बाँकेका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले गरे पदभार

२३ असार २०७४, शुक्रबार १८:५२
 

सदरलाइनडटकम  
२३ असार, नेपालगन्ज : बाँकेका आठवटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्दै नियममित काम सुरु गरेका छन् । स्थानीय तह निर्वाचनमा बाँकेको ४ स्थानीय तह र २९ वडा जितेर एमाले बाँकेमा ठूलो पार्टी भएको छ । नेपाली काँग्रेसले ३० वडा सहित २ स्थानीय तहमा जित हासिल गर्दै दोस्रो पार्टी बनेको छ ।
बाँकेमा जिल्ला समन्वय समितिको गठनको लागि पनि पहल भएको छ । एमाले र संघीय समाजबादी फोरम नेपालबीच सोको लागि  एमाले अध्यक्ष अशोक कोईराला र संघीय समाजबादी फोरम बाँकेका अध्यक्ष कमरुद्दिन राईबीच सहमति भई हस्ताक्षर समेत भएको जानकारीमा आएको छ ।
बाँकेका सबै स्थानीय तहको नतिजा सार्वजनिक हुँदा एक स्थानीय तह सहित राप्रपाले ३ वडा, एक स्थानीय तहसहित ८ वडा संघीय समाजबादी फोरम, माओवादी केन्द्रले मात्र १० वडा जितको छ भने फोरम लोकतान्त्रिकले पनि एम वडामा जित हासिल गरेको छ । निर्वाचन सम्पन्न भएको झण्डै ८ दिनपछि बाँकेका आठवटै स्थानीय तहको नतिजा सार्बजनिक हुन सकेको हो । ठूलो मतपत्र, अपुग मतदाता शिक्षा र क्रश मतको कारण मत गणनामा समस्या र ढिलाई भएको प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।
उनले भने–‘क्रश भोट र बदर मतले गर्दा गणनामा समस्या भयो मतपरिणाम निकाल्न पनि ढिलाई भयो ।’ उनले चाँडो नतिजा ल्याउने गरी तयारी गरेको भए पनि सबै नतिजा आउनको लागि एक हप्ता लागेको बताए । बाँकेका ८ स्थानीय तहमध्ये सबैभन्दा चाँडो नतिजा नरैनापुर गाउपालिकाको सार्वजनिक भयो भने कोहलपुर नगरपालिकाको नतिजा सबैभन्दा ढिलो बुधबार दिउसो मात्र सार्वजनिक गर्न सकेको हो । बाँकेमा सबैको चासोको विषय बनेको नेपालगन्ज उप–महानगरको मेयरमा राप्रपाले बाजी मारेको छ भने उपमेयर काँग्रेसको पोल्टोमा परेको छ ।
नेपालगन्जको मेयरमा राप्रपाका डा. धवल शम्शेर राणा विजयी भएका छन् । यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी उमा थापामगर विजयी भएकी छन् । सुरुदेखि नै अग्रता कायम गर्दै बढेका राणाले अन्तिममा आफ्नो पक्षमा जित निकालेका थिए । २३ वडा रहेको नेपालगन्ज उप–महानगरपालिकामा ८ नेपाली काँग्रेस, ६ एमाले, ४ माओवादी केन्द्र ३ राप्रपा र २ संघीय समाजबादी फोरमले जितेको छ ।
राप्ती सोनारी गाउपालिकामा नेपाली काँग्रेसका लाहुराम थारु र धानी कुमारी खत्री क्रमश प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । राप्ती सोनारी गाउपालिकामा काँग्रेसका लाहुराम र धनीकुमारीलाई एमालेका तुलसीराम थारु र चमेली बागवलले पछाउदै आए पनि अन्तिममा बाजी काँग्रेसकै पोल्टोमा परेको छ । नेपाली काँग्रेसले ५ वडा, माओवादी केन्द्र ३ र एमालेले १ वडामा जित निकालेको छ । राप्ती सोनारीमा मओवादी केन्द्रले ३ वडामा प्यानलै जित निकाले पनि पूर्व सभासद पट्टु थारु निक्कै पछि रहे ।
डुडुवामा नेपाली काँग्रेसका नरेन्द्र चौधरी प्रमुखमा सायरा बानो उप प्रमुखमा विजयी बने । नेपाली काँग्रेस बाँकेका पूर्व सचिव समेत रहेका विजयबहादुर यादव संघीय समाजवादी फोरम प्रवेश गरेर काँग्रेसकै उम्मेदवार पप्पुको निकटतम प्रतिद्धन्दी बने छ वडा रहेको यो गाउपालिकामा नेपाली काँग्रेसले २ वडा, संघिय समाजबादी फोरमले २, एमालेले १ र फोरम लोकतान्त्रिकले १ वडा जितेको छ ।
