नेपालगन्ज उप–महानगरपालिकाको २५ औं नगरपरिषद

२८ पुष २०७३, बिहीबार १३:१४
 

सदरलाइनडटकम 
२८ पुस, नेपालगन्ज : पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा बाँके निर्वाचन क्षेत्र नं. २ का संसद दिनेश चन्द्र यादवले स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आए मात्र स्थानीय तहमा विकासले फड्को मार्ने बताएका छन् ।
बिहीबार नेपालगन्ज उप–महानगरपालिकाको २५ औं नगरपरिषदको उद्दघाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘लामो समयदेखि स्थानीय तहमा जनप्रतिनिधि बिहीन अवस्थामा छ । कर्मचारीले जनप्रतिनिधिको समेत भार थेग्दै आएकोले स्थानीय निकायमा चाहेको जस्तो विकास हुन नसकेको गुनासो आईरहेको छ ।’ उनले संविधान कार्यान्वयनको लागि पनि बैशाख अन्त्यसम्मै स्थानीय तहको निर्वाचन हुने तयारी अघि बढेको बताए ।
उनले नेपालगन्ज उप–महानगरपालिकाले पुराना वडा र नयाँ थपिएका वडामा विकासको कुरालाई समान रुपले लैजानु पर्ने धारणा राखे । पछि थपिएका गाविसलाई वडाको रुपमा विकास गर्न र उनीहरु उप–महानगरपालिकाको बासिन्दाको रुपमा महशुस गराउनु पर्ने सुझव दिए ।
यादवले उप–महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम उपयुक्त भए पनि यसको सही र पूर्ण कार्यान्वयनका लागि सवै पक्ष जिम्मेवार हुनु पर्ने बताए । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री यादवले नगरको विकासका लागि वजेट अपुग नभए पनि प्रत्येक व्यक्ति, समुदाय र वर्गले विकासको अनुभुती गर्न सक्ने हुनुपर्ने धारणा राखे ।

सो अवसरमा नेपालगन्ज उप–महानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज ज्ञवालीले एक अर्ब ३१ करोड ३४ लाख ८९ हजार आठ सय ५० को आय प्रस्ताव प्रस्तुत गरेका छन् । २५औं नगरपरिषद्मा आगामी आव ०७४÷ ०७५ का लागि उप–महानगरपालिकाले वार्षिक वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले आन्तरिक तथा बाहय श्रोतबाट कुल एक अर्ब ३१ करोड ३४ लाख ८९ हजार बराबरको आय हुने अनुमान गरेको बताए । गत वर्ष ७५ करोड ९४ लाख आठ हजार प्रस्ताव गरिएको थियो ।
चक्रपथ निर्माण कार्यलाई अगाडी बढाउन आवश्यक समन्वय गर्ने उदघोष गरेको उप–महानगरपालिकाले अत्याधुनिक बसपार्क निर्माण, नगरमा सार्वजनिक शौचालय, पार्क निर्माण तथा घुम्ती शौचालय संचालन गर्ने जनाएको छ ।
बागेश्वरी मन्दिरलाई धार्मिक, सांस्कृतिक पर्यटन गन्तव्य बनाइने, वाटरपार्कको मास्टर प्लान कार्य अगाडी बढाउन पहल गरिने, मनिकापुरस्थित सामुदायिक बन र खाली स्थानमा बोटानिकल गार्डेन सहितको इको टुरिजम पार्कको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने, बसुदेवपुरको उत्तरतर्फको खाली जमिनमा गल्फ कोर्ष वा खेलग्राम निर्माणको लागि सम्भाव्यता अध्ययन गरी प्रारम्भिक कार्य अगाडी बढाइने पनि प्रस्तुत कार्यक्रममा समावेश छ ।
राप्रपा नेपालका महामन्त्री एवं पुर्व मेयर डा धवल शमशेर राणाले स्थानीय निकायप्रति जनताको विश्वास गुम्दै गएको भन्दै तत्काल स्थानीय निकायको निर्वाचन गर्न माग गरे ।



कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, जिल्ला विकास समितिका पुर्व सभापति ओमजंग राणा, उपमहानगरपालिकाका पुर्व मेयरहरु विजय गुप्ता, रमेश अर्याल, कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधव शर्मा, काँगे्रस सभापति किरण कोइराला, एमाले बाँकेका उपाध्यक्ष निरक गुरुग, नेकपा माओवादी केन्द्रका आइपी खरेल, नेकपा माओवादी (क्रान्तिकारी)का उपेन्द्र शाही, राष्ट्रिय जनमोर्चाका कृष्ण राज पाण्डे, संघीय समाजवादी फोरम नेपालका कौशल मिश्र, पत्रकार महासंघ बाँके अध्यक्ष रुद्र सुवेदी, नगरस्तरीय बाल क्लव सञ्जाल अध्यक्ष अन्जना चतुर्वेदी, जिल्ला स्तरिय बाल क्लव सञ्जालका सल्लाहकार एवं पुर्व अध्यक्ष साहिल अन्सारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उप–महानगरपालिकाका प्रशासकीय अधिकृत मोहन हमालले स्वागत गरेको उदघाटन सत्रमा उत्कृष्ट करदाताका रुपमा वेस्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर र कन्हैयालाल वैद्यलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट काम गर्ने उप–महानगरपालिकाका हरिशोभा जैसी र चन्द्रीका धारुखलाई नगदसहित कदरपत्र पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजापुरमा मध्यपश्चिम क्षेत्रीय प्रहरी परिवार महिला संघद्वारा कम्मल बितरण तथा स्वास्थ्य शिविर

२८ पुष २०७३, बिहीबार १३:१४
सदरलाइनडटकम    २८ पुस, नेपालगन्ज :     मध्यपश्चिम क्षेत्रीय प्रहरी परिवार महिला संघद्वारा बाँकेको राप्तीपारी बैजापुरका अति विपन्न समुदायलाई न्यानो कम्मल बितरण गर्नुको साथै एकदिने स्वास्थ्य शिविर आयोजना गरेको छ ।  मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नयाव महानिरिक्षक माधवप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गाविसले सिफारिस गरेका अति विपन्न […]