बाँकेका बालबालिकाको पढाईको स्तर सुधारोन्मुख

१६ पुष २०७४, आईतवार १८:२७
 

सदरलाइन / रुद्र सुवेदी
१६ पुस, नेपालगन्ज  : प्राथामिक तहका बालबालिकाको पढाई सीपमा परिवर्तन ल्याउदै उनीहरुबीचमा पढाईको स्तर बढाउने उद्देश्यले सञ्चालनमा रहेको प्रारम्भिक कक्षा पढाई सीप कार्यक्रमको नतिजा आउन सुरु भएको छ ।
शिक्षा मन्त्रालय शिक्षा बिभागले बाँके लगायत देशका विभिन्न ६ वटा जिल्लामा पाइलोट प्रजेक्टको रुपमा सञ्चालन गरेको यो कार्यक्रमले बाँकेमा बालबालिकाको पढाईको स्तरमा सुधार आएको पाईएको हो ।
बाँकेका सह–जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बाँकेमा यो कार्यक्रम शैक्षिक सत्र २०७३ को मध्येदेखि सुरु भएको जानकारी दिए । उनले समग्र जिल्लाको सिकाई उपलब्धी ६१ दशमलभ ५ प्रतिशत हासिल गरेको बताए । यो सुधारन्मुख उपलब्धी भएको उनको ठहर छ ।
उनले भने–‘शैक्षिक सत्र २०७३ को असारदेखि तालिम दिएर साउन भदौमा मात्र सिकाई सामाग्री दिन भ्याएका थियौ तै पनि जिल्लामा कक्षा २ को सिकाई उपलब्धी ६१ प्रतिशत र कक्षा ३ को सिकाई उपलब्धी ६२ प्रतिशत आएको छ । जबकी पुरै देशभरको सिकाई उपलब्धी ६५ प्रतिशत हो ।’
बाँकेका ३५९ सामुदायिक विद्यालय, गुरुकुल र मदरसामा अध्ययन गर्ने बालबालिकालाई ६७८ टोल पढाई समुहमा राखेर उनीहरुको पढाई सीप बढाउनको लागि पठन कक्षा सञ्चालन गर्दै आएको छ । सह–जिल्ला शिक्षा अधिकारी थापाले नेपालगन्ज नगर क्षेत्र र भारतसंग सिमाना जोडिएको स्थानका विद्यालयका बालबालिकाको पठन सीप अत्यन्तै कमजोर रहेको पाईएको बताए । उनले भने–‘ नगर क्षेत्र र सीमावर्ती क्षेत्रका विद्यालयका बालबालिकाहरुमा उनीहरुको पठनसीप अत्यन्तै कमजोर भएको पाईएको छ । हामी कारण पत्ता लगाउदै छौं ।’ नगर र सीमा क्षेत्रमा सिकाई उपलब्धी ५० प्रतिशत पनि नहुँदा ग्रामिण क्षेत्रमा भने ८० प्रतिशत भन्दा माथि रहेको छ ।
उनले ग्रामिण भेगका बालबालिकाको सिकाई उपलब्धि नगर र सीमा क्षेत्रका बालबालिकाको भन्दा बढी भएको बताए । उनले भने ग्रामिण क्षेत्रमा विद्यार्थी नियमित हुने तर, सीमा क्षेत्र र नगर भित्रका बालबालिकाको उपस्थिति विद्यालयमा नियमित नहुने कारणले पनि उनीहरुको पढाईको अवस्था खस्कीएको हुन सक्ने शंका गरिएको छ ।’
प्रारम्भिक कक्षा पढाई सीप कार्यक्रम मार्फत बाँकेका प्रत्येक सामुदायिक विद्यालयका क्षेत्राधिकार भित्र दुई वटा टोल पढाई समुह गठन गरि विद्यालय समय बाहेक अन्य विदाको समयमा त्यस्ता टोल पढाई समुहमा राखेर पढाउने गरिदै आएको उनले जानकारी दिदै यस्तो समुहमा आमा समुह, युवा समुह, किसान समुहलगायतको सहभागितामा टोल पढाई समुह निर्माण गरि उनीहरुबाटै सञ्चालनमा आउने भएकोले यो प्रभावकारी भएको दावी गरे ।
उनले बाँकेका ७ हजार २ अभिभावकले ६७८ टोल पढाई समुहमा आबद्ध भएर सेवा दिनुको साथै अभिभावक दौतरी शिक्षा मार्फत ९ हजार ९ सय २१ जना आबद्ध भई एक साथी दौतरी शिक्षकले ४ जनालाई पढाउनु पर्ने भएको कारण छोटो समयमा नतिजा राम्रो निकाल्न सकेको उनको दावी छ ।
जिल्ला शिक्षा कार्यालय बाँके मार्फत यस्तो कक्षा सञ्चालन र शैक्षिक सामाग्री निर्माणको लागि तालिम दिने गरेको छ । बाँकेमा यो शैक्षिक सत्रमा सबै टोल पढाई समुह सञ्चालक समितिले विभिन्न भाषभाषीको १२ हजार १ सय ५६ वटा शैक्षिक सामाग्री निर्माण गरेको तथ्यङ्क रहेको उनले बताए ।

Next Post

एनसार्कको ३५ औ स्थापना दिवस मनाईयो

१६ पुष २०७४, आईतवार १८:२७
सदरलाइनडटकम   १६ पुस, नेपालगन्ज : एचआईभि एड्स विरुद्ध सचेतिकरण र रोकथामका लागि स्थापित संस्था एनसार्कको ३५ औ स्थापना दिवस मनाईएको छ । एनसार्क एचआईभि एड्स विरुद्ध सचेतिकरण र रोकथामका लागि काम गर्ने नेपाल कै पहिलो संस्था हो । आईतबार नेपालगन्जमा आफ्नो ३५ औं जन्मदिन मनाउदै मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा […]