नेपालगन्ज उप–महानगरपालिकाको मेयरका दाबेदारहरु यस्ता छन्

१८ चैत्र २०७३, शुक्रबार १७:४६
 

सदरलाइनडटकम       

१८ चैत, नेपालगन्ज : जंगबहादुर राणाको सपनाको शहर नेपालगन्ज उप–महानगरपालिकाको मेयरको लागि संविधान सभामा प्रत्यक्ष तथा बन्दसुचीका पराजित उम्मेदवारदेखि सर्वसाधारणले आ–आफ्नो दावी गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बाँकेका राजनीतिक पार्टीहरुले कसलाई उम्मेदवार बनाउने भनेर औपचारिक छलफल र निर्णयहरु नगरे पनि चिया पसलमा होस वा स–सानो भेलामा चर्चा र छलफलको दह्रो विषय वस्तु बनेको छ ‘नेपालगन्जको मेयर को?’ आंकाक्षीहरुले पनि छलफल र भेटघाटलाई तीब्र बनाएका छन् ।
पञ्चायतको समाप्तीपछि भएका दुईवटा स्थानीय निर्वाचनमा काँग्रेस र एमालेले नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्व गरि सकेका छन् । २०४९ सालमा नेपाली काँग्रेसबाट विजयकुमार गुप्ता र २०५४ सालमा एमालेबाट डा.धवलशम्शेर राणाले तत्कालिन नेपालगन्ज नगरपालिकाको नेतृत्व गर्ने मौका पाएका थिए ।


यद्यपी अहिले परिवेश बदलिएको छ । गुप्ताले नेपाली काँग्रेस छाडेर मधेशी मोर्चाको एक घटक तमलोपाको केन्द्रीय सदस्यको रुपमा क्रियाशिल रहेका छन् भने, डा.राणाले एमाले छाडेर राप्रपा हुदै राप्रपा नेपाल र पुनः राप्रपाको महामन्त्री पदमा क्रियाशिल रहेका छन् ।
राप्रपा महामन्त्री डा. राणाले औपचारिक रुपमै आगामी ३१ गते हुने निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिकाको मेयर पदमा आफ्नो उम्मेदवारी रहने उनले घोषणासमेत गरि सकेका छन् । उनको पार्टीबाट अन्य पनि आकांक्षि नरहेका होईनन् । उनकै पार्टीको पूर्व जिल्ला अध्यक्ष समेत रहेका कृष्ण खरेलले समेत मेयरमा जसरी पनि लड्ने तयारी गरेको पार्टीमा व्यापक चर्चा चलेको छ ।
यसअघि नेकपा एमाले पार्टीका तर्फबाट नेपालगन्जको मेयर जितेका डा. राणाले आफु मेयर हुँदा नेपालगन्जको विकास गरेको दावी गर्दै २०६४ सालमा भएको संविधान सभा सदस्यमा राप्रपाबाट प्रत्यासी रहँदा पाँचा मै चित्त बुझाउनु परेको थियो भने २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पनि राप्रपा नेपालबाट प्रत्यासी हुदा समेत हार व्योहर्नु परेको थियो । दोस्रो संविधानसभा निर्वाचनका बेला नेपालगन्ज उप–महानगरपालिकाभित्र अधिकांस क्षेत्र पर्ने क्षेत्र नम्बर ३ बाट सुशील कोइारालासंग थोरै मत अन्तरले राणा पराजित भएका थिए ।


मुख्य राजनीतिक दलहरु नेपाली का“ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबाट धेरै मेयर पदको उम्मेदारहरुको आंकाक्षीहरु देखिएका छन् । मधेसी मोर्चा आबद्ध दलहरुबाट पनि चर्चा सुरु त भएको छ तर निर्वाचनमा भाग लिने नलिने भन्ने बिषयले उनीहरुमा अन्यौल छ । नेपालगन्जमा मुख्य त ठुला राजनीतिक दलहरु, राप्रपा र मधेसी दलहरुबीच नै प्रतिस्पर्धा हुने गरेको छ ।
नेपाली का“ग्रेसबाट मेयर पदका लागि पार्टी सभापति किरण कोईराला, डा. सुरेश कुमार कनौडिया, पूर्व उप–मेयर सुरेन्द्र हमाल, अच्युत प्रसाई, निरन्जन सिहं सिजापति, निजामुद्धिन अन्सारी, रमेश गुप्ता, लक्ष्मीनारायण शाह, प्रशान्त बिष्ट लगायको चर्चा छ ।
चर्चित ओलम्पियन खेलाडी समेत रहेका हमाल २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयरका प्रत्यासी रहेका थिए । उनीले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।



