डिभिजन कमाण्डरदेखि मुख्यमन्त्रीसम्म

३ फाल्गुन २०७४, बिहीबार २०:०७
 

३ फागुन, सुर्खेत ।
कालिकोटको निर्वाचन क्षेत्र नम्ब। १ (ख) बाट १२ हजार एक सय ५३ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुर शाही माओवादीले सञ्चालन गरेको जनयुद्धका पूर्वलडाकु हुन्।

पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही तत्कालीन जनसेनाको ६ र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए।

लडाकु भएर लामो समय युद्ध लडेका शाहीले संसदीय राजनीतिमा पनि फड्को मारेका छन्। नेपाल सरकारका पूर्व ऊर्जामन्त्री शाही प्रदेश नम्बर ६ को पहिलो मुख्यमन्त्री बन्न सफल भएका छन्।

विगतका जिम्मेवारी

२०५२ सालको सशस्त्र जनयुद्धको सुरुदेखि नै उनी भूमिगत भएका थिए। २०५२ सालबाटै युद्धमा होमिएका उनले पार्टीको संगठन निर्माण र छापामारको जिम्मेवारी सँगसँगै निर्वाह गरे।

१५ वर्षको उमेरमा २०४८ सालमा नेकपा मसाल एकता केन्द्रबाट राजनीतिक जीवन सुरु गरेका शाहीलाई त्यसको एक वर्षपछि नै प्रहरीले वारेन्ट जारी गरेको थियो। सानैदेखि निडर र विद्रोही स्वभावका उनी २०५३ सालमा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्य भएर लडाकु जीवनमा प्रवेश गरे।

सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गर्न सफल भएका शाहीले नेपाली सेनामा समायोजनका बेलामा सम्मानजनक पद नपाएपछि पार्टीको मूलधारको राजनीतिमा आएको बताइन्छ। पार्टी राजनीतिमा आएपछि पनि उनले छोटो समयमै आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सफल भएका छन्।

२०७० को संविधाननसभा निर्वाचनमा कालिकोट क्षेत्र नम्बर १ निर्वाचित भएर संविधानसभा सदस्य बनेका थिए।

लोकमान विरुद्ध महाअभियोगपछि चर्चा


शाहीकै प्रस्तावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। सोही महाअभियोग प्रस्तावपछि राष्ट्रिय राजनीतिमा शाहीको चर्चा थप चुलिएको हो।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी नै नदिई कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको चर्चा पनि चलेको थियो।

शाही शेरबहादुर देउवा नेतृत्वको सरकारका ऊर्जामन्त्री हुन्।

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा जन्मिएका ४१ वर्षीय शाहीले छोटो समयमै राजनीतिक फड्को मारेका उनका समकक्षीहरु बताउँछन्।

समृद्ध प्रदेशको सपना

प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा नियुक्त भएपछि शाहीले आफ्नो अबको सपना भनेकै यो प्रदेशलाई समृद्ध बनाउनु भएको बताएका छन्। उनले अहिलेसम्म पिछडिएको क्षेत्रका रुपमा रहेको यो प्रदेशलाई विकसित र नमुना बनाउने बताए।

प्रदेश नम्बर ६ मा प्रशस्त प्राकृतिक स्रोत–साधनहरु भएको उल्लेख गर्दै शाहीले त्यसैलाई सदुपयोग गर्दै जनताले चाहे अनुसारको विकास गर्ने प्रतिबद्धता जनाए ।

नेपाललाइभबाट

 

Next Post

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

३ फाल्गुन २०७४, बिहीबार २०:०७
४ फागुन, तेह्रथुम । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक […]