घर बनाउन भारतबाट ईटा ल्याउन नपाएपछि लाखौ डुब्ने चिन्तामा नरैनापुरबासी

२० चैत्र २०७४, मंगलवार ०७:२६
 

सदरलाइन / रुद्र सुवेदी  
२० चैत, नेपालगन्ज : बाँकेको नरैनापुर क्षेत्रका स्थानीय बासिन्दाहरु भारतबाट ईटा ल्याउनको लागि दिएको लाखौ रुपैया बयाना त्यतिकै डुब्ने भएकोले आफ्नो सो को निकासको लागि गाउपालिकासंग सहयोगको गुहार गरेका छन् ।
गतवर्षसम्म भारतबाट ईटा सहजै आउने गरेकोमा यसबर्षदेखि प्रहरीले भारतीय ईटा आउन नदिएको कारण उनीहरु समस्यामा परेका हुन । सदरमुकामसंग बाटोको अभावमा बर्षको करिव ६ महिना भारतसंगै आश्रीत हुन बाध्य उनीहरु घर निर्माणको लागि आवश्यक ईटा किन्न भारतमा बयाना दिएको रकम त्यति कै डुब्ने भएको भन्दै नरैनापुर गाउँपालिकामा गुहार लगाएका हुन ।
नरैनापुर गाउँपालिका वडा नं.३ बालापुरका हस्मत खाँले घर बनाउनको लागि आवश्यक ईटा किन्न सीमापारी भारतको रामपुर जब्दी ईटाभट्टामा ४ लाख भारतीय रुपैयाँ बयाना दिएको बताए । उनले भने–‘राप्तीपारीको बघौडा क्षेत्रमा नेपालगन्जबाट सामान ल्याउन सहज नभएकोले भारतबाटै सबै सामान ल्याउने गरिन्थ्यो त्यसैले घर बनाउनको लागि भारतीय ईटा भट्टामा बयाना दिए अहिले भने ईटा ल्याउन नेपाल प्रहरीले दिदैन ।’
उनले नरैनापुर गाउपालिकामा गतवर्षसम्म कुनै ईटा भट्टा नहँुदा भारतबाटै ल्याउने गरेकोले गतवर्ष नै ईटाको बयाना दिएको बताउदै भने–‘गतवर्षसम्म कुनै भट्टा थिएन भारतबाटै ल्याउनु पर्ने भएकोले बयाना एक वर्ष अघि नै दिनु पर्ने बाध्यता भएकोले दिईयो । यो वर्षदेखि चाँद ईटाभट्टाले चिम्नी राखेर उत्पादन सुरु गरेको भन्दै प्रहरीले ईटा ल्याउन रोक लगायो ।’
नरैनापुर कै सत्तार खाँ ले २ लाख १६ हजार ईटाको बयाना भारतीय भट्टामा दिएको तर, ल्याउने बेलामा नेपाली प्रहरीले रोक लगाएपछि बयाना फिर्ता माग्न जाँदा भारतीय भट्टा सञ्चालकले उल्टो थर्काएर पठाएको गुनासो गर्दै भने– ‘तिम्रो अर्डर अनुसारको ईटा उत्पादन भएको छ । तिमिलाई पैसा होईन ईटा दिने हो । यो महिना भित्र लिएर जाउ नत्र अर्को महिनादेखि हामी तिमिलाई ईटा दिन बाध्य छैनौ भनेर पठायो ।’
नरैनापुर –३ कालाफाँटाका मुस्ताख खाँले पनि भारतीको रामपुर जब्दीको डिएम ईटाभट्टामा ४ लाख भारतीय रुपैया जम्मा गरे पनि ईटा ल्याउन नपाएको गुनासो गरे । ‘हिजो बाटो थिएन, ईटा भट्टा थिएन घर बनाउनको लागि आवश्यक ईटा ल्याउनको लागि एक वर्ष अघि नै भारतीय इटा भट्टामा बयाना दिनु पथ्र्यो त्यसै अनुसार दिए गाउका अरुले पनि दिएका छन अहिले ल्याउन दिदैन भन्छ के गर्ने भन्दै गाउपालिकामा आएको’–दिक्क हुँदै उनले दुखेसो पोखे ।
उनीहरु सबैले कम्तीमा १ महिनाको समय सिमा दिएर आफुहरुले एक वर्ष अघि दिएको बयाना बराबरको ईटा ल्याउन पाउनु पर्ने भन्दै गाउपालिकामा निवेदन दिएको बताए । माथिका हस्मत, मुस्ताख र सत्तार त प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्ता तीनदर्जन बढीले ईटा ल्याउनको लागि भारतमा बयाना दिएका छन् ।
नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनापुरमा कुनै पनि ईटाभट्टा गत वर्षसम्म सञ्चालनमा नरहेकोले सदियौदेखि भारतबाटै आवश्यक सामाग्री ल्याउने चलन भएकोले भारतमा एकवर्ष अघि ईटाको लागि बयाना दिने अर्को वर्ष ईटा ल्याउने चलन भएको तर, अहिले ईटा भट्टा सञ्चालनमा आएपछि सोही भट्टा सञ्चालकका कारण रोक लागेको आफलाई जानकारी आएको बताए ।
गाउपालिकाका अध्यक्ष शाहले भने–‘गाउपालिका भरी करीव ३ दर्जन बढीले ईटा ल्याउन पाउनु पर्यो भन्दै गाउपालिकामा सहयोगको माग गर्दै निवेदन दिएका छन् । लाखौ रुपैयाँ भारतमा फसेको उनीहरुको निवेदनमा उल्लेख छ तर कसरी समस्या समाधान गर्ने हो निकास निस्कन सकेको छैन ।’
नरैनापुरको मटेहिया नजिकै चाँद ईटाभट्टा यसै वर्षदेखि सञ्चालनमा आएको छ । फलामको चिम्नी राखेर सञ्चालनमा ल्याईएको सोही ईट्टा भट्टा सञ्चालकले भारतीय ईटा नेपाल ल्याउन रोक लगाई पाउ भनेर प्रहरी तथा प्रशाशनमा उजुरी गरेकोले इटा आउन रोकीएको आफुलाई जानकारी आएको अध्यक्ष शाहले बताए ।

Next Post

पशु स्वास्थ्य शिविर आयोजना

२० चैत्र २०७४, मंगलवार ०७:२६
सदरलाइनडटकम २० चैत, नेपालगन्ज : नेपालगन्ज उप—महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ । वडा नं.२१ को पुरैना गांऊमा संचालित निःशुल्क पशु स्वास्थ्य शिविरको उपमेयर उमा थापामगरले उद्घाटन गरिन । वडा अध्यक्ष रन्जित खां को उपस्थिति मा संचालित शिविरमा डा.अपार पौडेल, पशु विकास अधिकृत […]

सम्बन्धित