सदरलाइनडटकम
५ चैत, नेपालगन्ज : नेकपा एमालेका महासचिव ईस्वर पोख्रेलले संविधान मान्दिन भन्ने तर, संविधान अनुरुपनै संसदमा हराउन र जिताउन जानेहरुले मुलुकलाई अस्तिरता तिर धकलेको बताएका छन् ।
शनिबार बिहान नेपालगन्जमा प्रेस चौतारी नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन । ‘संसदमा हराउन जिताउन जाने तर, संविधान मान्दीन भनेर नौटंकी देखाउने हाम्रो नेपालमा मात्र भएकोले मधेशी मोर्चाका साथीहरुले लोकतन्त्रमा विश्वास छ र जनमतको कदर गर्ने हो भने अवश्य पनि निर्बाचमा भाग लिनुहुनेछ’–उनले भने ।
उनले बर्तमान सरकार आस र त्रासको कारण निर्माण भएकोले आफ्नो विबेकले भन्दा पनि आस र त्रास कै भरमा चल्ने गरेको आरोप लगाए । उनले भने–‘संविधान जारी गर्नको लागि तयार अवस्थामा रहदा समेत विभिन्न प्रपञ्च गर्दै छिमेकीबाट ठूलो दवाव आउदा पनि संविधान जारी भएपछि आस र त्रासको खेल सुरु भएको हो ।’
उनले भारतले संविधान जारी गर्ने कुरामा ठाडो हस्तक्षेप गर्दै संविधान जारी नगर्न निरन्तर दबाब दिदा पनि जारी भएपछि भारतका तर्फबाट आएका दूतले ‘तुम लोगो ने नही माना देखते है कै से लागू करवाते हो’ भनेको खुलासा गरे । संविधान निर्माणको बेलादेखि नै विरोधमा रहेका मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई प्रयोग गर्दै आन्दोलन र चौतर्फि दवाव दिदै ओली नेतृत्वको सरकार ढालेको दावी गरे ।
उनले स्वतन्त्र मुलुकको हैसियतमा रहेको नेपाललाई स्वतन्त्र नै बनाई राख्नको लागि पार्टीको मात्र एजेन्डा नभई सबै आम नेपालीको एजेण्डा भएको स्पष्ट पारे । उनले मोर्चाले अघि सारेको भाषा र नागरिकताको कुराले मधेश तराईलाई नै अहित हुने भएकोले एमालेले त्यसको विपक्षमा आफ्नो तर्क अघि सारेको बताए ।
बर्तमान सरकार आस र त्रासको बीचबाट बनेकोले सरकारले प्रतिनिधि सभालाई जनसंख्याको आधारमा भन्दै कमजोर बनाउने र राष्ट्रिय सभालाई पनि स्थानीय तहका पदाधिकारीले मतदान गर्ने व्यवस्था हटाउदै कमजोर बनाउने खेलमा लागेको भए पनि एमालेले त्यो कदापी हुन नदिने बताए ।