नेपालगन्जलाई आर्थिक विकासको केन्द्र बनाउने हाम्रो प्रमुख एजेण्डा

७ भाद्र २०७३, मंगलवार १२:५६
 

Kapil Adhikariयहि भदौ ११ गने हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी साझा समुहबाट कपिलप्रसाद अधिकारीले अध्यक्ष पदका लागि निर्वाचन लडदै छन् । नेपालगन्जलाई कर्मथलो बनाएर चुनावी मैदानमा उत्रिएका अधिकारीले स्थानीय व्यापारीहरुको हितमा लड्न नेपाल वन पैदवार उद्योग व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष पदबाट समेत राजीनामा दिएर आफुलाई यसै निर्वाचनमा केन्द्रित बनाएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अधिकारीले ३ कार्यकाल संघको कार्य समितिमा काम गरिसकेका उनी नेपालगन्जप्रतिको माया र मोहका कारण महासंघको केन्द्रीय अध्यक्ष त्यागेको बताउने अधिकारीसंग सदरलाइनडटकमसंग भएका कुराकानीको सारसंक्षेप
तपाईको उम्मेदवारी केका लागि ?
यस क्षेत्रका उद्योगी ब्यापारीको पेशागत हकहित र सरक्षणको लागि कुशल नेतृत्व प्रदान गर्न म र मेरो टिमको उम्मेदवारी हो । पछिल्लो समय वाणिज्य संघप्रति नैराश्यता हँुदै आएको छ । नैराश्यता हटाएर उद्योगी व्यवसायीलाई संघ आकर्षण बढाउन मेरो प्राथमिकता रहने छ । साना ठूला, मझौला लगायत सम्पूर्ण उद्योगी व्यवसायीको छाता संगठनको प्रत्याभुति दिलाउने वातावरण बनाउने छु । संघमा विधि विधानको सर्वोच्चता स्थापित गराउदै संघको विधान समय सापेक्ष, व्यवसायीको भावना र आवश्यकता अनुसार संशोधन गर्ने मेरो समुहले प्रमुख एजेण्डा हो । व्यवसाय मैत्री र लगानी मैत्री वातावरण सृजना गर्न दबाब सृजना गर्ने छु ।
तपाईको जित्ने आधारहरु के–के हुन्?
रोलक्रम कै आधारमा म नै अध्यक्षको प्रमुख दावेदार हँु । अर्को कुरा २०५३ सालमा संघको सदस्य भएको मलाई उद्योगी व्यवसायीले अहिलेसम्म माया ममता र विश्वास गरिरहेका छन् । यो निर्वाचनमा पनि मलाई व्यवसायी साथीहरुबाट विश्वास प्रदान हुनेछ । क्षमता, योग्यता , निरन्तरता, निडरता मेरो जित्ने आधार हुन् । तीन कार्यकाल व्यवसायीका हक हितको पक्षमा लागेको कारणले उद्योगी व्यवसायीले म र मेरो नेतृत्वमा रहेको समुहलाई जिताउनु हुने कुरामा म विश्वस्त छु । म मात्र होइन मेरो परिवार नै व्यवसायको हक हितमा समर्पित छ । मलाई व्यवसायीको हकहितमो लड्न समयको अभाव पनि छैन । मैले व्यवसायी एकतामा जोड दिने छु ।
जितेपछि के गर्ने योजना छ?
सीमा बजार निर्भरता हटाउने अभियान थाल्ने छु । सीमाबजारका नेपालगन्जको व्यवसाय नराम्रोसँग प्रभावित भएको छ । व्यवसायी आक्रान्त छन् । सीमा बजार रुपैडिया प्रतिको निर्भरता न्युनिकरण गर्ने म र मेरो समूहको योजना छ । व्यवसायीमा कर शिक्षा नहुँदा विभिन्न समस्यामा पर्दै आएका छन् । त्यसका कारण उद्योगी व्यवसायीलाई कर शिक्षा प्रदान गर्ने तालिम सञ्चालन गर्ने अभियान नै चलाउने छु । प्रदेश नं. ५ अन्तर्गत नेपालगन्जलाई लगानी र उद्योग स्थापनाको गन्तव्य स्थान बनाउन पहल गर्ने छु । नेपालगन्ज विमान स्थललाई अन्तर्राष्टिय स्तरको विमान स्थल बनाउन सरकारलाई दबाब दिने छु । कृषि जडिबुडि,पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा सम्भावनाको खोजी गरि लगानी बृद्धि गर्ने वातावरण सृजना गर्ने छु । न्युनविजिकरण, मिसम्याच लगायत समस्या समाधान तथा प्रहरी प्रशासनबाट हुने बेलाबेलाका अनावश्यकता हस्तक्षेपका विरुद्ध खबरदारी गर्ने छु । संघमा महिला, युवा, मधेशी, मुस्लिम र जनजातीहरुको उद्यम व्यवसायमा पहुँच स्थापित गर्न उत्प्रेरित गर्ने छु । संघका पूर्व अध्यक्षको सम्मानको साथै उहाँहरु संघका गतिविधिमा सक्रिय गराउन समेत लाग्ने छु । अग्रज भनेका हाम्रा सम्पति हुन् । समग्रमा नेपालगन्जलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न पहल गर्ने हाम्रो समुहको प्रमुख एजेण्डा हो । नेपालगन्ज उद्योग वाणिज्य संघलाई राष्ट्रिय रुपमा अग्रणी संघको रुपमा विकास गर्ने भूमिका निर्वाह गर्ने छु । नेपालगन्जको सडक जिर्ण हुँदा उद्योग व्यवसायमा नै नराम्रो असर परिरहेको छ । जिर्ण तथा भत्केका सडक निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्क्त गदर्छु ।
कारकाँदोमा सभागृह र प्रदर्शनी हल बनाउने कुरा नारामा मात्रै सिमित छ, तपाई अध्यक्ष भए के गर्नुहुन्छ ?
अन्तर्राष्टिय स्तरको सभागृह र प्रदर्शनी स्थल निर्माणको एक्लै सम्भव छैन । यो सभागृह र प्रदर्शनीस्थल मध्य तथा सुदूरपश्चिमको आवश्यकता र प्रतिष्ठाको विषय भएकोले यो कार्य सम्पन्न गर्नै पर्छ । त्यसको लागि सरकार,दातृ निकायमा आवश्यक बजेटको लागि पहल गर्नेछु । सभागृह र प्रदर्शनी स्थल निर्माण गर्ने मैले उच्च प्राथमिकतामा राखेको छु । यो निर्माणका लागि स्थानीय राजनीतिक दलहरुसँग समन्वय, सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
के तपाईहरु टिम नाम जस्तै समावेशी साझा छ त?
अवश्य नै हाम्रो टिम साँच्चिकै साझा र समावेशी छ । हाम्रो टिममा साना, ठूला, मझौला सबै उद्योगी व्यवसायीको प्रतिनिधित्व छ । उपाध्यक्ष सहित ४ जना महिला हुनुहुन्छ । हाम्रो टिम तपाइ नै हेर्नुहोस्न समावेशी र साझा छ कि छैन, महिला, मुस्लिम,मधेशी, जनजाति सबैको प्रतिनिधित्व छ ।
तपाई नेपालगन्जमा कम बस्नु हुन्छ भन्ने आरोप छ नि ?
म अहिलेसम्म वन पैदावर महासंघको केन्द्रीय अध्यक्ष थिएँ । त्यहि जिम्मेवारी पुरा गर्न काठमाण्डौ जाने आउने गर्दथेँ । मैले त्यो पदबाट राजीनामा दिइसकेको छु । अव नेपालगन्जमा नै बसेर यहीँका उद्योगी व्यवसायीको हकहितको संरक्षण गर्ने अठोट गरेको छु । मैले मोफसलबाट गएर नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको ४ तले कार्यालय भवन समेत बनाएको छु । यस्तै यहाँ नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित भएपछि संघको सस्थागत विकास नै समर्पित हुनेछु ।
मतदाता भेटघाटबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
– म र मेरो टिमका सम्पूर्ण उम्मेदवारहरु उत्साहित र आशावादी छौँ । उद्योगी, ब्यवसायी मतदाताहरु सचेत र सजग हुनुहुन्छ । उहाँहरुले उद्योगी, ब्यवसायीहरुको हकहितका लागि काम गर्न सक्ने र यो उद्योग वाणिज्य संघलाई ब्यापक बनाउने क्षमता भएको समुहलाई चुन्दै हुनुहुन्छ । त्यस्तो क्षमता भएको नेतृत्व समावेशी साझा समूहसँग छ भन्ने कुराहरु सम्पूर्ण मतदाताहरुको निष्कर्ष रहेको पाएको छु । उद्योगी, ब्यवसायीहरु मात्र होइन समग्र जिल्लाको बिकासका सवालमा नेपालगन्ज उद्योग वाणिज्य संघले लिने पहलकदमीलाई पनि अर्थपूर्णरुपमा हेरेका छन् मतदाताहरुले । त्यो पहलकदमी लिन सक्ने क्षमता कस्को समुहमा छ ? भन्ने कुराको बिषयमा सम्मानित आदरणीय उद्योगी, ब्यबसायी मतदाताहरु गम्भीर हुनुहुन्छ ।
म उद्योग ब्यवसायका क्षेत्रमा लामो समयदेखि नेपालगन्जमा संघर्ष गर्दै आएको छु । यो संघर्ष र आरोह–अवरोधका क्रममा मैले ब्यक्तिगत र नेपालगन्ज उद्योग वाणिज्य संघको माध्यमबाट उद्योगी, ब्यवसायीहरुको हकहितका लागी काम गरिरहेको अवगत नै छ । संघमा मैले जुन खाले पद प्राप्त गरेको छु त्यसको अहिलेसम्म ईमानदारीपूर्वक काम गरेको छु । त्यसको मूल्यांकन उद्योगी, ब्यवसायी ज्यूहरुले पक्कै मूल्यांकन गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु । कुनै आग्रह पूर्वाग्रह नराखी उद्योगी, ब्यवसायी ज्यूहरुले मलाई मत दिनुहुने छ र त्यसको मैले उच्च सम्मान गर्दै उहांहरुका हरेक सुझावहरुलाई आत्मसाथ गर्दै उद्योगी, ब्यवसायीहरुको हकहितका लागि लाग्ने छु । मतदाताहरु म लगायत हाम्रो समुहको अन्य उम्मेदवारका पक्षमा एकताबद्ध भई समर्थन गर्ने क्रम बढ्दै गएको छ । यो समर्थन भावनामा बगेर होइन कपिलप्रसाद अधिकारीले हाम्रो हितमा केही गर्छ र गर्न सक्ने क्षमताको उम्मेदवार हो भन्ने अन्तरह्ृदयको आवाजका रुपमा मैले लिएको
छु । तर कता कता मेरा बिरुद्ध मैले कहिल्यै कल्पना समेत नगरेका आरोपहरु लगाइयो भन्ने सुन्दा मन दुखेको छ । नभएका आरोपहरु लाग्दा पक्कै मन दुख्नु स्वभाविक हो । नेपालगन्ज उद्योग वाणिज्य संघको उपाध्यक्ष हुँदा मैले र मेरो पदले जति उम्मेदवार दिएको छ त्यसको मैले पुराका पुरा ईमानदारीतापूर्वक पुरा गरेको छु। यसैबीचमा मैले नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघको अध्यक्ष भएँ । नेपालगन्जको एउटा ब्यवसायीले अर्को ब्यवसायीक संगठनको राष्टिय अध्यक्ष हुन पाउनु के यहाँका साथीहरुको गौरबको बिषय होइन र ? निष्पक्ष भएर भन्नु भयो भने पक्कै गौरबको बिषय हो । तर यसलाई कति साथीहरुले कपिल यहां बस्दैन भन्न सम्म भ्याए । यो पुराका पुरा गलत हो । मैले नेपालगन्ज उद्योग वाणिज्य संघका लागिनै वन पैदावार उद्योग ब्यवसायी महासंघको अध्यक्ष पद त्याग गरिसकेको छु । र त्यो हुंदा समेत मैले यहां उद्योगी, ब्यवासायीहरुको हकहितमा काम गरेकै हो र आगामी दिनमा पनि गर्ने अठोटका साथ चुनावी मैदानमा
छु । नेपालगन्ज मेरो घर हो र यहांका हरेक ब्यवसायी साथीहरु मेरा परिवारका सदस्य जस्तै हुनुहुन्छ । मैले मेरो घर र परिवारका सदस्यहरु जस्तै साथीहरुलाई छोड्ने कुरो हिजो पनि थिएन र आज पनि कल्पनाभन्दा बाहिरको हो । सबै साथीहरु यस्तो भ्रममा नपर्न आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७ भाद्र २०७३, मंगलवार १२:५६

सम्बन्धित