‘चिकित्सा विश्वविद्यालय स्थापना भए मेडिकल क्षेत्रका सबै समस्या समाधान हुन्छ’

१ श्रावण २०७३, शनिबार १३:१४
 

सदरलाइनडटकम
१ साउन, काठमाडौं  :  विभिन्न चार बुँदे माग राखि अनशनमा बसेका डा. गोविन्द केसीका मागवारे बरिष्ठ चिकित्सकहरुको मत बाझिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरिष्ठ चिकित्सक डा. भोला रिजालले स्वास्थ्यकर्मीहरु यतिवेला कसै न कसैको ईशारा र कुचक्रमा फसेर विभाजित भएको आरोप लगाएका छन् । उनले भने,‘हामी कसको ईशारामा आज चल्दैछौं, मलाई आश्चर्य लागेको छ ।’  bhola rijal (1)
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले डा. गोविन्द केसीले गरेका यसअघिका चारवटा अनशनमा आफूले पूर्ण सहयोग गरेको उल्लेख गर्दै भने,‘मैले डा. केसीलाई चार पटकसम्मको अनशनमा पूर्ण साथ दिएको थिएँ, म आँफैले अनशनस्थलबाट शीर्ष नेताहरुलाई फोनमै कुरा गरेर उहाँका मागहरु पूरा गर्न अनुरोध गरेको थिएँ ।’ उनले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रलाई धराशयी बनाउन कसैले खेल खेलिरहेको समेत आरोप लगाए ।
मेडिकल मुद्दामा डा. केसी अडिग रहेको उल्लेख गर्दै रिजालले भने,‘अख्तियारको मुद्दा उठाउनै नपर्ने मुद्दा हो, तर पनि यसबारेमा मेरो भन्नु केही छैन, म कसैको विरुद्धमा बोल्ने पक्षमा छैन ।’ उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै तह र तप्काका व्यक्तिहरु र सम्बन्धित निकायहरुले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘मेरो गोरुको बाह«ै टक्का कसैले पनि गर्नुहुँदैन, आखिर घाटा हामीलाई नै हुन्छ, यही गति हो भने नेपालको मेडिकल क्षेत्र ध्वस्त हुन्छ,’उनले थपे ।
नेपालमा मेडिकल कलेज बन्द हुँदा मुलुकमा अर्वोंको क्षति हुने समेत उनको गुनासो छ । उनले भने,‘अर्वौं पैसा बाहिर जाँदैछ, गरिव नेपाली विद्यार्थीहरुको ढाड सेकिँदैछ, क्वालिटि शिक्षाको कुरा आउँछ, यसरी हामी सबैले छातीमा राखेर सोचौं कि के गर्दा मुलुक र जनताको हितमा हुन्छ भनेर ।’
मनमोहन अधिकारी नेपाल र नेपाली जनताका लागि सम्मानित व्यक्तित्व भएकाले उनको नाममा मनमोहन मेडिकल चिकित्सा विश्वविद्यालयको स्थापना गर्दा राम्रो हुने उनको तर्क छ । ‘अहिले चिकित्सा क्षेत्रभित्र देखिएको समस्या समाधानको लागि छुट्टै चिकित्सा विश्वविद्यालय खोल्नुपर्छ, यसले नै मनमोहनको समस्या समाधान गर्छ ।’
नेपाल मेडिकल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनी कुमार झाले डा. गोविन्द केसीले आफ्नो जीवनलाई नै दाउमा राखेर नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसँगतीलाई हटाउने काममा ८ औं पटकसम्म अनशन बसेर अडान देखाएको भन्दै त्यसको स्वागत
गरे । उनले भने,‘डा. केसीजस्तो सम्मानित व्यक्तित्वले भित्रैबाट स्वास्थ्य क्षेत्रको सुधारको लागि काम गर्नुभएको छ, यसमा हाम्रो पूर्ण समर्थन छ ।’
अध्यक्ष झाले डा. केसीलाई पागल भनेर संज्ञा दिने व्यक्तिहरुले आफ्नो विद्धता देखाईसकेको भन्दै गुनासो पोखे । यद्धपी झाले डा. केसीले अख्तियार वा अन्य संवैधानिक अंगका व्यक्तिहरुको विरुद्धमा लाग्नुभन्दा पनि आफूहरुको लडाँई नेपाल सरकारसँग भएकाले सोही अनुरुप आफ्नो अडान कायम गर्नुपर्ने बताए । उनले भने,‘हामी अख्तियार वा अन्य कुनै निकाय वा आईजी एआईजीको विरुद्धमा लागेर किन ईनर्जी नष्ट गर्ने, हाम्रो लडाँई त नेपाल सरकारसँग हो नि ।’
स्वास्थ्य सेवालाई विकेन्द्रीकरण गर्नुपर्छ भन्ने अनि काठमाडौं केन्द्रित भएर मेडिकल कलेज खोल्नेहरुको विरुद्धमा आफुहरुले आन्दोलन गरेको उल्लेख गर्दै झाले भने,‘यो सबै शिक्षा मन्त्रालयमा बसेकाहरुले गरेको बेईमानी हो, वैज्ञानिक पूर्वाधारबारे मुल्यांकन नै नगरी यस्तो काम गर्ने हो ?’
यद्धपी उनले सरकारले आशय पत्र दिएर लगानी गरेका नीजी मेडिकल कलेजहरुको लगानी डुब्न नदिन आग्रह गरे । उनले भने,‘सरकारले उहाँहरुको लगानी डुब्न दिनुहुँदैन, यसको ठेक्का मेडिकल एशोसियसनले लिँदैन ।’ डा. केसीले अस्पतालमा अनशन नबसे कहाँ बस्ने भन्दै उनले प्रश्न समेत गरे ।
त्यस्तै नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले अनशनरत डा. केसीका मागहरु जायज भएको स्पष्ट पारे । उनले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि नै डा. केसीले अनशन गरेको दाबी गरे ।
उनले कसैलाई पनि डाक्टरलाई पागल भन्ने अधिकार नभएको बताए । उनले भने,‘कसैले पनि लक्ष्मणरेखा क्रस गर्नुहुँदैन, डाक्टरलाई पागल भन्न मिल्दैन ।’ अहिलेको समस्याको समाधान गर्न सरकारले गम्भिरता देखाउनुपर्नेमा उनको जोड थियो । उनले डा. केसीको माग पूरा गर्न संसदीय आयोग गठन गर्नुपर्ने समेत बताए ।
डा. केसीका मागहरुलाई चिकित्सक संघले स्वामित्व लिएको बताउँदै उनले भने,‘उहाँका मागहरु हामी सबैका माग हुन् ।’ यद्धपी उनले नीजी मेडिकल कलेजको आफूहरु विरोधी नभएको स्पष्ट पारे । मनमोहन अधिकारी सहकारी प्रतिष्ठानलाई मेडिकल कलेजको स्विकृति दिईए आगामी दिनमा सबै सहकारीले मेडिकल कलेज खोल्न सक्ने समस्या उनले औंल्याए ।
८ औं पटकको डा. केसीको अनशनमा चिकित्सक संघ त्यति सक्रिय नभएको भन्ने पत्रकार जिज्ञासामा उनले भने,‘हामी फलाम तातेपछि राम्रैसँग हान्छौं, हामीलाई राम्रो ज्ञान छ, कतिखेर के गर्नुपर्छ भनेर ।’ डा. केसीले ठूलो नैतिक वल प्रदर्शन गरेको भन्दै उनको मागवारे सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । उनले थपे,‘उहाँको स्वास्थ्य अवस्था अत्यन्तै संवेदनशील छ, म आजैपनि उहाँलाई भेटेर आएको छु ।’
उनले पनि मनमोहन अधिकारी नेपाल र नेपाली जनताका लागि सम्मानित व्यक्तित्व भएकाले उनको नाममा मनमोहन मेडिकल चिकित्सा विश्वविद्यालयको स्थापना गर्दा राम्रो हुने सुझाव दिए ।
प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव एवम् बरिष्ठ चिकित्सक डा. रामनाथ अधिकारीले डा. गोविन्द केसीको आमरण अनशन नै अवैध भएको आरोप लगाएका छन् । उनले भने,‘अस्पतालभित्र आमरण अनशन बस्न मिल्दैन, यो सर्वोच्चको आदेश विपरित छ, यसबारेमा सर्वोच्चले निषेधाज्ञा जारी गरेको छ ।’
