भाषा विवाद समाधान गर्नको लागि असोज २ गतेभित्र आयोग गठन गर्छु : मन्त्री पौडेल

१० भाद्र २०७३, शुक्रबार १३:४९
 

शिक्षासँग जोडिएको स्वास्थ्यसम्बन्धी सबै समस्या समाधान हुन्छ

dr poudel at reporters clubसदरलाइनडटकम
१० भदौ, काठमाडौं : शिक्षामन्त्री धनिराम पौडेलले यही असोज २ गतेभित्र भाषा विवाद समाधान गर्न आयोग गठन गर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले भने,‘भाषा सम्बन्धी देखिएको विवाद समाधान गर्नको लागि मैले कुनै कसर बाँकी राख्दिन्, यसको लागि आगामी असोज २ गतेभित्र भाषा आयोग गठन गर्नुपर्ने संवैधानिक बाध्यात्मक व्यवस्था छ, हामी समयावधिभित्रै आयोग गठन गरेर विवाद समाधान गर्छौं ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले चिकित्सा–शिक्षा क्षेत्रमा देखिएका सबैखाले समस्याहरु समाधान गर्न आफूले आजैबाट विशेष पहलकदमी लिएको स्पष्ट पारे । उनले अघि थपे,‘डा. गोविन्द केसीले उठाएका शिक्षा र स्वास्थ्यसम्बन्धीका मागका बारेमा केदारभक्त माथेमा र डा. भगवान कोइराला नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनको आधारमा उहाँका मागहरु सम्बोधन हुन्छन्, यसको लागि गृहकार्य सुरु भैसकेको छ ।’
उनले शिक्षा ऐन–२०२८ लाई परिमार्जन गर्दै आएको आठौं संस्करणलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘यो ऐन कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो ।’ अस्थायी शिक्षकहरुको व्यवस्थापनको लागि आफू गम्भिर रहेको बताउँदे मन्त्री पौडेलले भने,‘उहाँहरुलाई उचित व्यवस्थापन गर्नको लागि हामी विशेष किसिमको ऐन ल्याउँछौं ।’
उनले शिक्षासम्बन्धी विद्यमान सबै प्रकारका बेथिति र विसँगतिहरुलाई आफूले जरैदेखि उखल्ने स्पष्ट पारे । उनले भने,‘विद्यालय व्यवस्थापन समिति गठन र प्राधानाध्यापक नियुक्तीजस्तो कार्यमा पनि ठूलो राजनीति हुन्छ, यो शिक्षा क्षेत्रको लागि राम्रो काम होईन, यसको अन्त्य गर्नुपर्छ ।’
उनले नेपालको शिक्षा क्षेत्रमा देखिएको असमानताहरुलाई चिर्दै शिक्षा लिनबाट कुनै पनि बालबालिकाहरु बञ्चित हुन नपर्नेगरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अघि थपे,‘शिक्षा प्रणालीमा अग्रगामी परिवर्तनको खाँचो छ, यसको लागि म आफ्नो तर्फबाट पूर्णरुपमा लागिपर्छु ।’ पौडेलले आफू पार्टीमा पनि शिक्षा विभागको प्रमुख भएको उल्लेख गर्दै काम गर्न केही सजिलो हुने विश्वास व्यक्त गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै भने,‘शिक्षा क्षेत्रमा देखिएका सबै खाले विकृति र विसंगतीलाई अन्त्य गर्न हामी तपाईसँग मिलेर काम गर्न तयार छौं, हामो साथ र सहयोग तपाईलाई छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोडलिङलाई व्यवसायिक बनाउनुपर्नेमा पत्रकार धमलाको जोड

१० भाद्र २०७३, शुक्रबार १३:४९
सदरलाइनडटकम १० भदौ, पोखरा : पत्रकार ऋषि धमलाले मोडलिङ् क्षेत्रलाई प्रर्वद्धन एवम् संरक्षणको लागि आफूले पत्रकारिताको माध्यमबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरामा नेपाल मोडल प्रा.ली.ले आयोजना गरेको ‘मोडल्स ब्याटल’ नामक प्रतियोगिताको उद्धघाटन गर्दै पत्रकार धमलाले भने,‘मोडलिङ् क्षेत्रको दायरालाई फराकिलो बनाउन म आफ्नो तर्फबाट व्यापक सहयोग गर्छु, […]