निर्वाचन अघिको सहमतिअनुसार नै पार्टी एकताः अध्यक्ष दाहाल

९ फाल्गुन २०७४, बुधबार ०८:४५
 

९ फागुन, चितवन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा (एमाले)सँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताएका छन् ।

भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गरे ।

यही विद्यालयमा आफूले फुटबल प्रतियोगिता खेलेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त स्थानमा भावनात्मक सम्बन्ध जोडिएको उल्लेख गरे ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका दाहालले भरतपुर–जगतपुर तथा भरतपुर–मेघौली सडक कालोपत्रे हुने आश्वासन दिए । उनले निकुञ्ज आसपास क्षेत्रका जनतालाई जंगली जनावरले सास्ती दिएको भन्दै तत्कालै तारजालीको काम अघि बढ्ने बताए ।


सो अवसरमा अध्यक्ष दाहालले विद्यालयका पूर्वविद्यार्थीलाई सम्मान गरेका थिए ।

यसैबीच आजै अपराह्न चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आजदेखि शुरु भएको ‘विकास रनिङ शिल्ड फुटबल’ प्रतियोगिताको समेत उनले उद्घाटन गरे । सो क्रममा उहाँले नारायणगढको क्याम्पाचौरलाई ‘मिनी स्टेडियम’ बनाउन पहल गर्ने बताए ।

आजको उद्घाटन खेलमा फ्रेण्डस् क्लब ललितपुरले विजयी शुरुआत गरेको छ । उसले विजय युथ क्लब हेटौंडालाई १–० अन्तरले पछि पारेको हो । उक्त खेलको विजेताले रु पाँच लाख पुरस्कार पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छ ।

रासस

Next Post

एक वर्षदेखि दूषित खानेपानी उपभोग गर्दै

९ फाल्गुन २०७४, बुधबार ०८:४५
पेमा लामा/रासस ९ फागुन, धुलिखेल । बनेपा नगरपालिका–८ र ९ का बासिन्दाले एक वर्ष अगाडिदेखि नै खानेपानी संस्थान बनेपाले वितरण गरेको धारामा आएको दूषित पानी उपभोग गर्दै आएका छन् । नौ नं वडा, शाही टोलमा पशुबध गरेर जथाभावी फोहोर फालेका कारण त्यस्तो समस्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् । बनेपा नगरपालिका–९ […]