बाँकेका निर्वाचन क्षेत्र विकास योजनाको अनुगमन, अधिकांश योजना सम्पन्न

२७ असार २०७४, मंगलवार १९:३६
 

सिराज खान/सदरलाइन
२७ असार, नेपालगन्ज : बाँके जिल्लामा संचालित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका विकासे योजनाहरुको स्थलगत अनुगमन गरिएको छ ।   आर्थिक बर्ष २०७३–०७४ सम्पन्न हुन लागेको बेला जिल्ला समन्वय समिति बाँकेले जिल्लामा संचालनमा रहेको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुको अन्तिम अवस्था बारे जानकारी लिन स्थलगत अनुगमनलाई तिव्रता दिएको छ ।
जिल्लामा रहेका ४ वटै निर्वाचन क्षेत्रका योजनाहरुको अनुगमन गरेर सम्पन्न भएका योजनाको गुणस्तर परिक्षण गर्नुका साथै पुरा नभएका योजनाहरु के कति कारणले पुरा भएनन् सो बारेमा जानकारी लिने काम अनुगमन मार्फत भैरहेको जिल्ला समन्वय समिति बाँकेका संयोजक हरि प्याकुरेलले बताए ।
बाँकेको निर्वाचन क्षेत्र नम्बर ४ मा संचालित ३ करोड रुपैयाँका २४ वटा योजनाहरुको सोमवार अनुगमन गरेर ती योजनाहरुको अवस्था बारे जानकारी लिईएको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ ।
क्षेत्र नम्बर ४ को ४० लाख रुपैयाँको सबैभन्दा ठूलो योजना रनियापुर, बनकटवा र बागेश्वरीको बाटोमा माटो पटान तथा ग्राभेल गर्ने कार्य लगायतका अधिकांश योजना समयमै सम्पन्न भएको क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले बताए ।
यसैगरी २१ लख रुपैयाँको लागतमा बनकटवा गाविसमा विउविजन तथा तरकारी संकलन केन्द्र निर्माणको काम पनि समयमै सम्पन्न भएको उनले बताए छ ।
निर्वाचन क्षेत्र नम्बर ४ मा संचालित अधिकांश योजना समयमै सम्पन्न भएपनि उपभोक्ता समितिको बेवास्ता र लापरवाहीले गर्दा नौबस्ता गाविस वार्ड नम्बर ७ तल्लो गाभरमा १० लाख रुपैयााको लागतमा निर्माण भैरहेको कल्भर्ट निर्माणको काम भने ५० प्रतिशत मात्रै भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष सेते खड्काको बेवास्ताका कारण काम हुन नसकेको गुनासो स्थानीयले गरेपछि छिटो भन्दा छिटो काम सम्पन्न गर्न अनुगमन टोलीले समितिलाई सुझाव दिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ४ को २४ वटा योजनाहरु २ करोड ९२ लाखको लागतमा निर्माण भैरहेकोमा हालसम्म २ करोड ८० लाख जतिको बिल भुक्तानी भैसकेकोले पनि ९७ प्रतिशत भन्दा बढी योजनाहरु सम्पन्न भएको पुष्टि गरेको जिल्ला समन्वय समिति बाँकेका आर्थिक लेखा प्रमुख खिमानन्द अर्यालले बताए ।
स्थानीय तहको निर्वाचनले विकास निर्माणमा केही अवरोध भएपनि योजनाहरु समयमै सम्पन्न भएकोमा उहाँले खुशी ब्यक्त गरे ।
अनुगमन टोलीमा क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनार, जिल्ला समन्वय समिति बाँकेका आर्थिक लेखा प्रमुख खिमानन्द अर्याल, ईन्जिनियर जयबहादुर कार्की र पत्रकारहरुको सहभागिता रहेको थियो ।
यसैगरीे निर्वाचन क्षेत्र नं. १ मा रहेका विभिन्न २१ वटा योजना मध्ये २० वटा योजना सम्पन्न भएको र एउटा मात्र योजना सम्पन्न हुनको लागि अन्तिम चरणमा रहेको जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले बताए ।
सो कार्यक्रम अन्तरगत कोहलपुर नगरपालिकाको पिपरीमा ४० लाख लागतको सडक कालोपत्रे गर्ने योजना वर्षातको कारण अवरुद्ध हुँदै सम्पन्न हुनमा ढिलाई भएको छ भने अन्य सबै योजना समयमै पुरा भएको बाँके निर्वाचन क्षेत्र नं. १ का सांसद देवराज भारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिकलसेलका बारेमा थारु जनप्रतिनिधिलाई अनुशिक्षण

२७ असार २०७४, मंगलवार १९:३६
सदरलाइन / रुद्र सुवेदी २८ असार, नेपालगन्ज : बाँके राप्ती सोनारी गाउपालिका वडा नं ३ र ४ का नव निर्वाचित थारु समुदायका जनप्रतिनिधिहरुले थारु समुदायमा मात्र देखा परेको वशाणुगत रोग ‘सिकलसेल एनिमिया’ को बारेमा समुदायमा सचेतना फैलाउने प्रतिबद्धता जनाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोगमा तथा सदरलाइन पब्लिकेशन प्रालिकोे […]