प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण सफल : प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार

१५ चैत्र २०७३, मंगलवार १९:२६
 

सद्भाव अभिवृद्धि गर्ने हदमा चीन भ्रमण सफल : पूर्वराजदुत कार्की 

सदरलाइनडटकम    
१५ चैत, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. अधिकारीले भने,‘प्रधानमन्त्रीजीको चीन भ्रमण पूर्ण रुपमा सफल भएको छ, चीनीयाँ राष्ट्रपतिसँग ४५ मिनेट भेटवार्ता हुनु आँफैंमा ठूलो उपलब्धि हो, यो उच्चस्तरीय भेटवार्ता हो।’ उनले प्रधानमन्त्री चीन उड्नुअघि एजेण्डाविहीन भ्रमणको संज्ञा दिनेलाई राष्ट्रपति सि जिनपीङ्सँगको भेटवार्ता नै जवाफ भएको स्पष्ट पारे।
क्लबका महासचिव शशी कोइरालाको सभापतित्वमा आयोजित साक्षात्कारमा अधिकारीले राष्ट्रपति सिसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले ओबीआरमा नेपालकोपनि चासो रहेको धारणा राखेको जनाए। उनले भने,‘वान बेल्ट वान रोडमा नेपालको चासो रहेको कुरा हाम्रो प्रधानमन्त्रीले स्पष्ट रुपमा राख्नुभयो, त्यस्तै केरुङ–लुम्बिनी रेलमार्गको बारेमापनि कुरा भएको छ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयन गर्ने कुरामा पनि अहिलेको सरकार गम्भिर रहेको र कार्यान्वयनको लागि द्धिपक्षीय होमर्वकहरु भैरहेको जनाए। अधिकारीले प्रधानमन्त्री दाहाल बोआवो फोरममा भाग लिनको लागि गएपनि जानुअघि नै बेईजीङ् भेटवार्ता तय गरिएको बताए। प्रधामन्त्री दाहालले चीनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको समेत उनले जनाए।


चीनले नेपालको चुनावलाई स्वागत तथा समर्थन गरेको उल्लेख गर्दै उनले भने,‘चीनले नेपालको चुनावलाई समर्थन गरेको छ, चुनावकै लागि भनेर उसले आर्थिक सहयोगको समेत घोषणा गरेको छ, नेपाल सरकारले गरेका निर्णयहरुको समर्थन चीनले गरेको छ।’ उनले चीनले नेपालको चुनावलाई सहयोग गर्नु नै प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारलाई चीनको पूर्ण समर्थन रहेको स्पष्ट हुने जिकिर गरे।
अहिलेको सरकारलाई चीनले विश्वास गरिसकेको छैन नि भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘चीनले अहिलेको सरकारलाई अविश्वास गरेको छैन, अघिल्लो सरकारको पालामा नेपाल–चीनबिच भएका द्धिपक्षीय सम्झौताहरु कार्यान्वयन उन्मुख छन्, एजेण्डाका प्रकृति हेरेर द्धिपक्षीय होमवर्कहरु भैरहेका छन्, तयारी भैरहेका छन्।’ उनले क्रस बोर्डर लाईन, ट्रान्सपोर्टेशन तथा ट्रान्जिटलाई अघि बढाउनेबारे काम भैरहेको समेत जनाए।
नेपालको राजनीतिक समस्याको गाँठा नफुकाई प्रधानमन्त्री दाहाल किन चीन जानुभयो त ? भन्ने प्रश्नमा उनले भने,‘सरकारले मुलुकको समस्या समाधानको लागि प्रयास गरिरहेको छ, तर चीन भ्रमणमा उहाँ जान आवश्यक थियो, उहाँको भ्रमण सफल भएको छ।’


चीनका लागि पूर्वराजदुत टंक कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सद्भाव अभिवृद्धि गर्ने हदमा सफल भएको दाबी गरेका छन्। उनले भने,‘प्रधानमन्त्री दाहालको चीन भ्रमण यो दोस्रो पटक हो, दुवै भ्रमण राजकीय होईनन्, उहाँको भ्रमण पुशपतिनाथको जात्रा सिद्राको व्यापार जस्तो हो।’ उनले बोवा फोरममा भाग लिनको लागि प्रधामन्त्री दाहाल चीन गएपनि उनले क्षेत्रिय बहुआयमिक फोरममा सम्बोधन गरेकोले यो पनि नेपालको लागि ठूलो उपलब्धि भएको टिप्पणी गरे।
त्यस्तै उनले बोआवो फोरमको अलावा प्रधानमन्त्री दाहालले चिनियाँ उच्च नेतृत्वकर्ताहरु सँग भेटवार्ता गरेकोल उक्त भ्रमणले द्धिपक्षीय सम्बन्धको सद्भाव बढाएको विश्वास व्यक्त गरे ।
यद्धपी उनले प्रधानमन्त्री दाहालले स्वयम् चीनसँगको सम्बन्ध चिसिएको भनेर आत्मस्विकृत गरेको बताउँदै भने,‘प्रधानमन्त्रीजीले स्वयम चीनसँगको सम्बन्ध चिसिएको भनेर आत्मस्विकृत गर्नुभएको थियो, अहिले चिसिएको सम्बन्धमा न्यानोपना ल्याउने काम भएको छ, चिसिएका आधारहरु कोट्याउने काम भयो।’
चीनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा भएका नेपाल–चीन द्धिपक्षीय सम्झौता कार्यान्वयनको बारेमा बारम्बार चासो देखाएको उल्लेख गर्दै कार्कीले भने,‘चीनले अघिल्लो सरकारका पालामा भएका सम्झौता कार्यान्वयनको बारेमा चासो देखाएको छ, हुन त नयाँ सरकार गठन गर्दै गर्दा गठबन्धनका साझेदार दलका नेताद्धय शेरबहादुर देउवा र प्रचण्डले चीनसँग भएका सम्झौताहरु कार्यान्वयन गर्छौं भनेर सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएकै हो, तर यो वीचमा कता कता सम्झौता कार्यान्वयन गर्ने सवालमा निश्क्रियता देखियो, डि–फ्रिज झैं भए।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने एमाले सांसद फुयालको माग

१५ चैत्र २०७३, मंगलवार १९:२६
सदरलाइनडटकम   १६ चैत्र, काठमाडौं : एमाले सांसद रामेश्वर फूँयालले वौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नुपर्ने माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा काठमाडौ क्षेत्र नं. ३ का जनप्रतिनिधि सहित सांसद फूयालले आयोजना गरेको अन्तक्रियामा बोल्दै उनले यस्तो माग गरेका हुन् । एमालेका नेता समेत रहेका फुयालले […]