संविधान कार्यान्वयनको लागि ठूला दल मिल्नुको विकल्प छैन

२८ आश्विन २०७३, शुक्रबार ११:१०
 

सदरलाइनडटकम,  unnamed (3)
२८ असोज,काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले संविधान कार्यान्वयनको लागि प्रमुख दल काँग्रेस, एमाले र माओवादी केन्द्र मिल्नुको विकल्प नभएको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले मुलुकमा शान्ति, स्थायित्व, विकासको लागि तीन ठूला दल मिल्नुको विकल्प नभएको बताएका हुन् । उनले भने,‘हामी मुलुकमा शान्ति, सुव्यवस्था र विकासको लागि मिल्नुपर्छ, यसमै मुलुक र जनताको भलो हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री शाहीले संविधान संशोधनमार्फत सबैको सर्वस्विकार्य बनाउँदै यसको कार्यान्वयन गर्नु आजको आवश्यकत्ता भएको समेत बताएका हुन् । उनले भने,‘सरकारले जबरजस्ती संशोधनको प्रस्ताव ल्याउँदैन, हामी अहिले सबै पक्षसँग सम्वादमा छौं, हिजोमात्रै पनि प्रमुख दलका शीर्ष नेताहरु एक ठाउँमा भेला हुँदा यसबारेमा कुरा भएको छ ।’ मन्त्री शाहीले सरकारले संविधान संशोधनको प्रस्ताव अघि बढाउनको लागि सबै पक्षको सहयोग र समर्थन लिन चाहेकोले प्रस्ताव अघि बढ्नमा केही ढिलाई भएको बताए ।
उनले मुलुकको विकासको लागि पर्यटन क्षेत्रको विकास अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसको लागि अहिले आफूले कामहरु गरिरहेको विश्वास व्यक्त गरे । मन्त्री शाहीले भने,‘मैले अहिले ७ वटै प्रदेशमा पर्यटन विकासको गुरुयोजनाहरु समेत बनाएको छु, पर्यटन क्षेत्रको विकास भनेको हाम्रो देशको विकासको मेरूदण्ड नै हो ।’ उनले चीनसँग सम्झौता भए अनुसार ६ वटामा २ वटा जहाज नेपाल आईसकेको र बाँकी चार वटा जहाजपनि चाँडै ल्याउने जानकारी दिए ।
पर्यटन विकासको लागि अन्र्तराष्ट्रिय विमानस्थलको आवश्यक पर्ने भएकोले नै अहिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य भैरहेको, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि चाँडै बन्ने र नीजगढ विमानस्थल निर्माणको लागि प्रक्रिया सुरु भैसकेको मन्त्री शाहीको भनाई थियो । उनले अघि थपे,‘नीजगढमा जग्गा अधिकरण गर्ने काम भैरहेको छ, १३ सय घरपरिवार हटाउनको लागि केही समस्या भएको छ, यसको पनि हामी चाँडै टुँग्यो लगाउँछौं ।’

कसैले धम्काउँदैमा चुनाव नगर्नु कायरता हो : पण्डित

नेकपा एमालेका पोलिटव्यूरो सदस्य लालबाबु पण्डितले अहिले संविधान संशोधनभन्दापनि कार्यान्वयन गर्नुपर्ने वेला भएको टिप्पणी गरेका छन् । पूर्वमन्त्री समेत रहेका नेता पण्डितले भने,‘मुलुकलाई दुर्घट्नाबाट बचाउने हो भने अहिले संविधान संशोधनभन्दापनि यसको कार्यान्वयनको लागि सबैले जोड दिनुपर्छ ।’ यद्धपी उनले संशोधनको माग गरिरहेका मधेशी मोर्चाभित्रै यसबारेमा एकमत धारणा नरहेको आरोप लगाए ।
पण्डितले मधेशी मोर्चा मात्रै नभएर स्वयम वर्तमान सरकार पनि के के विषयमा संविधान संशोधन गर्ने भन्नेबारेमा स्पष्ट नरहेको जिकिर गरे । उनले थपे,‘कुन–कुन बुँदामा संशोधन गर्ने भन्नेबारेमा सरकार स्वयम अहिले स्पष्ट छैन, असन्तुष्टहरु त झनै अस्पष्ट छन्, उनीहरुको विचमा नै एकमत छैन् ।’ नेता पण्डितले अरुको उक्साहटमा संविधान जलाउन खोज्नेहरुले संविधान संशोधनको माग गरेर संविधान कार्यान्वयन गर्न नदिने षडयन्त्र गरिरहेको समेत आरोप लगाए ।
उनले मधेशी मोर्चाले जे–जे विषयमा संशोधन गरौं भन्छन आफ्नो पार्टीले त्यही–त्यही विषयमा सही छाप नगर्ने समेत चेतावनी दिए । यद्धपी उनले सिमांकनको विषयमा राष्ट्रिय सहमति बन्यो र व्यवस्थापिका संसदमा त्यसबारेमा सहमति भयो भने केही हेरफेर हुन सक्ने कुरा औंल्याए ।
उनले मधेशी मोर्चाप्रति संकेत गर्दै कसैले धम्काउँदैमा चुनाव नगर्नु भनेको त्यो सरकारको कायरता भएको आरोप लगाए । उनले भने,‘कसैले धम्की दिएको भरमा चुनाव नगराउनु अनि खुट्टा कमाउनु भनेको त्यो कायरता मात्रै हो ।’


