स्थानीय तहमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा लक्षित सेवा प्रवाहमा समस्या

१६ फाल्गुन २०७४, बुधबार १९:४८
 

सदरलाइन / रुद्र सुवेदी  
१६ फागुन, ठाकुरद्वारा (बर्दिया) : आवश्यक जनशक्तिको अभावमा बाँकेका विभिन्न स्थानीय तहमा खटेका स्वास्थ्य संयोजकहरुले लक्षित कार्यक्रम समयमा सम्पन्न गर्न कठिनाई भएको गुनासो गरेका छन् ।
जर्मन सहयोग संस्था जिआईजेड तथा प्लान ईन्टरनेशनलको सहयोगमा जिल्ला समन्वय समिति बाँके र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बर्दियाको ठाकुराद्वारामा आयोजना भएको दुईदिने समीक्षा गोष्ठीमा उनीहरुको यस्तो गुनासो आएको हो । सो कार्यक्रममा बाँकेका स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष सहितको सहभागिता रहेको थियो ।
नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य संयोजक केशवराज गौतमले जनशक्तिका भौतिक तथा प्राविधिक उपकरणको अभाव भएको बताए । उनले दुई जना जनशक्तिले मात्र कसरी लक्षति कार्यक्रमहरु सफल पार्ने, सञ्चालन र तयारीको बारेमा कठिन भएको बताए ।
कोहलपुर नगरपालिकाका स्वास्थ्य संयोजक धन रेग्मीले अधिकाश बर्थिङ सेन्टरमा दक्ष प्रसुतिकर्मी व्यवस्था गरिनु पर्ने बताए । उनले जनशक्ति अभाव भएकै कारण आमा सुरक्षा कार्यक्रमका लागि छुट्टाएको बजेटबाट एक रुपैयाँ खर्च गर्न नसकिएको भन्दै कामका लागि प्रमुख उपप्रमुखबाट अवरोध नभए पनि जनशक्ति अभाव भएको गुनासो गरे ।
जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर गुरुङले एकदुई जनाले सबै कार्यक्रमहरु गर्न समस्या भएको बताउदै भने–‘धेरै कार्यक्रमहरु छन् तर कर्मचारी हामी एक वा दुई जना मात्र छौ । कसरी काम गर्ने हो निकै समस्या भएको छ ।’उनले स्वास्थ्यका कतिपय कार्यक्रममा आपसमा समन्वय र बुझाइको कमी महसुस भएको अनुभव सुनाए ।
खजुरा गाउँपालिकाका स्वास्थ्य संयोजक पूर्णबहादुर खड्काले गाउँपालिकाले स्वास्थ्य कार्यक्रमका लागि सकारात्मक बजेट विनियोजन भए पनि पर्याप्त प्राविधिकहरु नहुदाँ समस्या भएको जानकारी दिए । समयमै औषधि खरीद भए पनि त्यसको भण्डारण गर्ने स्टोरकिपर, तथ्यांक अधिकृतको अभाव भएको उनले बताए ।
वैजनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक शोभा अधिकारीले स्वास्थ्यका लागि आवश्यक बजेट पनि विनियोजन नहुदाँ तलव सुविधाका लागि पनि समस्या देखिन थालेको बताईन ।
यसैगरी राप्तीसोनारी गाउँपालिका स्वास्थ्य संयोजकले नेपालगन्ज शहरबाट टाढाको गाउँपालिका भएकाले वैकिंङ कारोवार गर्न, इमेल इन्टरनेटको सुविधा नहुदाँ अनलाइन सिस्टम जान नसकिएको गुनासो गरे । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले आमा सुरक्षा, न्यायो झोला खरीदका लागि रकम अभाव भएकोले समस्या भएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका प्रमुख जनस्वास्थ्य प्रशाशक खिमबहादुर खड्काले चालु आर्थिक वर्षमा स्वास्थ्यमा भएका प्रगति, बाँकी रहेका कामबारे छलफल गर्न आयोजना गरिएको समीक्षामा स्थानीय तहमा खटिएका स्वास्थ्य संयोजकहरुले स्वास्थ्यका कार्यक्रम बारे स्थानीय प्रतिनिधिलाई बुझाउन समस्या भएकोले काम गर्न कठिनाई भएको भएपनि अबका दिनमा सहज हुने विश्वास ब्यक्त गरे ।
बाँकेका अधिकाश गाउँपालिकाले औषधि, खोप खरीद गरे पनि भण्डारण गर्न समस्या भएको, कतिपय गाउपालिकामा न्यायो झोला खरीदमा बजेट अभाव भएको, भौतिक संरचना नभएको र जिल्लाका खोप अधिकृत प्रदेशमा जाँदा जिल्लामा खोप अधिकृतका अभाव भइरहेको समीक्षामा स्वास्थ्य संयोजकले गुनासो गरेका थिए ।
जिल्ला जनस्वास्थ्यका प्रतिनिधि, उप–महानगरपालिका, कोहलपुर नगरपालिकाका प्रमुख उपप्रमुखसहित ६ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै स्थानीय तहमा खटिएका स्वास्थ्य सयोजक, प्रमुख प्रशासकीय अधिकृत, लेखाप्रमुख, स्वास्थ्यमा काम गर्ने साझेदार संस्थाहरुका प्रतिनिधिहरुको समीक्षा बैठकमा उपस्थिती रहेको थियो ।
सो समीक्षा बैठकले अगामी आव २०७५÷७६ का लागि स्वास्थ्य क्षेत्रको प्राथमिकता तथा कार्यक्रमको निर्धारण, तथ्यमा आधारित योजना तर्जुमा गर्न स्वास्थ्यको सूचना र चालु आवको स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै अगामी असार मसान्तसम्मको बाँकी कार्यक्रमको कार्ययोजना तयार पारिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खड्काले जानकारी दिए ।
उनले भने –‘हामीले स्थानीय पालिकाका जनप्रतिनिधिहरुलाई स्वास्थ्यका महत्वपूर्ण कार्यक्रम, उद्देश्य र तिनको अपेक्षित प्रतिफलबारे जानकारी गराई नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, तथा नियमन गर्न सहयोग पुगोस् भनेर संयुक्त समीक्षा बैठक राखेका हौँ ।’
स्थानीय तहको अधिकारभित्र परेका स्वास्थ्य कार्यक्रमका अधिकार, साझा अधिकार, आधारभूत स्वास्थ्य सेवा,आमा सुरक्षा कार्यक्रम, नवजात शिशुस्याहार कार्यक्रम, खोप कार्यक्रम, बालस्वास्थ्य, पोषण कार्यक्रम र एकीकृत बालरोग व्यवस्थापनलगायत महत्वपूर्ण कार्यक्रमको बारे पनि छलफल र आगामी दिनको लागि योजना समेत बनाईएको उनले बताए ।       

 


 

Next Post

नेपालगन्ज उप–महानगरपालिकामा होली मिलन

१६ फाल्गुन २०७४, बुधबार १९:४८
सदरलाइनडटकम   १७ फागुन, नेपालगन्ज  : सामाजिक सद्भावको पर्व होली (फागु) विभिन्न गतिविधिका साथ मनाईएको छ । यस क्रममा नेपालगन्ज उप–महानगरपालिकाले जनप्रतिनिधि, विभिन्न क्षेत्रका अगुवा तथा कर्मचारीबीच धुमधामका साथ मनाईएको छ । नेपालगन्ज उप–महानगरपालिकाद्वारा कार्यालय परिसरमा आयोजित होली मिलन समारोहमा सहभागीहरुले एक आपसमा रंग दलेर मैत्रीभाव प्रकटसहित शुभकामना आदान–प्रदान गरेका छन् […]

सम्बन्धित