घर बनाउँन रोक्का हुँदा रैदास परिवारको चिसो रातमा खुला आकाशमुनि बास

२४ पुष २०७४, सोमबार १३:४९
 

सदरलाइन / रुद्र सुवेदी 
२४ पुस, नेपालगन्ज : बाँके जानकी गाँउपालिका–२ बकोेटीया की माया रैदासले सरकारको जनता आवास कार्यक्रम अन्तरगत पक्की घर बनाउने सपना देख्दा बाक्लो हुस्सुसंगै चल्ने चिसो स्याँठसंग पौठेजोरी खेल्दै दिन विताउन बाध्य छन् ।
मुटु कमाउने चिसो मौसम, अनि शरिर कठ्यांग्रिने शिरशिर बतास चलिरहँदा उनी आफु र आफ्ना सन्ततिलाई कसरी तातो बनाउने भन्ने चिन्तामै हुने गरेकी छन् । ‘दिउसोमा जोरजम गरेका केही दाउरा पनि खाना पकाउँदै सकिन्छ । जीउ ढाक्ने एकसरो कपडा बाहेक केही छैन । त्यहीपनि जुन लागेको रातमा आकाशका तारा देखिन्छन्, गर्मीमा त जसोतसो काटिन्थ्यो होला जाडोमा आफत नै आईप¥यो’–एकै सासमा मायाले भनिन् ।
जनता आवासबाट प्राप्त अनुदानले पक्की घर बनाउने उद्देश्यले भएको बुकुरो भत्काउदा संधियार जमिन्दारले जग्गा खिचोला मुद्दा हालेपछि उनको यो अवस्था आएको हो । केही सातदेखि सुरु भएको शित लहरबाट जुध्न दाउराको जोहो हुनु त कहाँ हो कहाँ भएको छानो पनि भत्काउँदा बोकटियाका माया रैदासका परिवार अहिले खुला आकाशमुनि चिसो रात काट्दै आएका छन् ।
तीन दशकदेखि गाँउको किनारमा रहेको ठूलो खाडलको छेउमा ऐलानी प्रति जमिनमा बुकुरो बनाएर बस्दै तराईका सिमान्तकृत तथा दलित समुदायकी माया रैदास (चमार) को पक्की घरमा बस्ने सपना पनि अधुरै रहने भएको छ ।
पक्की घर बनाउन बुकुरो भत्काएकी मायाले अदालतको अवज्ञा हुने डरले बुकुरोमा अस्थायी छप्पर समेत राख्न सकेकी छैनन् । घरको छानाबाट हिउँद वर्षात काट्न मुस्किल भएपछि पक्की घर बनाउन सुरु गरेका रैदास परिवारलाई एकाएक अदालतबाट घर नबनाउनु भन्ने पत्र आएपछि उनीहरु अहिले बिचल्लीमा परेका छन् । जनता आवास योजना मार्फत पक्की घर बनाउदै गरेकी मायालाई घरको जग हालेपछि जिल्ला अदालत बाँकेबाट उक्त जग्गामा घर निर्माण नगर्नु भन्ने आदेशपत्र आएको थियो ।
मायाले यो वर्ष जनता आवासमार्फत घर बनाउँदा अर्को वर्ष प्रल्हाद चमारले घर बनाउन योजना बुनेका चमार परिवार पहिलो घर नै बनाउन रोक्का भएपछि अर्को घरको सपना पनि समाप्त भएको छ । प्रहलाद मायाका देवरका छोरा हुन ।
‘सँधै खरको छाप्रोमा बस्दा ज्यानको असुरक्षा बढ्दै गयो, सुरक्षित तरिकाले बाँच्ने आशाले पक्की घर बनाउने सपना बुनेको थिएँ’ मायाले भनिन्, ‘रकम आएर घर बनाउन सुरु गर्दा नै जमिनदारले विना कारण अदालतमा मुद्दा दिए, अहिले अदालतबाट तत्काललाई घर निर्माण रोक्नु भनेको डेढ महिना भयो । नयाँ घरमा बस्ने आशाले पुरानो खरको छाप्रो पनि भत्कायौं, घर निर्माण हुन नसक्दा हामीले खुला आकाशमुनि चिसो रात काटिरेहका छौं ।’
मायाका छोरा राजेश रैदास(चमार) ले भएको घर भत्काएर नयाँ निर्माण पनि रोकिएपछि अहिले आफुहरु घर विहीन भएको बताउछन् । आफ्नै संधियार रहेका जमिनदार काँशीराम कुर्मीले जग्गा खिचोलोको मुद्दा दिएपछि अदालतको घर निर्माण कार्य रोक्ने आदेश आएको थियो ।
