पुर्वप्रधानमन्त्री देउवालाई राप्तीसोनारी गाउँपालिकामा भब्य स्वागत

२८ चैत्र २०७४, बुधबार १४:००
 


सदरलाइनडटकम
२८ चैत, नेपालगन्ज :  पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बाँकेको राप्तीसोनारी गाउँपालिकामा भब्य स्वागत गरिएको छ । बाँकेको अगैयास्थित गाउँपालिका कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओली, वडाअध्यक्ष, गाउँकार्यपालिका सदस्य, वडासदस्य, नेपाली कांग्रेसका नेता, कार्यकर्ता लगायतले देउवालाई बुधबार बिहान भब्य रुपले स्वागत गर्नु भएको हो । नेपाली कांग्रेसका नेता एवम् पुर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथीमा सहभागी हुन दाङ जाने क्रममा पुर्वप्रधानमन्त्री देउवालाई गाउँपालिकाले पुष्प गुच्छासहित खादा ओढाएर स्वागत गरेको हो ।
करिव ४५ मिनेट गाउँपालिका कार्यालयमै बस्नु भएका देउवाले राप्तीसोनारीको अवस्थाबारे जिज्ञासा राख्नु भएको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले देउवालाई गाउँपालिकाको अवस्थाका विविध विषयमा प्रष्ट्याउनु भयो । राप्तीसोनारी गाउँपालिका बाँकेका अन्य गाउँपालिकाभन्दा भौतिक पुर्वाधार र प्राकृतिक स्रोत, साधनका हिसाबले सम्पन्न रहेको जानकारी पाउँदा पुर्वप्रधानमन्त्री देउवाले आश्चर्य प्रकट गर्दै देशकै नमुना गाउँपालिका बनाउन सुझाव दिनुभयो ।
मुलुकका धेरैजसो स्थानीय तहहरु भौतिक पुर्वाधार तथा जनशक्ति अभावको समस्याबाट गुज्रिएको भन्दै राप्तीसोनारी गाउँपालिका भौतिक पुर्वाधारबाट आफै सम्पन्न हुनु सकारात्मक कुरा भएको पुर्वप्रधानमन्त्री देउवाको भनाई छ । सिक्टा सिचाई आयोजनाको ब्यारेज निर्माण गर्न आएको सिनो हाईड्रो कम्पनीले प्रयोग गरी हस्तान्तरण गरेको ४२ कोठे भवनबाट हाल राप्तीसोनारीले कार्य सञ्चालन गर्दै आएको छ ।
‘पर्याप्त मात्रामा भौतिक संरचना हुनुका साथै गाउँपालिका प्राकृतिक सुन्दरताले भरिएको रहेछ,’ देउवाले भन्नुभयो, ‘यो गाउँपालिकालाई देशकमै नमुना गाउँपालिका बनाउने गरी काम गर्नु होला ।’ स्थानीय सरकारले केन्द्रको मुख ताक्नुभन्दा आत्मनिर्भर हुनुपर्ने नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री देउवाले जोड दिनुभयो । सो क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री डा. प्रकाशशरण महत, केन्द्रिय सदस्य किशोरसिंह राठौंर, पुर्वसांसद, नेपाली कांग्रेसका जिल्ला स्तरका नेता, कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।

Next Post

योगाभ्यास अझैं व्यवस्थित र प्रभावकारी

२८ चैत्र २०७४, बुधबार १४:००
सदरलाइनडटकम २८ चैत, नेपालगन्ज :  नेपालगञ्जमा जारी योगाभ्यासलाई अझैं व्यवथित र प्रभावकारी बनाइएको छ । जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र नेपालगञ्जमा माघ २५ गते देखि हरेक विहान जारी निशुल्क योग शिवीर अब आफ्नै भवनमा अझैं प्रभावकारी रुपमा सञ्चालन गरिदैछ । स्वस्थ जीवन कार्यक्रम अन्तगर्त हरेक विहान ५ वजेबाट ७ वजे सम्म […]