सदरलाइनडटकम
५ माघ, नेपालगन्ज : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयनको लागि तीनवटै तहको चुनाव गर्नु नै अहिलेको प्रमुख दायित्व भएको बताएका छन् ।
पे्रस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संविधान कार्यान्वयनका लागि ०७४ माघ भित्र स्थानीय तह लगायतको चुनाव गरिसक्नु पर्ने प्रमुख आवश्यक्ता रहेको दावी गरे ।
नयाँ स्थानीयतहको संरचना अनुसार अब एक हप्ताभित्र निर्वाचन घोषणा गर्ने तयारी सरकारले गरिरहेको समेत उनको दावी छ । पुर्व गृह तथा परराष्टमन्त्री श्रेष्ठले संविधान संशोधन प्रक्रिया र निर्वाचन फरक विषय भएको भन्दै निर्वाचनका लागि प्रमुख दलवीच कुनै समस्या नरहेकोले निर्वाचन घोषणा हुने तर्क गरे ।
निर्वाचन विधेयक ल्याएर वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्न सकिने उनको विश्वास थियो । संशोधन प्रक्रियालाई अघि बढाउँदै मधेशी दललाई समेत विश्वासमा लिएर निर्वाचनमा जानुपर्ने उहाँको सुझाव थियो । प्रदेश सिमाकंनमा विवाद भएपनि देशको समग्र समस्या र राजनीतिक निकासका लागि संविधान कार्यान्वयननै प्रमुख काम भएको उहाँले औल्याए ।
उनले संविधान संशोधन अगावै निर्वाचनको मिति घोषणा हुने बताउदै असन्तुष्ट पक्षलाई समेटेर संविधानको कार्यान्वयन गरिने बताएका छन् । उनले देशकै समस्या समाधान गर्न ५ नं. प्रदेश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता भएको बताए । उनले राष्ट्रिय सहमतिको सरकारका लागि विभिन्न दलहरुसँग छलफल भैरहेको बताएका छन् ।