईन’ दिने गरेकोले लामो समयदेखि गोरुको अवैध तस्करी हुदाँ पनि मौन बसेको हो ।
‘लाईनमेन राकेशले लाईन क्लियर गरेपछि मात्र ‘मुल्ला’ भन्ने व्यापारी लगायतको समुहले विभिन्न स्थानबाट नेपाल प्रवेश गराई राप्ती सोनारी गाउपालिकाको शम्शेरगन्ज जंगलमा पु¥याउने र हरेक कन्साईनमेन्ट राती ११ बजे लोड गरेर काँकडभिट्टाबाट भारत हुँदै बंगलादेश पठाउने गरिएको छ’–स्रोतले भन्यो ।
शनिबार शम्शेरगन्जको जंगलमा लोडिङ्गको लागि लैजान तयारी अवस्थामा बाँकेको डुडुवा गाउँपालिका–४ खालेमशाहबाट ५० वटा गोरु संकलन भए कै अवस्थामा जिल्ला प्रहरीको एउटा टोलीले नियन्त्रणमा लिन छापा मार्दा ४३ वटामात्र गोरु नियन्त्रणमा लिन सफल भएको छ । अध्यारोमा ७ वटा भेटन नसेकेको सो टोलीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका सो गोरु सीमा प्रहरी कार्यालय जयसपुरमा राखिएको छ । ‘प्रहरीले ती गोरु नियन्त्रणमा लिदै गर्दा टोलीलाई माथिल्ला निकायबाट समेत दवाव आएको थियो’–स्रोतले भन्यो । पछिल्लो समयमा तस्करी गरेर भारतको उत्तरप्रदेश तथा आसपासबाट संकलन गरी नेपाल ल्याउने भंसार तथा पशु क्वारेन्टाईनबाट समेत कागजपत्र मिलाएर पूर्बी नाका हुँदै बंगलादेश पुराउने गरिन्छ ।
यसैबीच पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज बाँकेका पशु चिकित्सक रामसेवक त्रिपाठीले चालु आर्थिक वर्षमा गाई, गोरु, बाच्छा, बाच्छी, राँगो, भैसी, पाडापाडी आयात नभएको बताए । भारतबाट आउने पशु र पशुजन्य पदार्थको अनिवार्य क्वारेन्टाईन चेकजाँच गर्ने प्रावधान रहेको भएपनि त्यस्ता पशु भन्सार हुँदै नेपाल भित्रिएको र क्वारेन्टाईन भएको रेकर्ड नहुँदा पनि स्रोतको दाबी अनुसार सेटिङ्गमै भित्रिने र सेटिङ्गमै बाहिरीने गरेको पाईएको छ ।

Next Post

हतियार सहित दुई जना पक्राउ

३ बैशाख २०७५, सोमबार ०९:०३
सदरलाइनडटकम ३ बैशाख, नेपालगञ्ज : कटुवा पेस्तोल र गोली सहित बाँके जानकी गाउँपालिका—६ बस्ने प्रमोदकुमार चमार र शोभाराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आईतबार साँझ चमारले मोटरसाईकलमा लुकाईछिपाई गरी लैजादै गर्दा उक्त हतियार फेला पारेको हो । प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो […]