डा. लोहनीद्धारा राप्रपा परित्याग, नयाँ पार्टी खोलेर चुनावमा भाग लिने घोषणा (विज्ञप्तीसहित)

२९ फाल्गुन २०७३, आईतवार १७:३५
 

सदरलाइनडटकम    
२९ फागुन, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आईतबार आजैबाट राप्रपा परित्याग गरेका छन् । डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आजैबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन् ।
लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजको मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको जानकारी पत्रकार सम्मेलनमार्फत जनाएका छन् । आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।
एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।’
जारी विज्ञप्तीमा भनिएको छ,‘पार्टीको एकीकरण अगाढि नयाँ पार्टीको झण्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह हलो हुने समझदारी भएको हो, यो प्रतिवद्धतालाई पनि ठाडै लत्याईएको छ ।’ उनले चुनाव चिन्ह हलो राख्ने भद्र सहमति भएको भएपनि अहिले आएर उक्त सहमतिलाई ठाडै लत्याईएको र उल्लंघन गरेको आरोप लगाए ।
लोहनीले पार्टी अध्यक्ष कमल थापालाई लेखेको पत्रमा ११ बुँदे असन्तुष्टिसहितका आरोपहरु लगाएका छन् । जारी विज्ञप्तीमा भनिएको छ,‘पार्टीले प्रचण्ड सरकारले पेश गरेको संविधान संशोधन विद्येयकमा भारी असन्तोष व्यक्त गर्दै आएको हो, र आवश्यक परे सरकारबाट बाहिरिने स्पष्ट गरेको थियो । राप्रपाका मन्त्रीहरुले समेत यही दृष्टिकोण जनता समक्ष पेश गरेका हुन् । अचानक यी सबै बुँदाहरुमा पार्टीभित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो, यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेशको समस्यालाई आफू पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेका छन् । ’
त्यस्तै उनले नेपालको राष्ट्रियताको जगेर्ना गर्न देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वाभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेशीहरुको ठूलो योगदान रहेको उल्ल्ेख गर्दै भने,‘तर मधेशी दलहरुले आफ्नो माँगको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाइ नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ ।’
लोहनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘एकता अधिवेशनपछिको थोरै समयमा पनि देशमा महत्वपूर्ण मुद्दाहरु देखिएका छन्, एनसेल कम्पनीको कारोबारसँग गाँसिएको ३५ अर्ब राजस्व उठेको छैन, उक्त रकम ३५ अर्बले दुई सय मेगावाटको विद्युत उत्पादन हुन्छ र प्रचण्ड सरकारे यो गुमान तयार देखिन्छ, यसबारे हालै क्याविनेटमा अर्थमन्त्रीको मौखिक प्रस्तावबारे हाम्रो पार्टीको भनाई के रह्यो ?’’
तपाई अब नयाँ पार्टी खोल्नुहुन्छ वा के गर्नुहुन्छ भन्ने पत्रकारको एक प्रश्नमा उनले भने,‘म दालभात खाएर चुप लागेर बस्दिन्, म सक्रिय हुन्छ, के गर्ने भन्नेबारेमा साथीहरुसँग छलफल गर्दैछु, मेरो ७५ जिल्लामा साथीभाईहरु हुनुहुन्छ, छलफल गरेर सबै कुरा सार्वजनिक गर्छु, यसको लागि धैर्य गर्नुपर्छ।’ उनले राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झण्डको रुपमामात्रै प्रयोग हुन थालेको आरोप लगाए ।
उनले आफूले पार्टी परित्याग गर्नुभन्दा पहिले नै शीर्ष नेताहरु लोकेन्द बहादुर चन्द र पशुपति शमशेर राणालाई जानकारी गराएको बताउँदै भने,‘मैले आजमात्रै उहाँहरुलाई फोन गरेर दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गर्दैछु भनेर जानकारी दिएको हुँ, उहाँहरुले शुभकामना दिएर अघि बढनुहोस् भन्नुभएको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिखर प्लाईको कारखाना ‘मोर्डन डोर्स एण्ड उड’मा भिषण आगलागी नियन्त्रण प्रयास जारी

२९ फाल्गुन २०७३, आईतवार १७:३५
सदरलाइनडटकम         २९ फागुन नेपालगन्ज  : नेपालगन्जको औद्योगिक क्षेत्र परिसरमा रहेको मोर्डन डोर्स एण्ड उड प्रोडक्टसको कारखानामा आईतबार साँझ भिषण आगलागी भएको छ ।  आईतबार साँझ करिव ५ः ५० बजेतिर लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहयोगले नियन्त्रणमा लिने प्रयास जारी छ । चर्चित शिखर […]