नेपालगन्जका पाँच जनालाई सेलिब्रिटी रेस्पोन्स अवार्ड

३ माघ २०७३, सोमबार १२:११
 

सदरलाइनडटकम   
३ माघ, नेपालगन्ज : युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडलले कुनै बेलाको मध्यपश्चिम खेलकुदको उर्वरभूमी रहेकोमा अहिले पनि प्रतिभाहरुको सम्भावना उत्तिकै रहेको बताएका छन् । सोमबार क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस क्लब नेपालगन्जको आयोजनामा विविध क्षेत्रमा विशेष योगदान दिएका पाँच जनालाई सेलिब्रिटी रेस्पोन्स अवार्ड बितरण गर्दै उनले सो बताएका हुन ।
नेपालगन्जमा आयोजना गरिएको सेलिब्रिटी रेस्पोन्स कार्यक्रमको पहिलो चरणमा नेपाली महिला राष्ट्रिय क्रिकेटकी प्रथम कप्तान नेरी थापा, चर्चित भारोत्तोलक प्रकाश केसी, मिस नेपालगन्ज सुमन थापा, मिस मध्यपश्चिम एलिना मगर तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलाई सो अवार्ड प्रदान गरिएको छ ।
उनले आठौं राष्ट्रिय खेलकुदलाई दुई वर्षभित्र भब्यतापुर्वक सम्पन्न गर्ने दायित्व नेपालगन्ज शहरको काँधमा आइपुगेको उल्लेख गर्दै सहसचिव पौडेलले भने–‘क्षेत्रगतबाट प्रदेश हुँदै हामी राष्ट्रिय खेलकुदको जिम्मेवारी शहरहरुलाई दिने प्रणालीमा जाँदैछौं, नेपालगन्जले त्यस्तो पहिलो अवसर पाउँदैछ, त्यसैले आठौं राष्ट्रिय खेलकुदको आयोजना नेपालगन्ज नगरवासीको दायित्वभित्र परेको छ ।’ कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सके देशका लागि, नभए स्वास्थ्यका लागि भए पनि खेलकुद जरुरी भएको बताए । उनले खेल र खेलाडी प्रतिका नकारात्मक धारणाहरु परिवर्तन गर्न यस्ता कार्यक्रमहरु उपयोगी हुने  धारणा राखे ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले नेपालगन्जका लागि मिसन २०७५ सुरु भइसकेको बताउँदै साझेदारीका लागि उद्योगी व्यवसायी, राजनैतिक दल, पत्रकार र आम नागरिकलाई समन्वय तथा साझेदारीका लागि आह्वान गरे । सेलिब्रिटी रेस्पोन्स अवार्ड ग्रहण गरेकी नेपाली राष्टिय महिला क्रिकेट टिमका प्रथम कप्तान नेरी थापा मगर र मिस नेपालगन्ज सुमन थापाले यस्ता कार्यक्रमले आफुहरुलाई प्रोत्साहन मिलेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
सेलिब्रिटी खबर अनलाइन पत्रिकाको समन्वयमा क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस एण्ड अर्डर सप्लायर्सले सामाजिक जीवनका बिभिन्न क्षेत्रमा अगुवाई गर्ने व्यक्तित्वहरुका लागि पहिलो पटक सेलिब्रिटी रेस्पोन्स कार्यक्रम सुरु गरेको क्लबका अध्यक्ष लबराज श्रेष्ठले बताए । उनले क्रियटिभ ह्याण्ड्स ग्रुपसँग यो साझेदारी निरन्तर चल्ने जानकारी दिए ।
सम्मानित सेलिब्रिटीहरुले नेपालगन्जको सुर्खेतरोडस्थित ओम फिटनेस क्लबमा कम्तीमा एक बर्ष निशुल्क जिम व्यायाम, एरोबिक अभ्यास लगायतका सुविधा प्राप्त गर्नेछन् । क्रियटिभ ह्याण्ड्स ग्रुपका हरेक कार्यक्रममा यी सेलिब्रिटीहरु सद्भावना दुतका रुपमा रहने ग्रुपका अध्यक्ष टीएस ठकुरीले जनाए । ग्रुपमा क्रियटिभ ह्याण्ड्स फर नेसनल प्राइड, क्रियटिभ बुक्स, क्रियटिभ पिस भोलन्टियर क्लब र सेलिब्रिटी खबर अनलाइन पत्रिका सम्बद्ध छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय सेवा दलको एकदिने स्वास्थ्य शिविर सढे आठसय बढीले स्वास्थ्य परिक्षण गराए

३ माघ २०७३, सोमबार १२:११
अमृता केसी/सदरलाइन   ३ माघ, नेपालगन्ज  : राष्ट्रिय सेवा दल वार्षिक क्याम्प कोहलपुरले सोमबार बाँकेको टिटिहिरीया गाविसमा एक दिने निशुल्क चेतनामुलक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज मेडिकल कलेज, नेपाल नेत्रज्योती संघ फुल्टेक्रा नेपालगन्ज, नेपाल औषधिगत विक्रि प्रबन्ध संगठन, अन्तराल लगायतका संघ संस्थाको सहयोगमा सञ्चाललित […]