बाँकेका दलित महिलाहरुको समुहमा आबद्धतासंगै फेरिएको दिनाचार्य

१८ पुष २०७४, मंगलवार १०:२८
 

सदरलाइन / रुद्र सुवेदी 
१८ पुस, नेपालगन्ज : घुम्टोले अनुहार ढाकेर घरमुलीले भनेको कुरालाई अक्षरस पालना गर्न विवस मधेशी र दलित समुदायका महिलाको दैनिकिमा परिवर्तन देखिएको छ । उनीहरुमा परिवर्तन देखिनुको कारण महिला समुहमा संगठित हुँदै आय आर्जनका काममा सक्रियता जनाउनुले हो ।
बाँकेमा दलित महिला संघ (फेडो) मार्फत उनीहरु संगठित हुँदै नेतृत्व विकास, क्षमता अभिबृद्धि, आर्थिक, सामाजिक राजनीतिक सशक्तिकरणका तालिममा सहभागि भएर अहिलेको परिवर्तन संभव भएको बाँके बैजनाथ गाउपालिका–८ बेलडाँडी हसनापुरकी बिन्दु कुमारी सुनारले बताईन ।
‘घर परिवारमै पनि आफु अन्यायमा पर्दा चुक्क बोल्न पनि नसक्ने दलित समुदायका महिलाहरु अहिले भने आफ्नो हक अधिकारको बारे निर्धक्क बोल्न मात्र होईन अरुको अधिकारको लागिसमेत वकालत गर्न सक्ने भएका छन् । म आफैमा पनि निक्कै परिवर्तन आएको महशुस गरेकी छु ।’
बाँके बैजनाथ गाउपालिका–८ बेलडाँडी हसनापुरमा २०६८ सालमा चाँदनी दलित महिला समुहमा आवद्ध भएर विभिन्न कार्यक्रममा सहभागि हुदा हुँदै अहिले संघर्ष दलित महिला समुहको अध्यक्ष समेत रहेकी बिन्दुले आफ्नो विगत सम्झदै भनिन्–‘ हिजो समुहमा आवद्ध नहुँदासम्म आफुले मन पराएको लुगा समेत लगाउन नपाउने अवस्थामा थिए बाहिर निस्कन त परैको कुरा । अहिले भने मेरो हरेक निर्णय घर परिवारले स्वीकार्ने गरेको छ । यो म र म जस्ता महिलाको लागि ठूलो पविर्तन हो ।’
उनले आफुलाई बाहिर निस्केर बोल्नको लागि मात्र होईन कुर्ता सुरवाल समेत लगाउन घर परिवारले बन्धेज लगाउने गरेको तर, समुहमा आवद्ध भएपछि भने आफ्नो हक अधिकारको कुरा जानेर घर परिवारको नचाहिने दवावको सहजै विरोध जनाउदै वकालत गर्न सुरु गरेपछि अहिले हिजो विरोधमा रहेका श्रीमान सासुससुरा अहिले सहयोगीको रुपमा रहेको बताउछिन ।
उनी अहिले गाउपालिमा, वडाका भेलामा आफ्नो कुरा निर्धक्क राख्नमात्र होईन बजेटको बारेमा सोधखोज गर्ने र विद्यालय व्यवस्थापन समिति, सामुदायिक बन, आमा समुह, निगरानी समुह जस्ता समुहमा आवद्ध भएर महिला हिंसा विरुद्ध सक्रिय भएर लाग्दै आएकी छन् ।
उनले दलित महिला संघ बाँकेले आयोजना गर्ने गरेका विभिन्न तालिम तथा बैठकमा सहभागि हुनको लागि पनि सुरुका दिनमा निक्कै कठिन भएको तर, अहिले भने घरपरिवारले पनि सहयोग गर्ने भएकोले सहज भएको बताउछिन ।
कक्षा ९ सम्मको अध्ययन गरेकी बिन्दु भगवती मावि हसनापुरको विद्यालय व्यवस्थापन समितिको सदस्य, भगवती सामुदायिक बनको एक कार्यकाल सह–सचिव हाल सदस्य,त्रिपुरा महिला विकास बहु उद्देशिय सहकारी सस्थाको अध्यक्ष भएर आफ्नो समुदायका महिलाको हक र अधिकारको लागि वकालत गर्दै आएकी छन् ।