नेपाली काँग्रेस बाँके सभापति कोईराला पूर्व प्रधानमन्त्री सुशील कोईरालाकी भाई बुहारी हुन । भने डा.कनौडिया दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभाषदको उम्मेदवारको सुचिमा थिए । उनी नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक समेत हुन । प्रसाई नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य समेत भइसकेका छन् । सिजापति, अन्सारी, शाह, गुप्ता, बिष्ट बिद्यार्थी तथा युवा राजनीतिबाट उदय भएका नेता हुन । उनीहरुको दाबेदारीलाई पनि मुख्य चासोका रुपमा लिइको छ । नेपालगन्ज नगरसभापति समेत रहेका प्रशान्त बिष्ट उम्मेदवारहरुका बिषयमा चर्चा चल्न थालेको बताउछन् । उनी भन्छन,–‘पार्टीले औपचारिक छलफल गरेको छैन् । साथीभाईहरु माझ चर्चा चलेको छ ।’
नेकपा एमालेबाट मेयर पदका लागि पार्टीका बैकल्पिक केन्द्रीय सदस्य मोहमद हारुन हल्वाई, व्यावसायी बिजय गुप्ता, धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, भारत्तोलनका चर्चित खेलाडि समेत रहेका पूर्व उपमेयर समशुद्धिन सिद्धिकी, शान्ति ढकाल, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पार्टी उपसचिव तथा उपमहानगर ईञ्चार्ज प्रमोद धिताल, विजया धिताल, दत्तप्रसाद आचार्य, हाजि हलिम अन्सारी, अशोक कर्माचार्य निजामुदिन ईद्रसीको नाममा चर्चा चलेको छ ।


नेकपा एमाले बा“केका सचिव रत्न खत्री मेयर पदका आंकाक्षीहरुको चर्चा चले पनि सो बिषयमा पार्टीले कुनै निर्णय नगरेको बताउछन् । उनी भन्छन्,–‘ चैत्र १५ गतेसम्म हामी पार्टी संरचनालाई स्थानीय तह अनुसार बिस्तारमा लागेका थियो अब केही दिन भित्रै यस विषयमा औपचारिकरुपमा छलफलहरु केन्द्रीत हुन्छ ।’ खत्रीले अहिले एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सगठनिक गतिबिधिमा ब्यस्त भइरहेको पनि बताए । यता नेकपा माओवादी केन्द्रका तर्फबाट अतहर हुसेन फारुकी, दामोदर आचार्य, नविन शर्मा, गोपाल पुन, नारदपुरी लगायतको नामको चर्चा छ । माओवादी नेता अतहर हुसेन फारुकीले आफुहरुहरु अहिले आकांक्षी उम्मेदवारहरु क्षमताका बिषयमा पार्टीका कार्यकर्ताहरु माझ छलफल चलाइरहेको बताउ“छन् ।
नेपालगन्जको मेयर पदको प्रमुख दाबेदारका रुपमा रहने मधेस केन्द्रीय दलहरु भित्र पनि मेयर लगायतको पदका लागि चर्चा सुरु हुन थाले पनि पार्टीहरु आन्दोलन मै रहेका कारण मुख खोल्न सकि रहेका छैनन् । आन्दोलनमा रहेको र चुनावमा जानेकी नजाने भन्ने बिषयमा अन्यौल रहेको उनीहरुको भनाई छ ।
संघीय समाजबादी पार्टीका नेता एवं पूर्व मन्त्री मोहमद ईस्तियाक राईले आफुहरु आन्दोलनमा रहेको र माग पुरा नभई निर्वाचन मै सहभागि नहुने भनेकाले उम्मेदरवारको चर्चा चल्ने कुरै नआउने बताउछन् । उनी भन्छन,–‘राज्यले हामीलाई चुनावमा जाने वातावरण बनायो भने हामी अब्बल उम्मेदवार उठाउछौ । तर अहिले अबस्था त्यस्तो छैन् ।’
बिगतका निर्वाचन हेर्दा पनि नेपालगन्ज उप–महानगरपालिका एउटै पार्टीको पकड क्षेत्र मानिएको छैन् । यहा“का मतदाताहरुको मन बद्लिरहने गरेका कारण एउटा निर्वाचनमा एउटा पार्टीले जित्छ भने अर्को निर्वाचन अर्कै पार्टीले जित्छ । पहिलो संविधान सभामा १० हजार भन्दा माथि मत ल्याएर बिजय भएका तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार सर्बदेव ओझाले दोस्रो संविधानसभा निर्वाचनमा ७७ मतमै चित्त बुझाउनु परेको थियो ।
पहिलो संविधानसभामा यीनै ओझाले कांग्रेसका तत्कालिन कार्यवहाक सभापति सुशील कोइरालालाई हराएका थिए । दोस्रोमा उनी बिजयी भए । यहा“ जित्नका लागि मधेसी, मुस्लिम जस्ता जातीय समिकरण मिलाउन सके सोही उम्मेदवार निर्वाचन जित्ने सम्भावना रहदै आएको छ ।

बलियो को ?

लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्था र विभिन्न खाले राजनीतिक उतार चढाउ सँगै भएका परिवर्तनको कारण यो नै बलियो भन्न सक्ने अवस्था छैन् । तर, निर्वाचनमा भाग लिन आतुर रहेका राजनीतिक दलले भने आ–आफ्नो दावी गरेका छन् ।
२०४९ सालको स्थानीय ,निकायमा तत्कालिन नेपाली काँग्रेसबाट नेपालगन्ज नगरपालिकाको मेयरमा निर्वाचित भएका हाल तमलोपा नेता विजयकुमार गुप्ताले पार्टी आन्दोलन मै भएको कारण तत्काल भाग नलिने आन्दोलन चर्काउने भन्ने निर्देशन भए पनि नेपालगन्ज उप–महानगरमा आफुहरु सशक्त पार्टी भएको दावी गरे । उनी पनि २०६४ को संविधान सभामा क्षेत्र नं. ३ बाट उम्मेदवार भएर अत्यन्तै न्यून मत पाएका थिए । २०५४ सालमा एमालेबाट मेयर जितेका डा. राणाले त्यतिबेलाको जितलाई भजाउदै पार्टी त्यागेर २ पटक संविधान सभामा उम्मेदवार बने तर दुबैपटक उनी पराजित भए । उनले जित्ने दावी केहीले गरि रहेको भए पनि उनी आवद्ध पार्टीको संगठन विस्तारको हिसावले खासै बलियो छैन ।
उनीसंगै २०५४ मा निवर्चन लडेर दोस्रो स्थान हासिल गरेका शिव सेना यतिबेला निर्वाचनमा भाग लिने कि नलिने केही बोल्न तयार छैन । २०५४ सालको निर्वाचनमा मेयर र उप मेयरको निकटतम प्रतिद्वन्दी शिव सेना कै उम्मेदवार क्रमश दिवाकर शर्मा र उमाशंकर केशरवाल थिए भने काँग्रेसले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।
एमालेबाट २०५४ मा उप मेयर जितेका सिद्दिकी पनि २०६४ को संविधान सभामा उम्मेदवार भएका थिए साढे ३ हजार मत ल्याएका थिए । एमाले युवा नेता हारुन, तथा मौलाना जब्बार मुस्लिम समुदायमा अत्यन्तै लोकपृय र प्रभावशालि व्यक्ति हुन नेपालगन्ज्मा मुस्लिम र मधेशी समुदायको मत निर्णयक हुने गर्छ ।
नेपालगन्जमा माडवाडि समुदायका पुराना र चर्चित व्यावसायी तथा एमाले नेता विजय पनि समुदायको भोट तान्न सक्ने उम्मेदवार भएपनि व्यापारीहरु माझ आफ्नो पकड बनाएका नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पनि प्रभावशाली छन् ।
नेपाली काँग्रेसबाट डा कनोडिया पनि प्रवाशाली र बलियो उम्मेदवारको रुपमा हुनसक्ने देखिन्छ । माडवाडी समुदायका डा. कनोडिया नेपालगन्जमा लोकपृय छन् । पार्टी अध्यक्ष तथा महिला नेतृ किरण कोईरालाको पनि संभावना उत्तिकै रहेको छ ।
माओवादी केन्द्रले मुस्लिम तथा मधेशी समुदायबाट प्राथामिकता दिने भनेर अतहरलाई अगाडि सारे पनि दामोदर आचार्य आफै चुनाउ लड्ने दाउमा छन् । उनी २०७० को संविधान सभामा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई तेस्रो स्थानमा आएका थिए । त्यसो त संगठनमा युवानेता नविन र गोपाल पुन पनि लोकपृय छन् ।
पैसा र पहँुचको भरमा टिकट लिने कसरतमा रहेका छन् चार ठूलादलका नेताहरु । नेपाली काँग्रेसका सभापति कोईराला, डा. कनोडिया एमालेका विजय गुप्ता, शमशुद्दिन सिद्धिकी, मो.हारुण, माओवादी केन्द्रबाट दामोदर आचार्य, अतहर हुसेन फारुकी राप्रपाबाट डा. धवल शम्शेर राणाले पहँुच र पैसाको भरमा टिकट लिएर मैदानमा जानशक्ने आकांक्षिको रुपमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपन्न दुई बालकलाई बाँके युनेस्कोको शैक्षिक सामाग्री र लुगा सहयोग

१८ चैत्र २०७३, शुक्रबार १७:४६
सदरलाइनडटकम   १८ चैत नेपालगन्ज : आर्थिक रुपले विपन्न भएका कारण ब्याट्री रिक्सा चलाएर परिवारको आयआर्जनमा सहयोग गर्दै आएका दुई जना बालकलाई शैक्षिक सामाग्री र लगाउने लुगा सहयोग प्रदान गरिएको छ । पारिवारिक विपन्नताको कारण उनहरु विद्यालय समयभन्दा पहिले र पछि व्याट्रि रिक्सा चलाउने कार्यमा सक्रिय थिए । कालिकोट घरभई […]