बर्दियामा २९ डमरुसहित बाघको सख्या ८५ पुग्यो

१७ श्रावण २०७३, सोमबार १२:५२
 

tiger bardiya copy  दीपक श्रेष्ठ/सदरलाइनडटकम
१७ साउन, बर्दिया : पछिल्लो गणना अनुसार बर्दियामा नयाँ २९ डमरुसहित बाघको सख्या ८५ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । चोरी शिकार, बासस्थानको बिनाश तथा आहारा र पानीको कमीका कारण संसारबाटै बाघको संख्या घट्दै गएको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो सन २०१६ गणनामा ३५ बाट बढेर बाघको सख्या ८५ पुगेको छ । सन् २०१३ मा गरिएको बाघ गणनामा बाघको संख्या १६ भाले र ३४ पोथी गरी ५० वटा बयस्क पाटे बाघ रहेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्जमा २०७२ माघ ६ गतेदेखि सुरु गरेर ७२ दिनसम्म क्यामरा ट्रयापिङ्ग प्रविधिबाट गरिएको बाघ गणनाको संख्या बाघ दिवसको अवसर पारी गत शुक्रवार सार्वजनिक गरिएको छ ।
गणनामा बयस्क बाघ ५०, अर्धबयस्क बाघ ६ र बच्चा (डमरु) २९ वटा गरी ८५ वटा बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए । बाघको संख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १ सय ९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा वन्यजन्तु आरक्षमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए ।
आहाराको खोजीमा बाघ मानववस्तीमा पस्दा समुदाय र बाघबीच द्वन्द्वको स्थिति सिर्जना हुने र बाघ मारिने गरेकोले बाघ संरक्षणका लागि समुदायको सहभागिता अपरिहार्य रहेको समुदायको अथक प्रयासबाट नै बाघको सख्यामा बृद्धि भएको संरक्षण अधिकृत थापाले भने । बाघको संरक्षणका लागि निकुन्ज र वन्यजन्तु आरक्ष वरपर मध्यवर्ती क्षेत्र घोषणा गरेर समुदायलाई संरक्षणमा सक्रिय गराउने नीति अनुसार सरकारले कार्यक्रम सन्चालन गरिरहेको समेत उनले भने । बाघको छाला, हाड, मासु, दाँत र नंग्रा महंगोमा बिक्री हुने भएकाले चोरी शिकारी बढेको छ ।
पछिल्लो सय वर्षको अवधिमा संसारभर बाघको संख्या ९७ प्रतिशतले घटेको छ । सन् १९१३ मा बाघको संख्या १ लाख रहेकोमा सन् २०१३ मा यो संख्या ३ हजार २ सय ७४ मा झरेको तथ्यांक छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको सङ्ख्या दोब्बर बनाउने बाघ पाइने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरुप नेपालले पनि बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो ।
सन् २०२२ सम्म यो संख्या दोब्बर गर्ने लक्ष्य सहित सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । सन् २००८ मा गरिएको गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ रहेकोमा सन् २०११ मा गरिएको गणना अनुसार १५ भाले र २२ पोथी गरी ३७ वटा बयस्क बाघ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषध नियन्त्रणको लागि सीमा क्षेत्रमा नेपाल प्रहरीको ‘डग स्क्वाड’

१७ श्रावण २०७३, सोमबार १२:५२
सदरलाइनडटकम १७ साउन, नेपालगन्ज : बाँकेमा लागू औषधको वसारपसार जस्ता अपराधमा बृद्धि हुन थालेपछि प्रहरीले सीमा क्षेत्रमा लागू औषधको ओसारपसारविरुद्ध विषेश तालिम प्राप्त कुकुर ‘डग स्क्वाड’ परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले सीमा क्षेत्रबाट अत्याधिक मात्रामा अबैध लागू औषध भित्रिन थालेपछि त्यसलाई […]

सम्बन्धित