प्रतिनिधि सभामा ५ सिट र प्रदेश सभाको १२ सिटको नतिजा आउन बाँकी

२६ मंसिर २०७४, मंगलवार ११:३२
 

सदरलाइन डेस्क 
२६ मंसिर, नेपालगन्ज : गत मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आउन अव केही सिटमात्र बाँकी रहेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधि सभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभामा ५ सिटमात्रको घोषणा हुन बाँकी रहेको छ ।
प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।
स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं. २, सर्लाही–४ र सुनसरी–३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी–३ मा मतगणना रोकिएकोमा केहीबेर अघिमात्र सुरु भएको जनाएको छ । निर्वाचन आयोगका अनुसार, अन्यमा अहिले मतगणना भइरहेको छ । यी क्षेत्रका नतिजा आउने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको र अव १२ सिटको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Next Post

नेपालगन्जमा हुने आठौं शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा

२६ मंसिर २०७४, मंगलवार ११:३२
सदरलाइनडटकम   २६ मंसिर, नेपालगन्ज : ‘सामाजिक रुपान्त्रणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ नेपालगन्जमा बिहीबारदेखि सुरु हुन लागेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २८ देखि पुस ५ गतेसम्म नेपालगन्जको कारकाँदोस्थित सडक विभागको परिसरमा सञ्चालन हुने सो महोत्सवको महामहिम उप–राष्ट्रपति […]