बाँकेकै नरैनापुर गाउपालिकामा संघीय समाजबादी फोरम नेपालका ईस्तियाक अहमद शाह प्रमुखमा विजयी हुँदा उपप्रमुखमा सोही पार्टीकी जयन्ती देवि श्रीबास्तव विजयी भएकी छन । सघीय समाजबादी फोरमले ३ वडा र नेपाली काँग्रेसले ३ वडा विजय भएका छन् ।
बैजनाथ गाउपालिकामा एमालेका मानबहादुर रुचाल ठकुरी प्रमुखमा विजय हुँदा सोही पार्टीका सरदा विक रेग्मी उप प्रमुखमा विजयी भएकी छन । यो गाउपालिकामा सुरुदेखि नै एमालेको अग्रता र नेपाली काँग्रेसले पछाउदै आएको थियो । ८ वडा रहेको यस गाउपालिकामा ६ वडा एमाले र २ वडा नेपाली काँग्रेसले जित निकालेका छन् ।
खजुरा गाउपालिका एमालेले जित हासिल गरेको छ । एमालेका किस्मत कुमार कक्षपतिले प्रमुख र एमालेकै एकमाया विक उप–प्रमुखमा विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवारले सुरुदेखि नै पछाउदै आएका थिए । ८ वडा रहेको यो गाउपालिकामा ५ वडा एमाले २ काँग्रेस र १ वडा मओवादी केन्द्रले जित निकालेको छ ।
जानकी गाउपालिकामा अत्यन्त कडा प्रतिश्पर्दाकाबीचमा एमालेले प्रमुख उपप्रमुख सहित ३ वडा जित्न सफल भएको छ । एमालेका रामनिवास यादवले नेपाली काँग्रेसका छब्बन खाँलाई निक्कै झिनो मत अन्तरले पराजित गरेका छन् । उनी बीचमा ७४ मतको अन्तरले जितहार टुंगिएको हो । त्यसैगरी एमालेकी भुमिसरा धितालले ८३२ को अन्तरले नेपाली काँग्रेसकी रामप्यारी यादवमाथि जित हासिल गरेकी थिईन । यो गाउपालिकामा एमालेले प्रमुख उपप्रमुख सहित ३ वडा, नेपाली काँग्रेसले २ र संघीय समाजबादी फोरमले १ वडामा जित निकालेको छ । जानकी गाउपालिकामा एमाले, काँग्रेस, माओवादी केन्द्र, राप्रपा र संघीय समाजबादी फोरमका बीचमा तीब्र प्रतिश्पर्दा देखिएको थियो ।
बाँकेको कोहलपुर नगरपालिकामा पनि नेपाली काँग्रेस र एमालेबीच कडा टक्करका बीचमा ८३ मतको अन्तरले एमालेले मेयरमा जित हासिल गरेको छ । एमालेका लुटबहादुर रावतले ९००७ मतका साथ निरन्तर जित हासिल गर्दै हेट्रिक गरे । उनले २०४८ सालदेखि कोहलपुरमा निरन्तर जित्दै आएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका भानुभक्त भट्टराईले ८९२४ मत प्राप्त गरे ।
त्यसैगरी उप–मेयरमा नेपाली काँग्रेसकी सञ्जु कुमारी चौधरीले १००५६ मत ल्याई विजयी भईन । उनको निकटतम प्रतिद्धन्दी एमालेकी कृणा चौधरीले ९३७९ मत पाएकी थिइन । १५ वडा रहेको यो नगरपालिकामा एमाले मेयर सहित ७, नेपाली काँग्रेस उपमेयर सहित ७ र माओवादी केन्द्रले १ वडामा जित निकालेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगर सफा राख्न बिरगन्जका सांसदको सहयोग

२३ असार २०७४, शुक्रबार १८:५२
सदरलाइनडटकम २३ असार, नेपालगन्ज : सांसद विकास कोषबाट नेपालगन्ज उप–महानगरपालिकाका लागि नयाँ दुई ट्रयाक्टर प्राप्त भएका छन् । राप्रपा सांसद विकास कोषको रकमबाट २ वटा ट्रलीसहितका ट्रयाक्टर राप्रपा बाँकेले नेपालगन्ज उप–महानगरपालिकालाई उपलब्ध गराएको हो । राप्रपा पर्साका समानुपातिक सांसद राजकुमार अग्रवालको निर्वाचन विकास कोषबाट राप्रपा बाँकेलाई प्राप्त रकमको सदुपयोग गर्दै […]