नेपालगन्जमा ईदको रौनक सुरु, सामुहिक नमाज पढेर ईद मनाईदै

१२ असार २०७४, सोमबार १३:२६
 

सदरलाइनडटकम
१२ असार, नेपालगन्ज : नेपाली ईस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व ‘ईद–उल–फित्र’ ईद नेपालगन्जको ईदगाहस्थित मस्जिदमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु गरेका छन् ।
पवित्र महिना रमदानको एक महिनाको लामो कठोर ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाह मस्जिदमा विहान साढे ८ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज सुरु भएको थियो ।
ईस्लामीक धार्मिक पात्रो हिजिरीका अनुसार आइतबार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर अर्कोदिन ईद मनाईने परम्परा भएको मुस्लिम धर्मगुरु तथा सामाजिक सद्भाव तथा अन्तर धार्मिक क्षेत्रीय समितिका सह संयोजक मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्मसंयम र शुद्धिका लागि नवौं महिनामा एक महिना भरी रोजा बसी दशौं महिनाको पहिलो दिन ईद मनाउने चलन रहेको मौलाना जब्बार बताए ।
उनले रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एकआपसमा शुभकामना साटासाट गर्ने चलन रहेको बताए । रोजा सकिएको खुशियालीमा सामुहिक रुपमा प्रार्थना गरी शुभकामना साटासाट समेत गर्ने चलन छ ।
‘ईद–उल–फित्र’ ईदको अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाई, जर्दा पुलाउ जस्ता विशेष पक्वानहरु पकाई आफु खाने र आफन्तको घरमा पठाउने चलन समेत रहेको कारणले यसलाई मिठी ईद पनि भन्ने गरिन्छ छ ।
उनले रोजा सुर्योदय हुनुभन्दा अघिदेखि सुर्यास्तसम्म
चल्ने र यस महिनामा धनीवर्गले गरीबहरुलाई आर्थिक सहयोग लगायत अन्य दान दिने चलन रहेको बताउदै रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।
यसैगरी ईदुल फित्रमा खाने बिशेष प्रकारको परिकार सेवई खरिद गर्नेहरुको पसलहरुमा निकै भीड लागेको छ । साउदी अरबमा ईद मनाईएको भोलीपल्ट नेपालमा ईद मनाईने प्रचलन रहेको मौजाना जियाउल मुस्तफा नूरानीले जानकारी दिए । मुस्लिम समुदायको वाक्लो बसोवास रहेको नेपालगन्जमा मुस्लिम समुदायमा विशेष चहलपहल सुरु भएको छ ।
दारुल उल्लम फैजुननवी जामा मस्जिद ईदागाह संचालक समितिका अनुसार विहान साढे आठ बजे विपी चौकमा रहेको ईदगाहमा शुभकामना साटासाट तथा नमाज वाचनको कार्यक्रम आयोजना गरेको थियो । नमाजको बेला साउण्डको राम्रो व्यवस्था नगरेको भन्दै ईदगाहमा नमाज पढ्न गह्रो भएको भन्दै नमाजीहरुले ईदगाह सञ्चालक समिति संग आक्रोश पोखेका थिए ।
रमजानको समाप्तिसंगै ईद मनाउन मुस्लिम समुदाय नयां लुगा, मिठाई तथा अरु उपहार लगायतका सामग्री खरिदमा गरेका छन् । नेपालगन्जको सुर्खेतरोडस्थित रहेको ईदगाह मस्जिदमा नमाज पढ्न आएका इस्लाम धर्मावलम्बीहरुलाई ईदको अवशरमा शुभकामना दिनको लागि विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी सो ठाँउमा पुगेका थिए ।     


 

Next Post

ईदको शुभकामना दिने बाहानामा मौन अवधीमा भोट माग्दै उम्मेदवारहरु

१२ असार २०७४, सोमबार १३:२६
सदरलाइनडटकम १२, असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका मुस्लिम समुदायको बाहुल क्षेत्र हो । आगमी असार १४ गते हुने स्थानीय निर्वाचनको नतिजालाई यहाँको मुस्लिम समुदायको जातिय भोटले पनि निकै ठूलो प्रभाव पार्ने भएकोले इदको शुभामना संगै एकै थलोमा मौन अवधी मिचेर मत माग्ने उद्देश्यले सबै उम्मेदवारको घुईचो नेपालगन्जको ईदगाहमा लागेको थियो […]