डा. केसी वहालवाला सरकारी कर्मचारी भएकाले अस्पताल हाताभित्र अनशन गर्नु गैरकानूनी भएको अधिकारीको टिप्पणी छ । यद्धपी उनले डा. केसी सम्मानित व्यक्तित्व भएकाले उल्लेख गर्दै उनले अघि सारेका कतिपय मागहरु स्वागतयोग्य भएको तर्क गरे । उनले थपे,‘डा. केसीले काठमाडौं बाहिर मेडिकल कलेज खोल्नुपर्छ भन्ने माग उठाउनुभएको छ, यो अत्यन्तै स्वागतयोग्य कुरा हो, यो माँग विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम नै छ, यसको हामी विरोधी होईनौं ।’
सरकारले मनशाय पत्र दिएकाले आफूहरुले २ सय करोड ऋण लिएर काम गरेको तर अन्तिममा आएर स्विकृति नदिएर सरकारले आफूहरुमाथि अन्याय गरेको उनले आरोप लगाए । उनले डा. गोविन्द केसीले गरेका यसअघिका ७ पटकको अनशनबाट कुनै पनि माग पूरा नभएको बरु मनमोहनलाई दिईने स्विकृति रोकिएको स्पष्ट पारे । उनले भने,‘अहिलेसम्म उहाँको माँग पूरा भएको भनेकै मनमोहन रोकियो, त्यति हो ।’
उनले आफूहरुले मनमोहनको नाममा पैसा कमाउन लागिएको भनेर लाग्ने आरोपको समेत खण्डन गर्दै भने,‘उहाँजस्तो सम्मानित व्यक्तित्वको नाममा हामीलाई त्यस्तो गर्नुछैन, हामीले मनमोहन प्रतिष्ठानलाई मुनाफारहित बनाएका छौं, यसमा कसैले शंका नलिए
हुन्छ ।’ उनले सहकारी र प्रतिष्ठान दुवै बेग्लावेग्लै ऐनले चलेको भन्दै उक्त आरोपमा कुनै सत्यता नभएको दाबी गरे ।
आफूहरु ठूलो अन्यायमा परेको भन्दै आगामी साउन ७ गतेबाट आमरण अनशनमा बस्ने समेत उनले जानकारी दिए । यद्धपी अधिकारीले आफूहरु अस्पताल हाताभित्र अनशन नबस्ने दाबी गरे ।
कार्यक्रममा नेपाल बार एशोसियसनका उपाध्यक्ष मोतीराम गौतमले डा. केसीले उठाएका मागहरुमा सरकार उदासिन देखिएको भन्दै सरकारले नै दोषी रहेको बताए । गौतमले मेडिकल सेक्टरको सूधारका लागि डा. केसीले उठाएका मागहरु जाजय रहेको समेत दाबी गरे । यद्धपी संवैधानिक निकायका प्रमुखहरुले गलत गरेमा त्यसबारेमा संसदबाट सिफारिश समितिले अध्ययन गर्नुपर्ने उनको भनाई छ ।
आफ्नो अधिकार सुनिश्चित गर्ने नाममा अर्काको अधिकार हनन गर्ने काम कसैले पनि गर्नु नहुने तर्क गर्दै गौतमले भने,‘अनशनको नाममा अत्यावाश्यक सेवाहरु अवरुद्ध हुनुहुँदैन ।’


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिविस बाँकेको विकास मध्येको साढेपाँच प्रतिशत रकम फ्रिज

१ श्रावण २०७३, शनिबार १३:१४
रुद्र सुवेदी/सदरलाइनडटकम ३ साउन, नेपालगन्ज : जिल्ला विकास समिति बाँकेले चालु आर्थिक वर्ष २०७२÷७३ का लागि विभिन्न शिर्षकमा विनियोजन गरेको रकम मध्ये विकास रकमको ५ दशमलभ ५ प्रतिशत रकम फ्रिज भएको छ ।  जिल्ला विकास समिति बाँकेका अनुसार विभिन्न शिर्षकमा ५२ करोड ५५ लाख ८४ हजार ५ सय ३ रुपैयाँ […]