सदरलाइनडटकम
१७ बैशाख, नेपालगन्ज : संघिय संरचनासंगै बाँकेमा शिक्षाको अवस्था बारेमा सरोकारवाला निकायले चिन्ता व्यक्त गरेको छ । शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०७४ मनाउने क्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहयोग तथा शिक्षाको लागि नागरिक सञ्जाल बाँकेको आयोजना र जयपृथ्वि सामुदायिक सिकाई केन्द्र नेपालगन्ज–१८को व्यवस्थापनमा सम्पन्न कार्यक्रमका सहभागिले सो चिन्ता व्यक्त गरेका हुन ।
कार्यक्रममा बोल्दै पूर्व संसद खड्कबहादुर बुढाले भने–‘यतिबेला सबै राजनीतिक पार्टीहरु स्थानीय निर्वाचनमा आ–आफ्नो पार्टीबाट क–कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल मै व्यस्तरहेको भएपनि पार्टीको तर्फबाट स्थानीय तहमा पठाउने जनप्रतिनिधिले कस्तो शिक्षा नीति बनाउने भनेर छलफल गरेर स्थानीय स्तरमै पार्टीको प्रतिबद्धता आउन आवश्यक रहेको छ ।’
उनले सबै पर्टी भित्र यो या त्यो ब्यक्तिलाई उम्मेदवार बनाउने भन्दै दिनकै समाचार आउने गरेको बताउदै भने–‘पार्टीले केन्द्रीय तहमा घोषणापत्रमा भने पनि नत ती पार्टीले अघि सारेका उम्मेदवारले नै आफु निर्वाचित भएमा यस्तो शिक्षा नीति लागू गर्ने छु भन्ने कुरा सुन्न पाईन्छ नत पार्टीले नै ।’
उनले समय सान्दर्भिक छलफलको विषय भएकोले पार्टीले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाएका उम्मेदवारलाई यो विषयमा उनीहरुको धारणा व्यक्त गर्न लगाउनु पर्ने सुझाव दिए ।
शिक्षाविद तथा महेन्द्र बुहमुखि क्याम्पस नेपालगन्जका प्राध्यापक विष्णु केसीले संघिय संरचनामा बाँकेको शिक्षाको अवस्थाको बिषयमा आफ्ना कुरा राख्दै भने–‘राजनीतिक परिवर्तनसंगै शिक्षामा हुने गरेको परिवर्तनले शिक्षाको गुणस्तयिता र ब्याबहारिक शिक्षाको विषयमा चर्चा चलेकै बेलामा अबका दिनमा स्थानीय तहले शिक्षा नीति कस्तो हुने भनेर पनि छलफलमा ल्याउन आवश्यक छ ।’
स्थानीय तहले शिक्षण संस्था सञ्चालन गर्ने, अनुमति दिने र शिक्षण नीति बनाउने भन्ने विषय अत्यन्तै जटिल भएको भन्दै सम्बन्धित निकायले सरोकारवालालाई समयमै झकझकाउनु पर्ने अवस्था आएको उनको भनाई रहेको थियो । उनले समयको माग अनुसारको र शैक्षिक बेरोजगार निर्मूल पार्ने शिक्षा प्रणालीमा जोड दिदै अघि बढ्न आवश्यक रहेको बताए ।
सो अवसरमा महेन्द्र बहुमुखि क्याम्पसकै अर्का सह–प्रध्यापक डम्बर पुनले कक्षामा शिक्षकले भाषण गर्दै पढाउने शैलिको अन्त्य गर्दै स्थानीय निकायले पूर्ण बैज्ञानिक र व्यवहारिक शिक्षा प्रणाली लागू गर्न आवश्यक रहेको औल्याए । उनले शिक्षा नीतिमा भएका विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिएमात्र पनि शिक्षा क्षेत्रमा आमुल परिवर्तन आउने कुरामा विश्वास व्यक्त गरे ।
अध्ययन केन्द्रका अध्यक्ष तारा खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक महासंघका केन्द्रीय सदस्य ललिता उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष एकदेव पन्थी, शिक्षक सहकारी संस्थाका अध्यक्ष डम्बर राज सुवेदीलगायतले आ–आफ्नो सुझाव व्यक्त गरेका थिए ।