बाँकेका सबै मतदान केन्द्रको स्थलगत अवलोकन सुरु

२९ जेष्ठ २०७४, सोमबार २०:२६
 

सदरलाइनडटकम
२९ जेठ, नेपालगन्ज : स्थानीय तह निर्बाचनलाई शान्तिपूर्ण तरिकाले सफल बनाउने उद्देश्यले जिल्ला निर्वाचन व्यवस्थापन समिति बाँकेले जिल्लाका सबै मतदान केन्द्रको अवस्थाको बारेमा स्थलगत अवलोकन सुरु गरेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनको तयारी बाँकेमा तीब्र रुपले अघि बढाईएको छ । निर्वाचनमा मतदातालाई निर्धक्क भागलिन सक्ने गरी बाताबरण मिलाउन जिल्ला निर्वाचन व्यवस्थापन समिति बाँकेले जिल्लाका सबै मतदान केन्द्र र स्थलहरुको स्थलगत अवलोकन र अनुगमन सुरु गरेको छ ।
का संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राई, सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारी लगायतको संयुक्तटोलीले बाँकेका बिभिन्न मतदान स्थलको अनुगमन गर्न सुरु गरेको हो ।
निर्वाचनको समयमा मतदान स्थलसम्म जानको लागि बाटोको अवस्था, मतदानस्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझ्नको लागि सो संयुक्त टोलीले अनुगमन सुरु गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन व्यवस्थापन समितिका संयोजक रबिलाल पन्थले जानकारी दिए ।
‘बाँकेका सबै स्थानीय तहका मतदान केन्द्रमा पुगेर त्यहाँको भौगोलिक अवस्था, मतदाता मतदान केन्द्रसम्म पुग्ने बाटोको अवस्था र सुरक्षाको प्रबन्ध मिलाउनको लागि संयुक्त अनुगमन गरिएको हो’–उनले भने । उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भय रहित तरिकाले सम्पन्न गर्नको लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थको सहभागितामा दशगजामा संयुक्त गस्ती गरिएको सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रजिअ पन्थ जमुनाह दशगजामा र राप्ती पारीको मटेहियाको दशगजा डसंगा चढेर राप्ती नदी तर्दै संयुक्त सीमा गस्तीमा सहभागि भएका थिए ।
उनले खुला सीमानका कारण हुनसक्ने अपराधिक गतिबिधिलाई निस्तेज गर्नको लागि निर्वाचनको अवधीसम्म नेपाल–भारत दशगजामा संयुक्त गस्ती गरिदै आएको जानकारी दिए । बाँकेको झण्डै ६५ किलोमिटर भारतसंग खुला सीमा जोडिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती नियमित हुने गरेको बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनले बाँकेको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउदै हरेक निर्वाचन केन्द्रमा आवश्यक परेको १० मिनेट भित्रै प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाईएको बताए ।
बाँकेमा एक उपमहानगर, एक नगरपालिका र ६ गाउपालिकामा १ सय ३६ मतदान स्थलमा दुई सय ९५ मतदान केन्द्र रहेका छन् । प्रहरीका अनुसार यी मध्ये १ सय १ केन्द्र अति संवेदनशिल, ३५ संवेदनशिल र १ सय ५९ सामान्य रहेका
छन् । भौगोलिक अवस्था र खुल्ला सीमाना लगायतका कारण सुरक्षा संवेदनशिलता भए पनि बाँकेको सुरक्षा प्रहरीको ‘अण्डर’मा रहेको प्रहरी उपरीक्षक राईको दाबी छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१६ किलो अफिम सहित नेपालगन्जको बसपार्क नजिकैबाट घर्ति पक्राउ

२९ जेष्ठ २०७४, सोमबार २०:२६
सदरलाइनडटकम   ३० जेठ, नेपालगन्ज : प्रहरीले नेपालगन्ज बसपार्क नजिकैबाट १६ किलो अफिम सहित एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । बिभिन्न २४ पोकामा प्याक गरेको अवस्थामा अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरिक्षक हरिहर खड्काको कमाण्डमा गएको विशेष टोलीले सो नियन्त्रणमा लिएको हो । अञ्चल प्रहरी कार्यालय भेरीले पत्रकार […]

सम्बन्धित