सदरलाइनडटकम
१३ फागुन, नेपालगन्ज : मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले माईती नेपालद्वारा सुरु गरिएको मेची–महाकाली अभियान नेपालगन्ज आइपुगेको छ । उनीहरुलाई मानव बेचबिखन बिरुद्धको जिल्ला समितिले नेपालगन्ज आइपुग्दा भब्य स्वागत गरिएको छ ।
सुदूरपश्चिमको महेन्द्रनगर र पूर्वको काकडभिट्टाबाट अभियान थालिएको हो । सुदूरपश्चिमबाट माईती नेपालले सञ्चालन गरेको अभियानमा प्रशासकीय अधिकृत हस्त खड्काले नेतृत्व गरेको अभियान्ताहरुको टोलीे टोली नेपालगन्जमा आइपुग्दा सम्बद्धहरुले ¥याली सहितको कोण सभा गरेर स्वागत गरेका हुन् ।
स्थानीय वीपीचोकबाट शुरु भएको ¥याली धम्बोझीचोकसम्म पुगेको थियो । त्यसपछि आयोजित कोणसभामा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले भने, ‘सबै स्थानीय निकायहरुले मानव बेचबिखनविरुद्धको कार्यक्रम गरेर जनचेतना फैलाउनु पर्छ ।’ जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले मानव बेचबिखन सबैको साझा समस्या भएको कारण यसको रोकथाम सबैको हातेमालोबाट मात्रै संभव भएको औल्याए ।
सो सभालाई नेपालगन्ज उप–महानगरपालिकाका मेयर धवल शमशेर राणा, उप–मेयर उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी रमेश केसीलगायतले सम्बोधन गर्दै मानव बेचबिखन देशव्यापी तथा साझा समस्या भएकाले यसका विरुद्धमा सबै एकजुट भएर लाग्नु पर्ने बताए ।
जनचेतनामूलक अभियान नेपालगन्ज आइपुग्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थाका प्रतिनिधि, विद्यार्थी, समाजका अगुवाहरु सहभागी थिए । माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार, पश्चिमको महेन्द्रनगर र पूर्वको काकडभिट्टाबाट विविध कार्यक्रम गर्दै हिडेको टोली हेटौडामा आएर मिसिने छ । त्यहाँ बृहत कार्यक्रम गरेपछि अभियान समापन हुन्छ ।
बैदेशिक रोजगारका नाममा भारतीय बाटो हुँदै दलालले ठूलो संख्याका नेपाली महिलालाई जोखिमपूर्ण काममा लैजाने गरेकाले यसप्रकारका अभियानले त्यसलाई कम गर्न सहयोग पु¥याउने आयोजकले बताएका छन् । नेपालगन्ज नाकाबाट वर्षेनी एक हजार हाराहारीमा महिलाहरु भारत तथा खाडी मुलुकमा पुगेर हराउने गरेका छन् ।