छठ अघि नै संविधान संशोधन प्रस्ताव आउँछ : शर्मा

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता दिनानाथ शर्माले छठ अघि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी भैरहेको दाबी गरेका छन् । शर्माले भने,‘असन्तुष्ट पक्षहरुको मागलाई सम्बोधन गर्न सरकार निकै गम्भिर छ, यसबारेमा सरकारले स्वयम प्रधानमन्त्रीजीले सबै पक्षसँग वार्ता तथा छलफल गरिरहनुभएको छ, मलाई विश्वास छ, यो चाँडै अघि बढ्छ ।’
नेता शर्माले संविधान कार्यान्वयनको लागि प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । उनले अघि थपे,‘संविधान कार्यान्वयनको लागि निर्धारित समयमै तीन वटै निकायको चुनाव गर्नुपर्छ, त्यसको लागि ठूला पार्टीहरु मिल्नुपर्छ, यो ईतिहासले पनि त्यही भन्छ ।’ उनले नेपालको राजनीतिमा कुराहरु मिलेन मिलेन भन्ने बेलामा समेत धेरै कुराहरु मिलेको उदाहरण पेश गर्दै यस पटकपनि कुरा मिल्नेमा आफू विश्वस्त रहेको बताए । संविधान कार्यान्वयन र मुलुकलाई निकास दिने कुरामा एमालेले पनि सहयोग गर्नेमा आफू पूर्ण विश्वस्त रहेको शर्माको भनाई थियो । शर्माले भने,‘हामी सबै एउटै डुँगामा छौं, त्यसैले एमालेले पनि जिम्मेवार ढंगबाट आफूलाई प्रस्तुत गर्छ, संविधान जारी गर्दाको मुख्य दल हो ।’
शर्माले अहिले सिमांकनको विवादको विषय पेचिलो बनेको उल्लेख गर्दै यसको समाधानको लागि प्रधानमन्त्रीले समेत पछिल्लो समय नयाँ विकल्पहरु अघि सारेको बताए । उनले भने,‘पाल्पा, गुल्मी र अर्घाखाँचीलाई ४ नम्ब प्रदेशमा राख्नेबारेमा समेत बहस भएको छ, तर त्यहाँका जनताले त्यो कुरा मानेका छैनन, सरकारले एक किसिमको प्रयत्नहरु गरिरहेको छ ।’

मोर्चाले सरकारको समर्थन फिर्ता लिँदैन, यो हाम्रै सरकार हो : डा. यादव

त्यस्तै कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले बाहिर हल्ला भएजस्तो मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नहुने दाबी गरेका छन् ।
प्रमुख सचेतक यादवले भने,‘यस्तो बकवास हल्ला फिँजाउने काम कहाँबाट भयो, हामीलाई त आश्चर्य लागेको छ, अहिले यो सरकार गठन भएको १०० दिनपनि पुगेको छैन, यस्तो बेलामा सरकारलाई दिएको समर्थन फिर्ता भन्ने कुरा कहाँबाट आउँछ, यो राजनैतिक रुपमा, नैतिक रुपमा असम्भव कुरा हो ।’
सरकारमा मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने पत्रकारको जिज्ञासामा यादले प्रष्ट्याए,‘यो सरकार हामीले बनाएको सरकार हो नि, हामी पनि सरकारमै छौं नि, हाम्रो अहिले प्राथमिकतामा सरकार होईन, हाम्रा मागहरु, मुद्दाहरु सम्बोधन हुनु मुख्य कुरा हो, यही संकल्प हामीले लिएका छौं ।’
काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन वुँदेमा दुई वटा बुँदा कार्यान्वयनतर्फ उन्मुख रहेको उल्लेख गर्दै यादवले भने,‘सरकारले कामहरु गरिरहेको छ, मुख्य कुरा सिमांकनको समस्या जो छ, त्यो हल गर्नुपर्छ, त्यसको लागि ठूला दलहरु मिल्नुपर्छ, उहाँहरुकोवीचमा सहमति होस् भन्ने हाम्रोपनि चाहना हो ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको लागि गम्भिर भएर वार्ता तथा प्रयासहरु गरिरहेकोमा बताउँदै थपे,‘प्रधानमन्त्रीजी अहिले गम्भिर होमवर्कमा हुनुहुन्छ, उहाँले सबै पक्षसँग एक किसिमको सहमति कायम गर्न खोज्नुभएको छ, यो अत्यन्तै सकारात्मक कुरा हो, उहाँको चाहना पनि काँग्रेस, एमाले र माओवादी मिल्नुपर्छ भन्ने हो, हामी आशावादी छौं ।’
डा. यादवले सरकारसँग संविधान संशोधनमा सहमति कायम गर्नको लागि छठसम्म होमवर्क गर्ने समय रहेको समेत बताए । उनले अघि थपे,‘हामी सबै अहिले चाडपर्वमा छौं, छठसम्म पनि कुनै प्रक्रिया अघि बढेन भने हामी एग्रेसिब्ली प्रस्तुत हुन्छौं, त्यसैले हामी चाहन्छौं छठभन्दा पहिले केही सुरुवात होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैदेशिक रोजगारबाट फर्किनेका पीडा

२८ आश्विन २०७३, शुक्रबार ११:१०
जिता केसी ‘हाम्रो श्रमले कमाएको पैसा र जोडेको सम्पत्तिचाहि“ चल्ने तर हामीलाई भने अनेकन् वचन बाणले हान्ने यो हामीले कहिलेसम्म सहनुपर्ने हो,’ यो वैदेशिक रोजगारबाट फर्केकी महिलाहरूको गुनासो हो । घरको आर्थिक अवस्था सुधार गर्न घरपरिवारको सल्लाहमै विदेश गएका उनीहरूले विदेशमा पाएको सास्तीभन्दा घर फर्केपछि घर समाजले गरेको व्यवहार र वचनले […]