कोहलपुर कार्यालयमा अख्तियार दुरुपयोगका उजुरीको ओईरो

२३ मंसिर २०७४, शनिबार १८:००
 

सदरलाइनडटकम 
२३ मंसिर, नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्ंधान आयोग कोहलपुर कार्यालयमा विभिन्न विषयमा भएका अनियमितताको छानविनको लागि विभिन्न जिल्लाबाट उजुरीको ओईरो आउने गरेको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्ंधान आयोग कोहलपुर कार्यालयले नेपालगन्जमा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रियाको अवसरमा सो कुरा बताईएको हो ।
कार्यालय प्रंमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले चालु आर्थिक वर्षको मंसिर २० गतेसम्म कार्यालयमा ३ सय ५६ उजुरी परेको बताए । उनले गतवर्ष ५ सय ९१ वटा उजुरी परेको जानकारी दिए ।
सो कार्यक्रममा उनले भने–‘ गत वर्ष करिव ६ सयको हाराहरीमा विभिन्न क्षेत्रबाट सेवाग्राहीको उजुरी आएको र यो वर्षमा पनि साढे ३ सय बढी उजुरी परेका छन् ।’ उनले सबैभन्दा बढी उजुरी शिक्षा, बन, संघिय मामिला तथा स्थानीय विकास अन्तरगतको स्थानीय तह, भूमि सुधार, नापी, मालपोत लगायतका सेवा प्रवाह हुने कार्यालय संबन्धित रहेको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्ंधान आयोग कोहलपुर कार्यालय कोहलपुरले ५ जिल्लामा आफ्नो कार्यक्षेत्र रहेको जानकारी दिदै सो कार्यालयबाट हालसम्म २८ वटा स्ट्रीङ्ग अपरेशन गरी ३६ जना उपर कारवाही गर्दा २२ लाख ६८ हजार बरामद गरिएको बताए । उनले भने–‘ कार्यालयले गरेको स्ट्रीङ्ग अपरेशनमा सबै भन्दा बढी बाँकेको १९ वाटा, बर्दियाको ७ र दाङ्गको २ वटा रहेका छन् । यी मध्ये बाँकेमा गरिएको अपरेशनमा ६ वटा त भूमि सम्बन्धी मात्र रहेका छन् ।’ कार्यालयले बाँके, बर्दिया, दाँङ्ग, रोल्पा र प्युठानलाई कार्य क्षेत्र बनाएको छ ।
उनले भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर पार्ने र अपराधलाई क्रमश आधुनिकिकरण गर्दै लैजाने भएकोले भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति सबै जनसेवा प्रवाह गर्ने कार्यालयले अवलम्बन गर्दै व्यापक जनचेतना फैलाउन तिर लाग्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तबले भ्रष्टाचार रोक्नको लागि सबै आ–आफ्नो स्थानबाट ईमान्दारी पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेमात्र पनि भ्रष्टाचार आफै निर्मूल हुने बताए । उनले कार्यालयमा हुने ढिलासुस्ती र अनावश्यक कार्यको जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्ने बाउदै भने–‘ कार्यालय प्रमुखलाई जानकारी नभई कुनै पनि कर्मचारीले एकलौटी रुपमा सेवाग्राहीलाई सताउने र अनुचित लाभ लिनै सक्दैन अख्तियारको अपरेशनमा यदी कुनै कर्मचारी पर्छ भने त्यसको जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्छ ।’
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, अधिवक्ता विश्वजित तिवारी, सुदिप भट्टराई, केशवराम बर्मालगायतका व्यक्तिहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए ।


 

Next Post

१४ किलो चरेशसहित ४ पक्राऊ

२३ मंसिर २०७४, शनिबार १८:००
सदरलाइनडटकम  २३ मंसिर, नेपालगन्ज : प्रहरीले १४ किलो चरेश सहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार राती करिव ११ बजे विशेष सुचनाको आधारमा संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट १४ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी […]