किन सुन्निन्छन् गोडा ?

१९ चैत्र २०७४, सोमबार १६:२५
 

डा. बिनय रेग्मी 
फिजिसियन तथा बाथरोग बिशेषज्ञ, ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाडौं

    हामीले दिनभरी अस्पतालमा हेर्ने बिरामीहरु मध्ये ३ देखि ४ जना बिरामीहरु गोडा सुन्निने समस्या लिएर आउने गर्नुहुन्छ । गोडा सुन्निने समस्या भएपछि जो कोही पनि डराएर र आत्तिएर हामीकहाँ जँचाउन आउनुहुन्छ । यो एक हदसम्म स्वभाविक पनि हो । तर, यसरी हामी कहाँ आउनेहरु मध्ये अधिकांश मानिसहरु मेरो मृगौला त बिग्रिएको छैन भन्ने प्रश्न लिएर आउनुभएको हुन्छ । यस डरका कारण धेरै मानिसहरु आत्तिएर जचाँउन आउने गरेको हामीले पाएका छौं ।
गोडा सुन्निने कारणहरु धेरै हुनसक्छन् । तर, गोडा सुन्निने सँगै आफुमा अन्य लक्षणहरु पनि साथमा देखिएका छन् वा छैनन् भनेर बिचार गर्नुभने अत्यन्त महत्वपूर्ण छ ।
यि कारणहरुले गोडा सुन्निन सक्छन् ।
– मुटुरोगका कारण वा मुटुमा समस्या भएकालाईः मुटुको कारणले गोडा सुन्निएको हो भने गोडा सुन्निनेसँगै सास फेर्न गाह्रो हुने र स्याँ स्याँ हुन सक्छ । राति स्याँ स्याँ हुने बिशेष गरी सुत्ने बेलामा स्याँ स्याँ भएर अग्लो सिरानी राखेर सुत्नुपर्ने हुन्छ । मुटु वा फोक्सोको कारणले गोडा सुन्निने मानिसहरुमा खोकीलाग्ने छात्तिदुख्ने पनि हुनसक्छ ।
–दम रोग लागेका र फोक्सो पूर्णरुपमा बिग्रिएकाहरुमाः दम रोग लागेका र फोक्सो पूर्णरुपमा बिग्रिएका बिरामीहरु जसलाई कोर(पुल्मोनाले (ऋयच एगयिmबलबभि ) भएको भनिन्छ । उनीहरुमा पनि गोडा सुन्निने समस्या देखा पर्छ ।
–कलेजोको समस्या भएकाहरुलाईः कलेजोको रोगहरु जस्तैः धेरै रक्सि खाएर कलेजो बिग्रिएकाहरुको गोडा सुन्निनुको साथै पेटमा , फोक्सोमा पानी जम्ने समस्या देखा पर्दछ । कलेजोले प्रोटिन नबनाई शरिरमा प्रोटिनको मात्रा अत्यधिक कम हुनगई गोडा सुन्निने हुनसक्छ ।
–मृगौलामा समस्या भएका बिरामीहरुलाई सबै मृगौला रोगीमा र सधैं मृगौलामा समस्या हुनाले मात्र गोडा सुन्निने समस्या देखिदैन । मृगौलामा समस्या भएका बिरामीको पिसावबाट धेरै मात्रामा पिसाब बाहिर जाने हुँनाले रगतमा प्रोटिनको मात्रामा कमी आँउछ र शरिर सुन्निने हुनसक्छ । मृगौलाका बिरामीको गोडा सुन्निनुका साथै बिहान उठ्दा आँखा मुख र आँखाको तल्लोभाग सुन्निएको हुन्छ । त्यसकारण मृगौलाको कारणले सुन्निएको हो वा होइन भन्नलाई पिसावको साधारण जाँच गरेर हेर्दा थाहा हुन्छ । यदि पिसाबमा प्रोटिन खेर गएको छ भने २४ घण्टाको पिसाब संकलन गरी जाँच गराउनुपर्छ र मृगौलारोग बिशेषज्ञको सल्लाह लिनुपर्दछ ।

अन्य कारणहरुमाः

–रगतको नसाहरुमा रगत जमेर पनि गोडा सुन्निने हुन्छ । यसलाई डिभिटी भनिन्छ । प्रायः डिभिटीमा एउटा गोडा मात्र सुन्निने हुन्छ । यसरी सुन्निएको गोडा अत्यन्त तातो हुने र दुख्ने हुन्छ । लामो समयसम्म गोडा नचलाउने, लामो यात्रा गर्ने, क्यान्सरका बिरामी, गर्भवति लगायतकालाई गोडामा रगत जम्ने समस्या हुनसक्छ ।
–हात्तिपाइले रोग लागेकाहरुमा पनि गोडा सुन्निने समस्या हुन्छ ।
–हर्मोन सेवन गर्नेहरुमा र गर्भवति महिलामा पनि गोडा सुन्निने समस्या हुन्छ ।
–पीडा र दुखाई कम गर्ने औषधि धेरै सेवन गर्नेहरुलाईपनि गोडा सुन्निने समस्या हुनसक्छ ।
–कुनै कुनै उच्च रक्तचाप कम गर्ने औषधिहरुको सेवनबाट पनि गोडा सुन्निने समस्या हुन सक्छ । जस्तोः सिसिबि (एम्लोडिपिन) नामको औषधिले गोलीगाठो र गोडा सुन्निने हुनसक्छ ।
–लामो यात्रा गर्दा (हवाईजहाज वा बसमा) यात्रा गर्दा पनि गोडा सुन्निन सक्छ ।
–गोडामा भएका रगत–नसा जसलाई धमनि पनि भनिन्छ यिनको समस्या (भेनस इनसफिसियन्सी) हुँदा पनि गोडा सुनिन्छ ।
–बाथका बिरामीहरुमा जोर्नीमा दुखाई हुन्छ या जोर्नीमा सुजन आँउदा पनि गोडा सुन्निन्छ ।
–कहिले काँही किराले टोकेर, एलर्जी भएर पनि गोडा सुनिने हुन सक्छ ।
–चोटपटक लागेर हाड भाँचिएर पनि गोडा सुनिन सक्छ ।
–थाइराइर्डका बिरामीहरुको पनि गोडा सुनिन सक्छ ।
–शरिरको लिम्फ्याटिक सिस्टममा अवरोध हुन गएमा पनि गोडा सुनिन्छ ।
यदि गोडा सुनिने समस्या छ भने तत्काल चिकित्सकको परामर्श लिनुपर्दछ । गोडा सुन्निने समस्याको कारण खोज्नुपर्ने हुन्छ । कारण पत्ता लगाएर उपचार गरेपछि गोडा सुन्निने समस्याबाट मुक्त हुन सकिन्छ । कारण फेला नपरेपनि आत्तिईहाल्नु पर्दैन । हामीले चर्चा गरेका माथिका कारणहरु छैनन भने बिचार गर्नुपर्ने कुरा के छ भने, राति सुत्ने बेलामा सुन्निएको गोडा बिहान उठ्ने बेलामा बसेको छ बा छैन ? यदि बसेको छ र नियमित रुपमा यस्तो भइरहेको छ भने यस्तो खालको गोडा सुन्निने समस्यालाई Dependent Edema डिपेन्डेन्ट इडिमा भनिन्छ ।

डिपेन्डेन्ट इडिमाः

यो किसिमको गोडा सुन्निने समस्या छालाको तल पानी जम्मा भएर हुन्छ । शरिरको जुन अंगमा बढी प्रेसर पर्छ वा भार पर्छ ति अंगहरुमा सुजन हुन्छ । खासगरी च्यापिएर बस्ने तथा झुण्डिएर बस्ने अंगहरुमा बढी सुजन आउने र सुन्निने गर्छ । हाम्रो शरिरमा अशुद्ध रगत तलबाट माथितिर बग्ने गर्दछ र उल्टो बाटो बहने रगत ग्य्राभिटेशनल फोर्सले पनि तल तान्ने गर्दछ त्यसकारण अधिकांश गोडा झुण्ड्याउने र उभिएर काम गर्नेहरुलाई गोडा सुन्निने हुनसक्छ । त्यसकारण अरु रोगहरु छैनन् भने आत्तिनु पर्दैन ।
यस समस्याको समाधानका लागि गोडा अलिकति माथि उठाएर (मुटुको सतहदेखि ३०.५ सेन्टिमिटर माथि राखेर) आराम गरेमा यो समस्या हराएर जान्छ ।
यदि एउटामात्र गोडा सुन्निने गरेको छ भने त्यो हात्तिपाइले रोग वा गोडामा रगत जमेको अथवा अन्य कारणहरुले गर्दा पनि भएको हुनसक्छ ।
मुटुका रोगिहरुले अत्याधिक मात्रामा झोल पदार्थ तथा पानी पिएको खण्डमा पनि गोडा सुन्निन सक्छ ।
खानामा अत्यधिक नुनको सेवनले पनि गोडा सुन्निन सक्छ । किनभने नुननले शरिरमा पानीको मात्रालाई अड्याएर राख्ने काम गर्दछ ।


गोडा सुन्निने समस्या भएकाहरुले के के जाँच गर्दा उपयुक्त हुन्छ त ?

– युरिया र क्रियाटिनिनको जाँच ।
– पिसाबको जाँच (पिसाबमा प्रोटिन गए नगएको) ।
– थाइराइडको जाँच ।
– रगतमा प्रोटिनको मात्रा जाँच ।
– यदि एउटामात्र गोडा सुन्निने भएको छ भने गोडाको नसाको डपलर जाँच तथा हात्तिपाइले रोगको परिक्षण गराउनुपर्छ ।
– गोडा सुन्निएकाहरुको छालामा नसाहरु बटारिएको वा फुलेको छ वा छैन हेर्नुपर्छ ।
– कलेजोको जाँच र मुटुको जाँच ।
– चिकित्सको परामर्श ।

(डा. रेग्मी हरेक महिनाको तेश्रो शुक्रबार र शनिवार नेपालगन्जको धम्बोझीचोकस्थित जे.शर्मा क्लिनिकमा परामर्शका लागि उपलब्ध छन् ।)

Next Post

दरबन्दीका चिकित्सक पठाउन अदालतको आदेश

१९ चैत्र २०७४, सोमबार १६:२५
सदरलाइनडटकम १९ चैत, नेपालगन्ज : बाँकेको दुर्गम नरैनापुर गाउँपलिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा विशेषज्ञ चिकित्सक पठाउन अदालतले जारी गरेको आदेशलाई सराहनीय भन्दै गाउँपालिकाले स्वागत गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विशेषज्ञ चिकित्सक नभएर स्वास्थ्य जोखिम मोलिरहेका बघौडाबासीको हितमा भएको यो आदेश स्वागतयोग्य भएको बताए । ‘सिंगो नरैनापुरबासीका हितमा […]