राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज मतदान हुँदै

२४ माघ २०७४, बुधबार ०८:०८
 

भीष्मराज ओझा/रासस

काठमाडौँ, २४ माघ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । मतदानका लागि छ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १२ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसेकाेले त्यहाँ मतदान नहुने भएको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ मा ललितपुरको पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदान स्थल तोकिएको छ । प्रत्येक मतदान स्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना समेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।

प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले कूल ५६ सदस्यका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भइसक्नुभएको जानकारी गराउँदै अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका जानकारी गराए ।


प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् ।

प्रदेश नं २ मा सबै निर्विरोध निर्वाचित हुनु भएकाले आजको निर्वाचनमा बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी कूल एक हजार ६७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य प्रत्येकको मतभार ४८ हुने कानुनी प्रावधान छ ।

आयोगले निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आपूm निर्वाचित भएको प्रमाणपत्र वा विकल्पमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

मतदान सकिएलगत्तै मतगणना कार्य शुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सबै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाइसकेका छौँ ।” आयोगले निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाएको छ ।

आयोगले सकेसम्म माघ २४ गते नै र नभए माघ २५ गतेसम्म सबै पदको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको उनले बताए ।

Next Post

राष्ट्रियसभाका मतदातालाई भ्रमण गराइने

२४ माघ २०७४, बुधबार ०८:०८
दाङ, २४ माघ । राष्ट्रियसभा चुनावअन्तर्गत प्रदेश नं ५ को चुनावका लागि दाङ आउने मतदातालाई दाङको घोराही उपमहानगरपालिकाले पर्यटकीय स्थलहरू भ्रमण गराउने भएको छ । प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरले घोराहीमा आउने सबै मतदातालाई अतिथिका रूपमा स्वागत गर्दै भोजनको व्यवस्था गर्ने र यस क्षेत्रका पर्यटकीय सम्पदाको अवलोकन गराउने निर्णय गरेको […]