न्यायिक समितिको चौथो बैठक नरैनापुरमा सम्पन्न

११ चैत्र २०७४, आईतवार २१:०७
 

सदरलाइनडटकम
११ चैत, (नरैनापुर) बाँके : स्थानीय तहका उप प्रमुखहरु संयोजक रहेको न्यायिक समिति बाँकेको चौथो ‘मोबाईल बैठक’ नरैनापुर गाउँपालिकामा सम्पन्न भएको छ । हरेक महिनामा न्यायिक समितिका संयोजकहरुले आ–आफ्नो स्थानीय पालिका आएको उजुरी तथा न्याय सम्पादनको विषयमा भोगेका भोगाईहरु एक अर्कामा जानकारी गराउने उद्देश्यले ‘मोवाईल बैठक’ को आयोजना गर्ने गरिएको हो ।
नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरस्थित गाउँपालिका कार्यालयमा न्यायिक समितिकोे ‘मोबाइल बैठक’ले समितिलाई आवश्यक पर्ने ऐन, कानुन, कागजपत्र, फारामको ढाँचा ड्राफ्ट गर्ने जिम्मा समितिका संयोजक तथा नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर उमा थापा मगरलाई दिने निर्णय गरेको छ ।
८ वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरुको उपस्थितिमा बैठक बसेको हो । न्यायिक समितिको संयोजक स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुख रहने व्यवस्था छ । बैठक अघि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले सबै उप–प्रमुखहरुलाई गाउँपालिका कार्यालयमा स्वागत गरेका थिए ।
अध्यक्ष शाहले सो अवसरमा गाउँपालिकाले संचालन गरि रहेका गतिविधिका विषयमा जानकारी गराउनु साथै न्यायिक समितिको प्रभावकारी सञ्चालनका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उहाँले ब्यक्त गरे ।
समितिका संयोजक थापाले न्यायिक समितिको सहजताका लागि इजलास कक्ष, कानुन शाखा, कर्मचारीको व्यवस्थापन, दक्षता अभिबृद्धि तालिम गर्न गाउँपालिकालाई आग्रह गरिन । उनले न्यायिक समितिको काम, कर्तव्य, अधिकार र उपाध्यक्षको जिम्मेवारीबारे प्रष्ट हुन अध्यक्षलाई सहयोग पुर्याउने हेतुले सबै स्थानीय तहहरुमा ‘मोबाइल बैठक’ राख्दै आएको थापाले स्पष्ट पारिन ।
समितिको आगामी बैठक बैशाखमा राप्तीसोनारी गाउँपालिकामा बस्ने निर्णय भएको जनाएको छ । यसअघि कोहलपुरमा पहिलो, नेपालगन्जमा दोस्रो र डुडुवामा तेस्रो बैठक बसेको थियो ।  

Next Post

स्थानीयको सक्रियतामा बाटो निर्माण

११ चैत्र २०७४, आईतवार २१:०७
सदरलाइनडटकम  १२ चैत, नेपालगन्ज : नेपालगन्ज वडा नम्वर १२ नयाँ बस्तीमा स्थानीयकै सक्रियतामा बाटो निर्माण हुँदैछ । करिव ५ सय मिटर बाटो चौडा गरिनुका साथै माटो पटान तथा ग्रावेल बाटो निर्माणका लागि स्थानीयहरु श्रमदानमा जुटेका छन् । वडा न १२ वडा समिति कार्यालयको ५ लाख, स्थानीयको ५ प्रतिशत नगद र […]