हज कमिटीका अध्यक्ष सुहेवको चरम बदमासी, फिंगर प्रिन्ट र रकम बुझाएका पनि जान पाएनन्

२४ भाद्र २०७४, शनिबार १५:४७
 

सदरलाइन / रुद्र सुवेदी  
२४ भदौ, नेपालगन्ज : केन्द्रीय हज कमिटीका अध्यक्ष सुहेव अहमद र अन्य पदाधिकारीको मनोमानी र बदमासीका कारण बाँकेका १० जना हजयात्री यो वर्ष साउदीको मक्कामदिनामा जान नपाउने भएका छन् । आवश्यक सबै प्रक्रिया पूरा गरी फिंगर प्रिन्ट र पैसासमेत बुझाइसकेको अवस्थामा उनीहरू मक्कामदिना जान नपाउने भएका हुन् ।
बाँकेबाट हज गर्न जान यो वर्ष १ सय २० जनाले आवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार गत वर्षदेखि हज जान आवेदन दिएर पालो कुरेर बसेका ८१ र यो वर्ष आवेदन दिएका १ सय २० मध्येबाट २७ जनाले हज गर्न जाने अवसर पाएका थिए । उनीहरूमध्ये १० जनाको नाम भने अन्तिम समयमा कटौती गरियो ।
हजका लागि आवेदन दिने बेलामा राहदानी, आवेदन फाराम र १ लाख रुपैयाँ केन्द्रीय हज कमिटीमा जम्मा गर्ने नियम छ । ‘सबै आवश्यक प्रक्रिया पूरा गरेर आफन्त तथा इष्टमित्रसँग शुभकामना र बिदावारी भएर काठमाडौं पुग्दा १० हजयात्रीलाई फर्काइयो, यो सरासर बदमासी हो,’ पूर्वकेन्द्रीय हज कमिटीका अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरीले भने ।

  हज जान नपाउनेले जम्मा गरेको रुपैयाँको न ब्याज नै पाउँछन् न त कुनै छुट नै  ।   जान नपाउनेहरूको पैसा फिर्ता लिन पनि लामो र झन्झटिलो प्रक्रिया छ ।

इस्लाम धर्मावलम्बीहरूको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक पवित्र कार्यमध्येको एक हज यात्रा हो । हज जान नपाउनेले जम्मा गरेको सो रुपैयाँको न ब्याज नै पाउँछन् न त कुनै छुट नै । जान नपाउनेहरूको पैसा फिर्ता लिन पनि लामो र झन्झटिलो प्रक्रिया छ ।
पूर्वअध्यक्ष मञ्जरीले मुलुक संघीय प्रणालीमा गएका कारण हज कमिटी पनि प्रादेशिक र संघीय प्रणालीकै बनाउनुपर्ने र प्रत्येक प्रदेशमा मुस्लिम जनसंख्याका आधारमा हजका लागि कोटा छुट्ट्याउँदै आवेदनका साथमा ५ सयदेखि ५ हजारभन्दा माथि रकम हज कमिटीले लिन नहुने माग गरे ।
बाँकेबाट हजका लागि आवश्यक प्रक्रियामध्येको १ लाख ९० हजार जम्मा गरी फिंगर प्रिन्टसमेत सनाखत गराएकी बाँकेकी पूर्वसभासद् मोहमदी सिद्दिकीसमेत अन्तिम सूचीमा कटौतीमा परेर काठमाडौंबाटै फिर्ता हुनुप¥यो । उनले भनिन्, ‘फाराम भर्दा १ लाख पहिलो किस्ता बुझाएकी थिएँ, पछि हज कमिटीका अध्यक्षले नै फोन गरेर बोलाउनुभयो । दोस्रो किस्ता र फिंगर प्रिन्ट दिएर आएँ, अन्तिममा मेरै नाम काटिएछ ।’
उनले हजको तयारीबारे पटकपटक केन्द्रीय हज कमिटीका अध्यक्ष सुहेव अहमदलाई सम्पर्क गर्दा उनले ‘भइरहेको छ, भइरहेको छ’ भनेर आश्वासन दिएको तर आफूहरूको उडान हुने दिनमा हजयात्रीको उडान सूचीमा आफ्नो र आफूजस्ता धेरै जनाको नाम नै नराखिएको भनेर प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयमा जानकारी गराएको बताइन् ।
हज कमिटीका सदस्य सचिव भीमराज पाण्डेले १ हजार २ सय जनाको कोटामा परेकाले जाने पाउने बताए ।‘यो विषयमा हज कमिटीका अध्यक्षलाई सबै जानकारी छ, कहाँ के भएको हो, त्यसबारे उहाँ मात्रै बताउन सक्नुहुन्छ,’ सदस्य सचिव पाण्डेले भने ।
केन्द्रीय हज कमिटीका अनुसार देशभरबाट १ हजार २ सय हजयात्री र १० जना अफिसियल यो वर्ष हजका लागि गएका छन् । यो तथ्यांकभन्दा अरू १७ नेपाली मुसलमान आ–आफ्नै तरिकाले हज गर्न गएका छन् ।
यो वर्ष हजयात्रामा जाने संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यस वर्ष कपिलवस्तुबाट सबैभन्दा बढी १ सय ७९, सुनसरीबाट १ सय ४५ र रूपन्देहीबाट १ सय ३५ जना हज गर्न गएका छन् । बाँकेबाट १ सय ८, रौतहटबाट ६५, काठमाडौं र सिरहाबाट ६० र ६० जना गएका छन् । सप्तरी र मोरङबाट ५६ र ५६, धनुषाबाट ३६, नवलपरासीबाट ३३ र महोत्तरीबाट ३० जना, बाराबाट २२, सर्लाहीबाट २१, सप्तरीबाट १६, गोरखाबाट १३ र झापा र तनहँुबाट १२ र १२ जना, स्याङ्जाबाट नौ, बर्दिया र दाङबाट आठ र आठ, अर्घाखाँचीबाट सात, पाल्पाबाट पाँच, कास्कीबाट चार, सुर्खेतबाट तीन र पर्वत, चितवन, मकवानपुर तथा कैलालीबाट दुई र दुई जना हजयात्रामा गएका छन् । राजधानी दैनिकबाट


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘घरेलु उद्योगकोे संरक्षण गर्न आवश्यक’

२४ भाद्र २०७४, शनिबार १५:४७
सदरलाइनडटकम    २४ भदौ, नेपालगन्ज : घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य पूर्णबहादुर भण्डारीले उद्यमीले उत्पादन गरेका बस्तुहरु राज्यले विदेश निर्यात गर्नतर्फ भूमिका खेल्नुपर्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले नेपालगन्जमा गरेको राज्य पुनरसंरचना, संक्रमणकाल र नेपाली उद्योगहरुको दिनचर्या विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भण्डारीले […]

सम्बन्धित