‘आमा अहिले ५५ वर्षको पुग्नुभयो, दैनिक चिसोका कारण उहाँको स्वास्थ्य समेत विग्रदै गएको छ’ छोरा राजेशले भने, ‘विश्राम गरी बस्ने उमेरमा एकसरो लगाएर कहिलेसम्म जमिनदारसँग लड्नुपर्ने हो, म नजिन्मिदै बस्दै आएको जमिनमा एकाएक बस्न नदिने कुरा आपपछि अब हामी कहाँ ओत लाग्न जाने होला ?’
तीस वर्षदेखि बस्दै आएको ऐलानी जमिनमा जमिनदारले घर बनाउन नदिएपछि अहिले रैदास परिवार अधिकारकर्मी गुहार गर्दै हिँडेका छन् । अन्यत्र जग्गा नभएका रैदास परिवारलाई संधियार काँशीरामले बाटोको विषयामा विवाद निकालेर अदालतमा मुद्दा दायर गरेका हुन् । उनीहरुले भनेको समयमा घर निर्माण गर्न नसके सरकारी अनुदान समेत फिर्ता जाने भएकाले आफुहरुलाई ओत लाग्ने व्यवस्था मिलाइदिन माग गरेका छन् । उनीहरुले वडा कार्यालयमा घरधुरी कर तिरेको रसिद, विद्युतको रसिद हुँदा पनि आफुलाई अनाहकमा सताउने गरेको बताए ।
जमिनदार कुर्मीले जग्गा दुई नम्बर वडामा पर्ने भएपनि तीन नम्बर वडा अध्यक्षबाट घर निर्माण रोक्न आदेशपत्र समेत पठाएका छन् । जमिनदारले खरको छाप्रो भएकोले हालसम्म बस्न दिएको तर पक्की घर निर्माण गर्न नदिने अडान राखेका छन् ।
तीन दशकसम्म केही नबोलेका कुर्मीले पक्की घर बनाउँदा एकाएक मुद्दा दायर गर्दा ऐलानी जमिन नै जमिनदारले कब्जा गर्न लागेको अर्का छिमेकी प्रल्हाद रैदास परिवारको गुनासो छ । जमिनदारले नै आफुहरु लामो बस्दै आएको ऐलानी जमिन कब्जा गरी रुख रोपेको प्रल्हादल बताए ।
दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको चमार परिवारलाई अदालतको पूर्जी आएदेखि झनै समस्यामा परेको छ । ‘न पैसा छ न त बोलि दिने नै कोही छ । उनीहरु ठूला जातका ठूला मान्छे पैसा पनि उनीहरु संगै छ अव कसरी न्याय पाउने हो’–एकै स्वरमा भने ।
नेपालगन्ज–गौघाट सडक मै पर्ने भएकोले पनि काँशीरामले आफ्नो जमिनको अगाडिको मोहडामा रहेको ऐलानी जमिनबाट रैदास परिवारलाई विस्थापित गर्न सके जमिनको मुल्य बढ्ने सोचले उनीहरुलाई पटक–पटक अनावश्यक दुख्ख दिदै आएको स्थानीय बताउँछन् ।
‘अहिलेसम्म खरको छाप्रो थियो, केही बोलिन तर पक्की घर नै लगाएर मेरो जमिनलाई अप्ठ्यारो पार्दा कहाँ चुप लागेर बस्छु,’ अदालतमा मुद्दा दायर गर्ने काँशीराम कुर्मीले भने, ‘कुनैपनि हालतमा पक्की घर लगाउन दिँदैन, यो मेरो जमिन मिचेर घर बनाएर बस्न लागेका छन् ।’ उनले आफ्नो जमिन रैदास परिवारले कब्जा गरेर बसेको कारण आफ्नो जमिनमा आउनको लागि अरुको जमिनबाट आउनु परेको गुनासो समेत गरे ।


Next Post

अनलाइनमा चिठ्ठा पर्यो भन्दै ठग्ने गिरोह नेपालगन्जमा पक्राउ

२४ पुष २०७४, सोमबार १३:४९
सदरलाइनडटकम   २४ पुस, नेपालगन्ज  : फेशबुक तथा अन्य सामाजिक सञ्जालमा तपाईलाई चिट्टा पर्यो भन्दै ठगी गर्ने गिरोह बाँके प्रहरीको चुंगुलमा परेको छ । केही समयदेखि देशका विभिन्न भागमा रहेका सार्वसाधरणहरुसंग सामाजिक सञ्जाल तथा फोन मार्फत ‘तपाईलाई चिठ्ठा पर्यो भन्दै चिठ्ठाको रकम लिनको लागि अग्रिम ट्याक्स (कर) अग्रिम बुझाउनु पर्छ र […]