उनले समुदायका महिला र गैह दलित समुदायका महिलालाई परेको घरेलु हिंसाका बिरुद्ध सक्रिय भएर समस्या परेको बखत त्यसको समाधानको लागि पहल पनि गर्ने गरेको बताईन । उनले भनिन्–‘ दलित महिलाको उत्थान र विकासको लागि चाँदनी दलित महिला समुह मार्फत तालिम, मासिक बचत तथा अन्य आय आर्जनका काममा सक्रियता जनाईएको छ ।’
उनले आफ्नो समुहमा ३० जना आवद्ध रहेको सबैले मासिक सयका दरले बचत समेत गर्दै आएको बताईन । फेडो मार्फत यसै वर्षको असोजमा समुहका १० जना अति विपन्न महलिालाई आयआर्जनको लागि ३–३ वटा बाख्रा दिएको बताईन ।
बैजनाथ –८ चौफेरी चाँदनी दलित महिला संघकी अध्यक्ष खिमसरा विकले आफ्नो समुहमा २२ जना दलित महिला आवद्ध रहेको बताईन । उनले समुहमा आबद्ध नहुँदासम्म आफुहरुमाथि जति थिचोमिचो भएपनि सहेर बस्न बाध्य रहेको भएपनि अहिले भने तत्काल जानकारी हुनुको साथै समस्याको समाधानकोृ लागि पहल पनि हुने गरको दावी गरिन ।
बैजनाथ –८ पीपरीको लक्ष्मी दलित महिला समुहका अध्यक्ष चन्दा विकले पाँच वर्षदेखि समुहमा आवद्ध भएर सीप सिक्दै स्वरोजगार भएको बताईन । उनले भनिन–‘हिजो समुहमा नबस्दासम्म घर परिवारले पनि निक्कै थिचोमिचो गर्ने गरेकोमा आज भने अवस्था त्यस्तो छैन् घरपरिवारले पनि हौसला दिने गरेका छन् । बैठक, तालिमा जाउ भनेर पठाउछन् आफै पनि प¥याउन जान्छन यो परिवर्तन होईन र ।’
खजुरा गाउपालिका–५ उढरापुरमा सरगरमाथा दलित महिला समूहकी अध्यक्ष सरस्वती पासीले मधेशी दलित महिलाको समस्या घुम्टो मै बस्नु पर्ने बाध्यता टरेको बताईन । उनले घरबाट बाहिर जान नदिने घरमुली अहिले आफैले घरको काममा सहयोग मात्र होईन सभा बैठकमा नजाँदा उल्टो रिसाउने गरेको बताईन ।
उनले भनिन–‘हिजो हामीसंग केही हुदैनथ्यो ससुरा श्रीमानसंग आफ्नो आवश्यकताको लागि हात थाप्नु पथ्र्यो तर, आज हामी आफै कमाउने भएपछि त्यो समस्या त्यसै हराएको छ ।’ दलित महिला संघ बाँके (फेडो) की अध्यक्ष निर्माला सुनारले बाँकेमा फेडोले आय आर्जन र सशक्तिकरणको लागि बैजनाथ गाउपालिकाको वडा नं. ८ र खजुरा गाउपालिकाको वडा नं. ५ मा समुह गठन गरि विभिन्न आय मूलक तालिम दिएको बताईन ।
फेडोकी कार्यक्रम संयोजक दिलीसा गौतमले नेतृत्व विकास, क्षमता अभिबृद्धि तालिम संगै आर्थिक, राजनीतिक, समाजिक, महिला हिंसा विरुद्ध र शैक्षिक क्षेत्रमा सशक्ति करणको कार्यक्रमबाट १ हजार वढी दलित महिलालाई समेटेको कारण दलित महिलाको पहुँच सर्वत्र पुराउन संभव भएको जानकारी दिइन ।


 

Next Post

बाँके राजधानीका लागि नव निर्वाचित जनप्रतिनिधी एकमत, दबाब सिर्जनामा जोड

१८ पुष २०७४, मंगलवार १०:२८
सदरलाइनडटकम १८ पुुस, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी बाँकेका नव निर्वाचित प्रतिनिधी तथा प्रदेश सभा सदस्यहरुलाई स्वागत गरेको छ । स्वागत तथा शुभकामना कार्यक्रममा सहभागि बाँकेका नवनिर्वाचित प्रतिनिधी तथा प्रदेश सभा सदस्यहरुले बाँकेलाई प्रदेश नं. ५ को राजधानी बनाउन दवाव सिर्जना गर्ने पक्षमा रहेदै प्रतिबद्धता समेत […]